close

प्रदर्शनका क्रममा खोसिएका सञ्चार सेट, हतियार र पोसाक फिर्ता गर्न प्रहरीको सार्वजनिक अपिल

टेकपाना टेकपाना

भदौ २६, २०८२ १४:७

प्रदर्शनका क्रममा खोसिएका सञ्चार सेट, हतियार र पोसाक फिर्ता गर्न प्रहरीको सार्वजनिक अपिल

काठमाडौँ । नेपाल प्रहरीले हालै भएको प्रदर्शनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएका वा फेला पारेका प्रहरीका हातहतियार, सञ्चार सेट, पोसाक लगायतका सामग्री फिर्ता गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले आज (बिहीबार) एक विज्ञप्ति जारी गर्दै २३ देखि २५ भदौसम्म भएको प्रदर्शनका क्रममा प्रहरी तथा अन्य सुरक्षा निकायका सामग्री प्रदर्शनकारीको नियन्त्रणमा परेको भन्दै ती सामग्री फिर्ता गर्न सार्वजनिक रूपमा अपिल गरेको हो ।

“प्रदर्शनका क्रममा नेपाल प्रहरीलगायत अन्य सुरक्षा निकायका हातहतियार, सञ्चार साधन, सवारी साधन, असबाब र अन्य भौतिक साधनहरू नियन्त्रणमा लिएको वा कतै फेला पार्नुभएको छ भने उक्त सामग्रीहरू फिर्ता बुझाइ दिनुहुन अनुरोध छ,” विज्ञप्तिमा भनिएको छ । प्रहरीले त्यस्ता सामग्री नजिकको प्रहरी कार्यालय, सुरक्षा निकायको कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेको छ ।

साथै, प्रहरी कन्ट्रोलको १००, टोल फ्री नम्बर १६६००१४४९६६ वा नेपाल प्रहरी प्रधान कार्यालयको सम्पर्क नम्बर ९८५१२९२४५९ मा सम्पर्क गरी जानकारी दिन पनि सकिने विज्ञप्तिमा उल्लेख छ । यसका साथै प्रहरीले आन्दोलनका क्रममा प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरीको पोसाकको दुरुपयोग नगर्न पनि सचेत गराएको छ । पोसाकको दुरुपयोग भएमा शान्ति सुरक्षामा असर पर्नसक्ने भन्दै प्रहरीले यसबारे कुनै सूचना भए उपलब्ध गराउनसमेत सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रदर्शनकारीले नियन्त्रणमा लिएका प्रहरी पोसाकका भिडिओ सामाजिक सञ्जालमा भाइरल छन् । पोसाक लगाएर कार्यालयमै गई बनाइएका विभिन्न भिडिओ सार्वजनिक भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: भदौ २६, २०८२ १४:७