कल, ईमेल, इसेवाको रिमार्कदेखि घरसम्म पिछा गर्दै युवतीलाई तनाव दिने युवक प्रहरीको नियन्त्रणमा
भदौ ९, २०८२ १३:३४
काठमाडौँ । कल, मेसेज, ईमेल, इसेवाको रिमार्क्सदेखि घर-कलेजसम्म पिछा गर्दै युवतीलाई निरन्तर हैरानी दिएको आरोपमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ । शनिबार इन्स्टाग्राममा एक्सपोज भएका सुमित भट्टराईलाई आइतबार साँझ जिल्ला प्रहरी वृत्त, कालिमाटीले नियन्त्रणमा लिएको हो ।
प्रहरी वृत्त कालिमाटीका प्रमुख, डीएसपी मधु थापाले भट्टराईलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको पुष्टि गरे । “उनलाई अनुसन्धानका लागि कार्यालयमा राखेका छौँ । घटनाबारे थप अनुसन्धान भइरहेको छ,” डीएसपी थापाले भने ।
प्रहरीका अनुसार यसअघि पनि दुवै पक्ष प्रहरी वृत्त लैनचौरमा पुगेका थिए । जहाँ सुमितले पीडित युवती स्मृति पौडेललाई दुःख-हैरानी नदिने भनी सम्झौता गरेका थिए । तर, प्रहरीसमक्ष गरेको सम्झौतालाई बेवास्ता गर्दै सुमितले निरन्तर भौतिक तथा डिजिटल रूपमा पिछा गर्ने, नक्कली आईडी बनाउने, ईमेल तथा भुक्तानीका माध्यमबाट अनावश्यक मेसेज पठाएर दुःख दिएको भन्दै पीडित युवतीले शनिबार इन्स्टाग्राममार्फत घटना सार्वजनिक गरेकी थिइन् । जस बारे टेकपानाले समेत समाचार प्रकाशित गरेको थियो । त्यस लगत्तै प्रहरी वृत्त कालिमाटीले दुवै पक्षलाई आइतबार कार्यालयमा बोलाएर आरोपित सुमितलाई नियन्त्रणमा लिएको हो ।
यता पीडित स्मृति पौडेलले सोमबार सुमितविरुद्ध किटानी जाहेरी दिन प्रहरी वृत्त कालिमाटी पुगेकी छन् । “हामी निवेदन (जाहेरी) दिन अहिले यहाँ कार्यालयमै आएका छौँ,” स्मृतिले टेकपानासँगको कुराकानीमा भनिन् । पीडितले सामाजिक सञ्जालमा घटना सार्वजनिक गरेपछि सिर्जना भएको चौतर्फी दबाबका कारण प्रहरीले पुनः कारबाही अगाडि बढाएको हो ।
स्मृतिले साइबर ब्युरोमा समेत भट्टराईविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत उजुरी दिएकी थिइन् । ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार स्मृतिले दिएको निवेदनमाथि हाल अनुसन्धान भइरहेको छ । “पीडितले दर्ता गराएको निवेदनका आधारमा अनुसन्धान अगाडि बढेको छ,” प्रहरी उपरीक्षक अवस्थीले भने ।
यस घटनालाई बाहिर ल्याएपछि सुमितका आफन्तले अपरिचित नम्बरबाट सम्पर्क गरेर पोस्ट हटाउन ‘धम्की’ दिएको स्मृतिको आरोप छ । “सम्बन्धित व्यक्ति र उसको दाइ, दुवै जना आफ्नो गल्ती छ भन्ने थाहै नपाई एकदमै अपमानजनक व्यवहार गरिरहेका छन्,” उनले इन्स्टाग्राम पोस्टमा लेखेकी छिन्, “कुरा एकदम सरल छ; यदि कुनै केटीले सहमति दिँदैन र ‘हुन्न’ भन्छे भने त्यसको अर्थ सधैँ ‘हुन्न’ भन्ने नै हो । म यो कुरा बारम्बार दोहोर्याइ रहनेछु ।
‘हुन्न’ भनेको ‘हुन्न’ नै हो ।”
यस घटनापछि सामाजिक सञ्जाल रेडिटमा एउटा अर्को भिडिओ भाइरल भइरहेको छ, जहाँ सुमित स्मृतिलाई कक्षा कोठामै सबैका अघि धम्काइरहेका देखिन्छन् । स्मृतिले टेकपानालाई उक्त भिडिओमा देखिएका युवक सुमित भएको र आफूले त्यसको प्रतिकार गरिरहेको पुष्टि गरिन् । भिडिओ स्मृतिकै कक्षाका साथीले गोप्य रूपमा खिचेर सामाजिक सञ्जालमा राखेका छन् । त्यसपछि उक्त भिडिओ भाइरल बनिरहेको छ ।
Stalker Guy Threatens
byu/zack7271 inNepalSocial
पछिल्लो अध्यावधिक: भदौ ९, २०८२ १४:१५

