‘फोन कलबाटै प्रहरीले लोकेसन ट्र्याक गर्दैछ’ भन्ने हल्ला भ्रामक, नझुक्किनुहोस्
भदौ २४, २०८२ ११:६
काठमाडौँ । सोमबार रातिदेखि सामाजिक सञ्जालमा एउटा भ्रामक मेसेज तीव्र गतिमा फैलिरहेको छ । एउटा ९७४१…. मोबाइल नम्बर उल्लेख गर्दै ‘यो नम्बरबाट कल आए नउठाउनु, प्रहरीले लोकेसन ट्र्याक गर्दैछ’ भनी सर्वसाधारणलाई त्रसित बनाइएको छ ।
तर, प्रहरीले फोन कलकै भरमा कसैको लोकेसन ट्र्याक गर्छ भन्ने दाबी पूर्ण रूपमा असत्य र भ्रामक रहेको नेपाल टेलिकमका प्रवक्ता रवीन्द्र मानन्धरले बताएका छन् । “फोन गरेकै भरमा लोकेसन थाहा पाउँछ भन्ने जानकारी भ्रामक हो,” मानन्धरले टेकपानासँग भने, “प्रहरीले पनि फोन गरेर लोकेसन पत्ता लगाउन सक्दैन । अदालतबाट अनुमति लिएर औपचारिक प्रक्रिया पूरा गरिसकेपछि मात्र उपलब्ध गराउँछौं ।”
भाइरल भएको स्क्रिनसट र टेक्स्ट मेसेजमा उक्त नम्बरलाई ‘ट्रुकलर’ एपमा ‘नेपाल पुलिस लोकेसन ट्र्याकिङ’ भनेर देखाइएको छ । यही स्क्रिनशटको आधारमा सर्वसाधारणलाई प्रहरीले नै कल गरेर लोकेसन पत्ता लगाउँछ भन्ने भ्रम सिर्जना गरिएको हो ।
कसरी देखिन्छ ट्रुकलरमा नाम ?
वास्तवमा ट्रुकलरले कुनै पनि नम्बरको पहिचान प्रयोगकर्ताकै सहयोगमा गर्छ । कुनै व्यक्तिले आफ्नो फोनमा ट्रुकलर इन्स्टल गरेको छ भने उक्त एपले कन्ट्याक्टको सबै एक्सेस लिन्छ र जुन नाममा नम्बर सेभ गरेको छ, ट्रुकलरले त्यही नाम देखाउन सक्छ । यस बाहेक धेरै प्रयोगकर्ताले कुनै नम्बरलाई ‘सजेस्ट’ वा ‘ट्याग’ गरे भने ट्रुकलरले त्यही नामलाई प्राथमिकता दिन्छ । कसैले जानीजानी वा अनजानमा उक्त नम्बरलाई ‘नेपाल पुलिस लोकेसन ट्र्याकिङ’ भनेर सेभ वा सजेस्ट गर्दा धेरैलाई त्यही नाम देखिएको हुन सक्छ ।
कसरी हुन्छ लोकेसन ट्र्याक ?
फोन कलकै भरमा कसैको लोकेसन ट्र्याक गर्न सम्भव छैन । यो अधिकार र प्रविधि केवल सिम प्रदायक टेलिकम कम्पनीहरूसँग मात्र हुन्छ । उनीहरूले आफ्नो सेल टावरको आधारमा कुन सिमकार्ड कुन क्षेत्रमा सक्रिय छ भन्ने पत्ता लगाउँछन् । यसबाट पनि पिन पोइन्ट अर्थात सटीक लोकेसन फेला पर्छ भन्ने हुँदैन ।
यस्तो संवेदनशील जानकारी दूरसञ्चार कम्पनीले सर्वसाधारणलाई उपलब्ध गराउँदैनन् । तर, अनुसन्धानका क्रममा प्रहरी वा अन्य सरकारी निकायले आधिकारिक रूपमा माग गरेमा भने उपलब्ध गराउनुपर्ने प्रावधान छ ।
यी विभिन्न पक्षलाई आधार मान्दा फोन कल गरेर प्रहरीले लोकेसन ट्र्याक गर्छ भनी सामाजिक सञ्जालमा फैलाइएको हल्ला पूर्णतः निराधार र भ्रामक भएको देखिन्छ ।
पछिल्लो अध्यावधिक: भदौ २४, २०८२ ११:६
