शार्क ट्याङ्क नेपालबाट ३.५ करोड लगानी उठाएको स्टार्टअप प्रतिबन्धले समस्यामा, भारत पलायन हुँदै
भदौ २२, २०८२ १०:५०
काठमाडौँ । शार्क ट्याङ्क नेपालबाट ३.५ करोड लगानी जुटाएको नेपाली स्टार्टअप कम्पनी ट्यालेन्ट कनेक्ट सामाजिक सञ्जाल प्रतिबन्धका कारण समस्यामा परेको छ । लिङ्क्डइन चल्न छोडेपछि सोही प्लेटफर्ममा आधारित यो स्टार्टअप धराशायी हुने जोखिमबाट सर्भाइभ हुनकै लागि भारत सर्ने तयारीमा जुटेको हो ।
“सामाजिक सञ्जाल प्रतिबन्ध हुँदा हामी त्यसको प्रत्यक्ष मारमा परेका छौँ,” कम्पनीका प्रबन्ध निर्देशक तथा संस्थापक दिवश थापाले भने, “यसले हाम्रो नेपालको बिजिनेसलाई ठप्प बनाइसक्यो । अनबोर्डिङको क्रममा रहेका कतिपय क्लाइन्टसँग हुने कन्ट्रयाक्ट स्थगित भएको छ । गोल्यान, एमएडब्लू जस्ता ठुला क्लाइन्ट पनि अहिले पर्ख र हेरको स्थितिमा छन् । उनीहरूको हायरिङ (कर्मचारी भर्ना) हाम्रै प्लेटफर्मबाट गर्नेगरी तयारी चलिरहेको थियो । तर लिङ्क्डइन नै बन्द भएपछि उहाँहरूसँग हुने कन्ट्राक्ट साइनिङको तयारी पनि रोकिएको छ । अहिले हामी सबै दोधारमा छौँ । प्रतिबन्ध फिर्ता भएपछि स्थगित प्रक्रिया अगाडि बढाउने आशामा पर्खिरहेका छौँ ।”
शार्क ट्याङ्क नेपालमार्फत ट्यालेन्ट कनेक्टमा शार्क ऋतुसिँह वैद्यले ३.५ करोड रुपैयाँ लगानी गरेकी छिन् । लिङ्क्डइन बन्द हुँदा व्यवसायमा निम्तिएको समस्याले उनलाई पनि पिरोलेको छ । उनले यस प्रति चिन्ता जाहेर गरिसकेकी छिन् । बढीमा हप्ता दश दिनसम्ममा प्रतिबन्ध हट्ला कि भन्ने आशा अझै पनि ट्यालेन्ट कनेक्टका लगानीकर्तामा जीवित छ ।
“एक किसिमको योजना बनाएर अघि बढिरहेका थियौँ । सरकारको एउटा निर्णयले सबै फेल भयो, अब के गर्ने ?,” टेकपानासँग उनले सुनाए, “जे भए पनि हाम्रो टिम सानै छ । यस्तै समस्या हो र हप्ता १० दिनभन्दा लम्बियो भने झोला बोकेर इन्डिया जाने कि भनेर अहिले सल्लाह गरिरहेका छौँ ।”
ट्यालेन्ट कनेक्टले हाल १० देखि १२ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको छ । नेपाली ग्राहकलाई सेवा दिन नसक्ने भएपनि भारतबाट नेपाल बाहिर व्यवसाय विस्तार गर्न सकिने आशामा थापा छन् ।
उनी अगाडि भन्छन्, “इन्डियामा नेट चल्छ, मेटा-लिङ्क्डइन सबै चल्छ । हामी भारत जाने सल्लाह गर्दैछौँ । किन कि हामीलाई जसरी पनि सर्भाइभ हुनु छ । प्रविधिमा हाम्रो ठुलो लगानी भइसकेको छ । लगानीकर्ता भित्र्याइसकेका छौँ । उहाँहरूले लगानी फिर्ता मागे के गर्ने ? नेपालमा कसलाई बेच्ने ? सरकारले हामीलाई प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा नेपाल छोडेर बाहिर जान बाध्य पारिरहेको छ ।”
निकै निरुत्साहित सुनिएका थापाले नेपालमा 'केही नचल्ने' अवस्था निम्त्याउने सरकारको कदम आफ्नै डिजिटल नेपाल अभियान विरुद्ध रहेको ठानेका छन् । “बिजिनेसहरू, आम नागरिक सबैलाई असर नपार्ने गरी पर्याप्त रूपमा परामर्श पनि नलिएरै यो कदम चालियो । ‘तपाईँहरूलाई यस्तो असर पर्न सक्छ है’ भनेर कुनै सूचना पनि दिइएन । अब यस्तोमा यो कदमलाई हामी कसरी सम्मान गर्न सक्छौँ ?” उनले भने ।
“बाँच्नलाई देशै छोड्नु पर्ने भयो । यहाँ व्यवसाय सञ्चालन गर्न निकै गाह्रो भयो । अब हामीले कसरी गरी खाने ?” ट्यालेन्ट कनेक्टका हार्डवेयर तथा सफ्टवेयर सबै पूर्वाधार अनलाइनमै आधारित छन् । सरकारको यो निर्णयले टयालेन्ट कनेक्ट जस्ता साना तथा ठुला सबै व्यवसायलाई असर गरिरहेको छ । “हामीले जिसुट पनि प्रयोग गर्छौँ । युट्युब-जिमेल बन्द भए ईमेल सिस्टम नै चल्दैन,” थापाले गुनासो गर्दै भने, “हिजोसम्म भीपीएनले अलिअलि चलिरहेको थियो । अब त भीपीएनबाट पनि नचल्ने अवस्था देखिन थालेको छ ।”
पछिल्लो अध्यावधिक: भदौ २२, २०८२ ११:८
