close

फोटोशपलाई चुनौती दिने गुगलको नानो बनाना: एआईको सहयोगमा यसरी एडिट गर्न सकिन्छ कुनै पनि फोटो

टेकपाना टेकपाना

भदौ १७, २०८२ १२:५

जेमिनाईबाट एडिट गरिएको फोटो जेमिनाईबाट एडिट गरिएको फोटो

काठमाडौँ । गुगलले हालसालै 'नानो बनाना' नामक एआईमा आधारित फोटो एडिटर सार्वजनिक गरेको छ । जसलाई आधिकारिक रूपमा जेमनाई २.५ फ्ल्याश इमेज (Gemini 2.5 Flash Image) भनेर चिनिन्छ । यो टुलले फोटो सम्पादन गर्ने तरिकालाई पूर्ण रूपमा रूपान्तरण गर्ने अपेक्षा गरिएको छ । किनकि यसले जटिल फोटो एडिटिङलाई पनि साधारण टेक्स्ट प्रम्प्टको माध्यमबाट सहज बनाउँछ । यो एआई मोडल लामो समयदेखि एआई इमेज मोडलहरूमा रहेको क्यारेक्टर लाइक्नेस र सिन कन्सिसटेन्सी (character likeness and scene consistency) को समस्यालाई समाधान गर्ने हिसाबले डिजाइन गरिएको छ । यसको क्षमता यति प्रभावशाली छ कि धेरैले यसलाई एडोबी फोटोशपको प्रतिद्वन्द्वीका रूपमा समेत हेरिरहेका छन् ।

कस्तो छ गुगलको नानो बनाना एआई ?

नानो बनानाले तस्बिर सम्पादनका लागि विस्तृत फिचरहरू प्रदान गर्छ, जसले सामान्य व्यक्तिगत प्रोजेक्टदेखि एड्भान्स एपसम्मका आवश्यकताहरू पुरा गर्न सक्छ । यसले सरलतालाई परिष्कृतता (simplicity meets sophistication) सँग जोड्ने प्रयास गरेको छ ।

क्यारेक्टर र स्टाइल कन्सिसटेन्सी (Character and Style Consistency को रूपमा यो मोडलले व्यक्ति, वस्तु वा कलात्मक शैलीको उपस्थितिलाई प्रम्प्ट र सम्पादनको शृङ्खलामा कायम राख्न सक्छ । यसको मतलब तपाईँले आफू वा आफ्नो घरपालुवा जनावरको तस्बिर सम्पादन गर्दा एआईले उनीहरूको मौलिक स्वरूपलाई कायम राख्छ ।

त्यस्तै यसमा मल्टि-टर्न एडिटिङ (Multi-Turn Editing) पनि छ । यो सुविधाले प्रयोगकर्ताहरूलाई चरणबद्ध रूपमा तस्बिर परिष्कृत गर्ने सुविधा दिन्छ । उदाहरणका लागि तपाईँले पहिले एउटा कोठाको भित्तामा रङ भर्न सक्नुहुन्छ । त्यसपछि क्रमशः किताबको दराज, सोफा र गलैँचा थप्न सक्नुहुन्छ । जबकि एआईले यी प्रत्येक चरणमा कोठाको स्वरूपलाई अक्षुण्णc अर्थात् जस्ताको तस्तै कायम राख्छ ।

यसमा रहेको अर्को फिचर हो, मल्टि-इमेज फ्युजन (Multi-Image Fusion) । जसमा नानो बनानाले धेरै तस्बिरहरूलाई एउटै, सुसङ्गत दृश्यमा मर्ज गर्न सक्छ ।

यसैगरी यो एआई टुलबाट सजिलै ब्याकग्राउन्ड हटाउने र बदल्ने (Background Removal and Replacement) काम पनि गर्न सकिन्छ । जसमा तपाईँले एउटा प्रम्प्टको माध्यमबाट फोटोको पृष्ठभूमि सजिलै हटाउन वा बदल्न सक्नु हुन्छ । जसले सफा र सटीक परिणाम सुनिश्चित गर्दछ ।

नानो बनानामा कपडा परिवर्तन (Clothing Alteration) को क्षमता पनि गज्जबको छ । यसमार्फत कुनै तस्बिरमा रहेको कपडाको शैली परिवर्तन गर्न वा समायोजन गर्न सकिन्छ । जुन फेसन डिजाइनर र ई-कमर्स पेसाकर्मीहरूका लागि विशेष छ ।

यस बाहेक यो एआईले सिन रूपान्तरण (Scene Transformation) गर्ने कार्यलाई समेत सजिलो बनाएको छ । यसको सहायताले तस्विरमा कुनै चिज थपेर वा हटाएर वरिपरिको सम्पूर्ण वातावरण परिवर्तन नै गर्न सकिन्छ । जस्तै तपाईँ घमाइलो समुद्र तटलाई हिउँले ढाकिएको परिदृश्यमा रूपान्तरण गर्न सक्नुहुन्छ ।

फोटोशप प्रयोग गरेर कुनै फोटोमा रहेको निश्चित वस्तु वा त्रुटि हटाउने (Object Removal) कार्य समेत गुगलको नानो बनानाले राम्रोसँग सम्पन्न गर्न सक्छ ।

फोटो पुनर्स्थापना (Photo Restoration) को रूपमा पुराना वा बिग्रिएका फोटोहरूमा रहेको कमीकमजोरी सुधारेर यसले स्पष्ट तथा ब्ल्याक एन्ड ह्वाइट फोटोलाई रङ्गीन बनाइदिन पनि सक्छ ।

यति मात्र होइन यसले पोस्टर, विज्ञापन वा सामाजिक सञ्जालका थम्बनेल बनाउनका लागि सहजै टेक्स्ट थप्न वा सम्पादन गर्न सक्छ ।

तस्बिरका रङहरू बढाउन, कन्ट्रास्ट परिवर्तन गर्न वा वाटरकलर वा कार्टुन जस्तो देखिने कलात्मक इफेक्टहरू राख्न पनि यो टुल उपयुक्त छ ।

गुगल नानो बनानाको रियल-टाइम एडिटिङ क्षमताले तत्काल फोटो एडिटिङको कार्य सम्पन्न गरी यस क्रममा लाग्ने समयलाई ७०% सम्म घटाउन सक्ने बताइएको छ ।

नानो बनाना एआईमार्फत कसरी एडिट गर्ने फोटो ?

गुगलको नानो बनाना प्रयोग गर्न धेरै सजिलो छ । तपाईँ यो सुविधा जेमनाई एप वा गुगल एआई स्टुडियोमा गएर प्रयोग गर्न सक्नु हुन्छ ।

सबैभन्दा पहिला वेबसाइट वा स्मार्टफोनमा गुगलको जेमनाई एप खोल्नुहोस् । अब तपाईँले एडिट गर्न चाहेको फोटो छान्नुहोस् ।

यति गरिसकेपछि फोटोमा तपाईँले गर्न चाहेको परिवर्तन वा सम्पादनका लागि प्राकृतिक भाषामा टाइप गर्नुहोस् । एआईले तपाईँको अनुरोध बुझ्छ र केही सेकेन्डमै तपाईँले चाहेको जस्तै गरी फोटो एडिट गरेर उपलब्ध गराउँछ ।

एआईमार्फत फोटो एडिटिङ गर्ने केही प्रम्प्टः

यहाँ नानो बनानामार्फत फोटो एडिट गर्न केही प्रम्टलाई उदाहरणको रूपमा समावेश गरिएको छ ।

१. रूप परिवर्तन गर्न: 'Make me look like a princess in the Ramayana, holding flowers.' (मलाई रामायणकी राजकुमारी जस्तो, फूल समातेको बनाउनुहोस्)

२. वातावरण परिवर्तन गर्नः 'Change the time of day to night, add neon lighting in the interior.' (दिनको समयलाई रातमा परिवर्तन गर्नुहोस्, भित्री भागमा नियोन बत्ती थप्नुहोस्) अथवा 'Transform a sunny beach into a snowy landscape.' (घमाइलो समुद्र तटलाई हिउँले ढाकिएको परिदृश्यमा रूपान्तरण गर्नुहोस्)

३. हेयर स्टाइल परिवर्तन गर्नः 'Give this man a full and lustrous head of hair.' (यो मानिसको कपाल पूरा र चमकदार बनाउनु होस्)

४. कपडा तथा कपडाको शैली फेर्नः 'Make her wear a sari standing in a field.' (उनलाई खेतमा उभिएको सारी लगाएको बनाउनुहोस्)

५. कपडासँगै ब्याकग्राउन्ड परिवर्तन गर्नः 'Wear a suit and change the background to an office.' (सुट लगाउनुहोस् र पृष्ठभूमिलाई कार्यालयमा परिवर्तन गर्नुहोस्)

६. सिन परिवर्तन गर्नः 'Transform this room into a Scandinavian minimalist design with pastel walls, warm wood furniture, and cozy textures.' (यो कोठालाई स्क्यान्डिनेभियन मिनिमलिस्ट डिजाइनमा बदल्नुहोस्, जसमा पेस्टल भित्ता, न्यानो काठको फर्निचर र आरामदायक बनावट होस्)

७. वस्तु हटाउन वा थप्नः 'Remove unwanted objects or imperfections.' (अनावश्यक वस्तु वा त्रुटिहरू हटाउनुहोस्) अथवा "Remove the trash can from my sunset shot and fill in the background perfectly." (मेरो सूर्यास्तको शटबाट डस्टबिन हटाउनुहोस् र पृष्ठभूमि राम्रोसँग भर्नुहोस्) अथवा 'Add a bookshelf on the blank wall.' (खाली भित्तामा किताबको दराज थप्नुहोस्)

८. फोटोहरू जोड्नः 'Make this woman pet this dog and create a picture of them together.' (यो कुकुरलाई यी महिलाको बनाउनु होस् र तिनीहरू सँगै रहेको तस्बिर तयार पार्नुहोस्) अथवा 'Merge a picture of a woman with one of a dog so they appear cuddling on a basketball court.' (एक महिलाको तस्बिरलाई कुकुरको तस्बिरसँग मर्ज गर्नुहोस् ताकि उनीहरू बास्केटबल कोर्टमा अँगालो हालेको जस्तो देखियोस्)

फोटोशपलाई कत्तिको छ चुनौती ?

नानो बनानाले एडोबी फोटोशपको विकल्पमा पेसाकर्मी र सामान्य प्रयोगकर्ता दुवैका लागि फोटो सम्पादनलाई अत्यन्तै सरल बनाउँछ । यसले म्यानुअल सम्पादनमा लाग्ने घण्टौँको कामलाई सेकेन्डमा गर्न सक्छ । कम लागत र नि:शुल्क प्रयोगको विकल्पले यसलाई अझ आकर्षक बनाएको छ । यद्यपि केही प्रयोगकर्ताले यसको जटिल टेक्स्ट प्लेसमेन्ट र अत्यधिक विस्तृत कलात्मक शैलीहरू नक्कल गर्नमा रहेका सीमितता औँल्याएका छन् । जसका लागि अझै पनि म्यानुअल एडिटिङको आवश्यकता पर्न सक्छ । यसका बाबजुद यसको क्षमताले हाइब्रिड कार्य प्रवाहलाई भने बढावा दिनेछ । जहाँ एआईले दोहोरिने कार्यहरू ह्यान्डल गर्छ र मानिसले त्यसलाई मूल्याङ्कन गरेर कामलाई अघि बढाउँछन् ।

तर आउँछ वाटरमार्क

गुगलले एआईबाट तयार पारिएका तस्बिरको दुरुपयोग रोक्नको लागि प्रत्येक त्यस्ता तस्विरमा एआई वाटरमार्क र डिजिटल वाटरमार्कको रूपमा अदृश्य सिन्थआईडी समावेश गरेको छ । जुन पारदर्शिता सुनिश्चित गर्ने र डिजिटल प्लेटफर्ममा प्रामाणिकता सम्बन्धी चिन्तालाई कम गर्ने महत्त्वपूर्ण कदम हो ।

 

पछिल्लो अध्यावधिक: भदौ १७, २०८२ १२:९