close

महिलाहरूलाई अश्लील मेसेज पठाएर शारीरिक सम्बन्धका लागि दबाब दिएको आरोपमा एक युवक पक्राउ

टेकपाना टेकपाना

भदौ २०, २०८२ १८:३२

सांकेतिक तस्बिर सांकेतिक तस्बिर

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमार्फत महिलाहरूको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भएका दिनेश कार्की रहेका छन् ।

पीडित महिलाका अनुसार आरोपी कार्कीले सबैभन्दा पहिले फेसबुकमा नक्कली आईडी बनाएर सम्पर्क गर्थे । त्यसपछि कुराकानी गर्दै नजिकिँदै गएपछि अश्लील कुराकानी सुरु गर्थे । पछि त्यसकै आडमा शारीरिक सम्बन्धका लागि दबाब दिने, भिडिओ पठाएर चरित्रहत्या गर्ने तथा अपशब्द प्रयोग गरी गालीगलौज गर्ने गर्थे ।

साइबर ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दीपकराज अवस्थीका अनुसार यसरी चरित्रहत्या गरेको भन्दै तीन महिलाले निवेदन दिएका थिए । “तीन निवेदनमध्ये दुई ओटा पुष्टि भएको छ,” प्रहरी उपरीक्षक अवस्थीले भने, “अन्य संलग्नता पनि छ कि भनी हामी अनुसन्धान गर्दैछौं ।”

आरोपी कार्कीलाई बिहीबार इलाका प्रहरी कार्यालय पकली, सुनसरीको सहयोगमा सुनसरीबाट नियन्त्रणमा लिइएको हो । उनीमाथि काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको अवस्थीले जानकारी दिए ।

पछिल्लो अध्यावधिक: भदौ २०, २०८२ १८:३६