फेसबुकमा भ्रम फैलाउँदै अवसरवादका नमुना, ३१ पटकसम्म नाम फेरिएको ग्रुप पनि अहिले ‘जेन जी नेपाल’
भदौ २६, २०८२ १७:२०
काठमाडौँ । गत शनिबारदेखि नेपालका सामाजिक सञ्जाल विशेषगरी युवा पुस्तामाझ लोकप्रिय रेडिट, टिकटक र डिस्कर्डमा एक नयाँ किसिमको आन्दोलनको राँको सल्किरहेको थियो । देशमा व्याप्त भ्रष्टाचार, राजनीतिज्ञका सन्तानको विलासी जीवनशैली, अस्थिर राजनीति, बढ्दो बेथिति र सामाजिक सञ्जालमाथि गर्न खोजिएको नियन्त्रणविरुद्ध युवाले आवाज बुलन्द गरिरहेका थिए । इन्डोनेसिया र फिलिपिन्सका युवाहरूले गरेको सफल प्रदर्शनबाट प्रेरित भएर नेपालमा ‘नेपो बेबी ट्रेन्ड्स’ सुरु भयो, जुन टिकटक र रेडिटमा डढेलोझैँ फैलियो ।
यही भर्चुअल आक्रोशलाई भौतिक रूपमा सडकमा उतार्ने योजना रेडिटका सबरेडिट ‘नेपाल’ र ‘नेपाल सोसल’ मा बन्यो, जहाँ युवाहरूले २३ भदौ (८ सेप्टेम्बर) मा माइतीघर मण्डलामा प्रदर्शन गर्ने निर्णय गरे । यो आन्दोलनको सुरुवाति चरण पूर्ण रूपमा विकेन्द्रित र सामूहिक थियो । यसको कुनै एक नेता वा आधिकारिक समूह थिएन । त्यसैले सुरुवातमै यसको नाम लिडरलेस, हेडलेस क्याम्पेनका रूपमा चर्चा गरिएको थियो ।
कस्ता एजेन्डा उठाउने, माग के-के राख्ने र प्रदर्शनको स्वरूप कस्तो हुने भन्नेबारे रेडिट र डिस्कर्डका एनोनिमस (गुमनाम) प्रयोगकर्ताबिच छलफल चल्थ्यो । तर, यो अभियानलाई वृहत् बनाउन सामाजिक सञ्जालका प्रभावशाली व्यक्ति (इन्फ्लुएन्सर) हरूको साथ अनिवार्य थियो । त्यसैले युवाहरूले सेलिब्रेटी र इन्फ्लुएन्सरका टिकटक र इन्स्टाग्राम पोस्टमा कमेन्टको वर्षा गराउँदै उनीहरूलाई बहिष्कार गर्नेसम्मको अभियान चलाए । यो दबाबले काम गर्यो र इन्फ्लुएन्सरले युवाको आवाजमा समर्थन जनाउन थाले ।
त्यसपछि विभिन्न सञ्चारमाध्यमले पनि यस विषयमा समाचार प्रकाशित गरे, जसले गर्दा २३ भदौको प्रदर्शनमा युवाको उल्लेख्य सहभागिता जुटायो । तर, जब यो आन्दोलन रेडिट र टिकटकको भर्चुअल दुनियाँबाट बाहिर निस्कँदै थियो, फेसबुकमा भने अर्कै खेल सुरु भयो । नयाँ पुस्ता फेसबुकमा खासै सक्रिय नभएको फाइदा उठाउँदै वर्षौँदेखि लाखौँ सदस्य भएका, तर रिच राम्रो नभएका फेसबुक ग्रुप र पेज चलाएर बसेका केही व्यक्तिले यो आन्दोलनलाई आफ्नो स्वार्थपूर्तिका लागि प्रयोग गर्ने गजबको रूपमा लिए ।
उनीहरूले रातारात आफ्ना पुराना ग्रुप तथा पेजको नाम परिवर्तन गरेर ‘जेन-जी नेपाल’ राख्न थाले । ग्रुपमा लाखौँ सदस्य देखेपछि धेरैले तिनैलाई आधिकारिक ठानेर आफ्ना धारणा राख्न र बनाउन थाले । यसले गर्दा अहिले जेन-जी आन्दोलनको नाममा अनेक भ्रामक र मिथ्या सूचनाको भुमरी सिर्जना भएको छ ।
यसको सबैभन्दा ज्वलन्त उदाहरण हो, दुई लाख ५१ हजारभन्दा बढी सदस्य भएको ‘Gen Z Nepal’ नामक फेसबुक ग्रुप ।
यो ग्रुपको ट्रान्सपरेन्सीमा हिस्ट्री हेर्दा जोकोही छक्क पर्न सक्छ । किनकि यसको नाम हालसम्म ३१ पटक परिवर्तन भइसकेको छ । १० अगस्ट २०१८ मा ‘राजतन्त्र हाम्रो आस्था र भरोसा’ नामबाट सुरु भएको यो ग्रुप पछि गएर ‘शेयर बजार प्रदेश न-३’, लगानी ग्रुप, ‘नो नट अगेन’ र ‘शिवसेना नेपाल-मकवानपुर’ जस्ता असम्बन्धित नाममा बदलियो ।
अन्ततः, युवा प्रदर्शनकै दिन अर्थात् २३ भदौमा यसको नाम ‘Gen Z Nepal’ राखियो । अच्युत बन्जारा नामका व्यक्ति मुख्य एड्मिन रहेको यो ग्रुपका सञ्चालक आफूलाई ‘राजावादी’ भनेर चिनाउँछन् । तर अहिले यही ग्रुपलाई धेरैले जेन-जीको आधिकारिक मञ्च ठानेका छन्, जहाँ न त कुनै कन्टेन्टको निगरानी छ । न त सञ्चालकको आन्दोलनसँग कुनै नाता ।
यस्तै प्रवृत्ति अन्य पेज र ग्रुपमा पनि देखिएको छ । एक लाख ९१ हजार फलोअर भएको ‘GenZ Nepal’ नामक अर्को पेज २२ जनवरी २०१९ मा ‘मिम बागलुङ’ नामबाट खोलिएको थियो । पछि ‘मिम पाना’ र ‘यूपि शर्मा’ हुँदै २२ भदौमा यसको नाम पनि ‘GenZ Nepal’ राखियो ।
हजारौँ फलोअर भएकाले धेरैले यसलाई नै वास्तविक पेज ठानेका छन् र यही पेजबाट जारी भएका तथाकथित ‘आधिकारिक विज्ञप्ति’ लाई आधार मानेर केही सञ्चारमाध्यमले समेत समाचार बनाएका छन् ।
अवसरवादको यो दौडमा नयाँ खेलाडी पनि पछि परेनन् । ८ सेप्टेम्बरको प्रदर्शन उग्र भएपछि त्यसको भोलिपल्टै ‘GEN-Z NEPAL’ नामको अर्को पेज खुल्यो र बुस्ट गरेर प्रचार गरियो जसकारण यसले छोटो समयमै यसले १९ हजार फलोअर कमायो ।
त्यस्तै अङ्ग्रेजीमा ‘Z’ र ‘G’ को सामान्य हिज्जे पनि नबुझेका एक प्रयोगकर्ताले सेप्टेम्बर ६ मा ‘Gen G Nepal’ नामक पेज बनाए । पछि गल्ती थाहा पाएर नाम सच्याए पनि त्यसले १८ हजार फलोअर बटुलिसकेको छ ।
अर्को एउटा ५० हजार सदस्य भएको ग्रुप, जो २८ मे २०२० मा ‘Nepal Television (NTV)’ नाममा खोलिएको थियो । त्यसको नाम पनि १० सेप्टेम्बरमा ‘GenZ Nepal’ राखियो । यसले त प्रयोगकर्तालाई भ्रमित पार्न नामको पछाडि हरियो टिकमार्क इमोजीसमेत राखेको छ, ताकि त्यो आधिकारिक प्रमाणित भएको देखियोस् ।
‘युथ फोर्स नेपाल’, ‘भोजराज थापा’ र ‘पोजेटिभ भाइब्स’ जस्ता नाम राखेर विभिन्न उद्देश्यले खोलिएका दर्जनौँ पुराना ग्रुप र पेजहरूले पनि आफ्नो नाम परिवर्तन गरेर जेन-जी आन्दोलनको लहरमा आफूलाई सामेल गराएका छन् ।
यस्ता सयौँ फेसबुक अकाउन्ट, पेज र ग्रुपहरू सक्रिय छन्, जसले आफूलाई आधिकारिक ‘जेन-जी’ ग्रुप भएको दाबी गर्छन् । यी सबैमा एउटा साझा प्रवृत्ति देखिन्छ; त्यो हो - देशमा जुन विषयले चर्चा पाउँछ, जसमा जनसहभागिता बढी हुन्छ वा जसको लोकप्रियता बढ्दै जान्छ, असरकै लागि यी अकाउन्ट, ग्रुप र पेजको नाम पनि सोहीअनुसार परिवर्तन भइ रहन्छन् ।
रवि लामिछाने फ्यान क्लब, बालेन शाह फ्यान क्लब, हर्क साम्पाङ फ्यान क्लब, रास्वपा फ्यान क्लब, नेकपा (एमाले) फ्यान क्लब, नेपाली कांग्रेस समूह लगायतका सयौं ग्रुपहरू फेसबुकमा सक्रिय छन् । जसको आफ्नो नाम वा देखाइएको विषयसँग कुनै वास्तविक सम्बन्ध नै हुँदैन । जुन विषय चर्चामा हुन्छ, यिनै ग्रुपको नाम पनि त्यही राखिन्छ । रोचक कुरा त के छ भने यस्ता ग्रुपमा लाखौँ सदस्य जोडिएका हुन्छन् । सङ्ख्यालाई नै आधिकारिकता मान्ने जमातले त्यसैमा आफ्ना धारणा र विचार राख्छन् ।
एकातिर फेसबुकमा यस्तो भद्रगोल चलिरहँदा अर्कोतिर आन्दोलनको उद्गम स्थल मानिएका रेडिट र डिस्कर्डमा समेत नेतृत्व र आधिकारिकतालाई लिएर चर्को बहस सुरु भएको छ । आन्दोलनको कुनै नेता नभएको र सबैको सामूहिक प्रयासले यो सम्भव भएको बताइरहँदा केही डिस्कर्ड च्यानलले आफूलाई नेताका रूपमा प्रस्तुत गर्न खोजेको भन्दै रेडिटमा एक प्रयोगकर्ताले आक्रोश पोखेका छन् । उनले लेखेका छन्, “कसले बनायो तिमी डिस्कर्डका केटालाई देशको नेता ? तिमीहरूले पूरै जेन-जीको प्रतिनिधित्व गर्दैनौ । तिमीहरू स्मार्ट बन्ने कोसिस गर्दागर्दै तेस्रो पक्षले फाइदा उठाइसक्यो ।”
यो आन्तरिक मतभेद र बाहिरी हस्तक्षेपको प्रत्यक्ष असर आन्दोलनमा पनि देखियो । प्रदर्शनकारीबिच नै कोही माइतीघरमा र कोही बानेश्वरमा हुनुपर्छ भन्नेमा मतभेद थियो । एक रेडिट प्रयोगकर्ताका अनुसार राजनीतिक रूपमा सचेत र इन्डोनेसियाको आन्दोलनबाट प्रभावित युवाहरू सुरुदेखि नै संसद् भवन अगाडि थिए भने ट्रेन्डमा पछि सामेल भएका इन्फ्लुएन्सर र अन्य मानिसहरू माइतीघरमा केन्द्रित थिए ।
यो भद्रगोल र नेतृत्वविहीनताकै बीच सोमबार प्रहरीसँगको झडपमा कम्तीमा १९ जनाले ज्यान गुमाए भने ३०० भन्दा बढी घाइते भए । यसले आन्दोलनलाई थप जटिल मोडमा पुर्यायो । एकातिर डिस्कर्डमा ८ घण्टासम्म १० हजार मानिसबीच नेतृत्वबारे बहस चलिरहँदा अर्कोतर्फ एउटा समूह नेपाली सेनासँग छलफल गर्न पुगिसकेको थियो । जसले यो आन्दोलन कति टुक्रिएको छ भन्ने स्पष्ट पार्छ ।
सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, भ्रष्टाचार र बेथितिविरुद्ध उठेको एउटा स्वतःस्फूर्त र शक्तिशाली युवा आन्दोलन अहिले बाहिरी अवसरवाद र आन्तरिक मतभेदको चक्रव्यूहमा फसेको छ । सामाजिक सञ्जालबाटै जन्मिएको यो अभियानलाई अहिले सामाजिक सञ्जालकै पुराना खेलाडीले आफ्नो स्वार्थका लागि अपहरण गर्ने प्रयास गरिरहेका छन् । यसले गर्दा उक्त अभियानको वास्तविक उद्देश्य र आवाज नै कतै ओझेलमा पर्ने हो कि भन्ने खतरा बढेको छ ।
यद्यपि जेन जी आन्दोलनलाई सुरुदेखि नै संयोजन गरिरहेका युवा समूहहरूले ‘सेफ ल्यान्डिङ’ गराउने प्रयास भने जारी राखेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ ९:५८
