close

सीजी नेटको डेटा सेन्टरमा क्षति, काठमाडौं उपत्यकाभर इन्टरनेट अवरुद्ध

टेकपाना टेकपाना

भदौ २५, २०८२ १०:४३

सीजी नेटको डेटा सेन्टरमा क्षति, काठमाडौं उपत्यकाभर इन्टरनेट अवरुद्ध

काठमाडौँ । सतुङ्गलस्थित सीजी नेटको मुख्य डेटा सेन्टरमा आगलागी हुँदा इन्टरनेट सेवा काठमाडौं उपत्यकामा अवरुद्ध भएको छ ।

मंगलबार देशभर फैलिएर गएको दंगाको क्रममा उक्त डेटा सेन्टरमा समेत आगजनी भएको र त्यसकै कारण सेवा अवरुद्ध भएको कम्पनीले जनाएको छ । आगलागीले डेटा सेन्टरमा क्षति पुगेपछि अहिले इन्टरनेट सेवा पूर्ण रूपमा ठप्प भएको हो ।

सीजी नेटका अनुसार प्राविधिक टोली समस्या समाधानका लागि सक्रिय भइसकेको छ । कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, “हाम्रो प्राविधिक टोलीले छिटोभन्दा छिटो सेवा सञ्चालनमा ल्याउने प्रयास गरिरहेको छ । यस अवधिमा तपाईंहरूले देखाउनुभएको धैर्यता र सहयोगका लागि आभार व्यक्त गर्दछौँ । असुविधाका लागि हामी हार्दिक क्षमाप्रार्थी छौँ ।”

इन्टरनेट सेवासँगै कम्पनीको फोन सपोर्ट प्रणालीमा पनि समस्या देखिएको छ । त्यसैले सेवाग्राहीहरूले फेसबुक, इन्स्टाग्राम मेसेन्जर, ह्वाट्सएप, भाइबर (९८०१३००९०८) वा वेबसाइट च्याटमार्फत सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको सीजी नेटले जनाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २५, २०८२ १०:४३