युट्युबबाट सिकेर अनलाइन जुवा खेलाउने व्यक्ति पक्राउ, ९१ लाख नगद र डेढ किलो गाँजा बरामद
भदौ १०, २०८२ १६:२१
काठमाडौँ । अनलाइन जुवा (सट्टेबाजी) तथा लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली घर भई हाल ललितपुर शान्तिकुना बस्दै आएका २६ वर्षीय गौरव स्याङ्तान रहेका छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले सोमबार साँझ आरोपी स्याङ्तानलाई नियन्त्रणमा लिएको हो ।
परिसरका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार स्याङ्तानले कोठा भाडामा लिएर अनलाइन जुवा खेलाउने र लागूऔषधको समेत कारोबार गर्ने गरेको सूचना पाएपछि प्रहरीले उनको डेरामा खानतलासी गरेको थियो । खानतलासीका क्रममा प्रहरीले स्याङ्तानको कोठाबाट ९१ लाख ५० हजार रुपैयाँ नगद, डेढ किलो गाँजा, पैसा गन्ने मसिन र डिजिटल तराजु बरामद गरेको छ ।
“प्रारम्भिक अनुसन्धानका क्रममा अनलाइन क्यासिनो (जुवा) खेलाउँथे अनि त्यहीबाट कमिसन आउँथ्यो भनेको छ,” आरोपी स्याङ्तानको भनाइ उद्धृत गर्दै प्रहरी उपरीक्षक जोशीले टेकपानासँग भने, “युट्युबबाट हेरेर सिक्दै गरेको भन्छ । हामी अनुसन्धान गरिरहेका छौं ।”
प्रहरीले आरोपी स्याङ्तानको साथबाट अनलाइन जुवा खेलाउन प्रयोग भएका ११ थान मोबाइल सेट, एक थान आईप्याड, एक थान ल्यापटप र इन्टरनेटका लागि प्रयोग हुने पकेट राउटर पनि बरामद गरेको छ । त्यसैगरी विभिन्न बैंकका ८ ओटा एटीएम कार्ड र ‘CHEWANG'S PLAY GROUND’ लेखिएको बोर्ड समेत फेला परेको छ ।
पक्राउ परेका स्याङ्तानलाई नियन्त्रणमा लिई बरामद गरिएका सबुत-प्रमाणसहित थप अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: भदौ १०, २०८२ १६:४१
