इन्टरनेट सेवा सञ्चालनको घोषणा गरेको नयाँ कम्पनीको वेबसाइट भोलिपल्टदेखि बन्द
भदौ १५, २०८२ ११:२०
काठमाडौँ । इन्टरनेट सेवा सञ्चालनमा ल्याएको घोषणा गरेको एक नयाँ कम्पनीले त्यसको भोलिपल्ट देखि नै आफ्नो वेबसाइट बन्द गरेको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै इन्टरनेट सेवा सुरु गरेको भन्दै प्रेस विज्ञप्ति जारी गरेको एननेट पर्पल नामक आईएसपी कम्पनीले शुक्रबारदेखि नै आफ्नो वेबसाइट बन्द राखेको हो ।
शुक्रबार मात्रै नियामक नेपाल दूरसञ्चार प्राधिकरणले ट्यारिफ स्वीकृत नगराएको भन्दै सेवा सञ्चालनमा ल्याए कारबाही गर्ने चेतावनी दिएको थियो । कम्पनीको उपस्थिति नै शङ्कास्पद देखिएपछि धेरैको सोधीखोजीको विषय बनेको एननेटको वेबसाइट डाउन गरिएको छ । अहिले वेबसाइट खोल्दा “Exiting Offer Coming Soon!! site will be available soon. Thank you for your patience” लेखिएको सूचना राखेको देखिन्छ ।
जब कि बिहीबार मात्रै कम्पनीले काठमाडौँ लगायत नेपालका प्रमुख सरहरूबाट आफ्नो सेवा सुरु गरेको घोषणा गर्दै विभिन्न प्याकेजहरू समेत सार्वजनिक गरेको थियो । एनसेलले आफ्नो ब्रान्ड प्रयोग गरिएको भन्दै प्राधिकरणमा शुक्रबार नै निवेदन समेत दर्ता गराएको बुझिएको छ । यसबाट कम्पनीले आफ्नो वेबसाइटको यूआई तथा ब्रान्डिङमा परिवर्तन ल्याउन र ट्यारिफ स्वीकृतिका लागि वेबसाइट बन्द राखेको हुनसक्ने अनुमान गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ १५, २०८२ ११:२०
