टेकपाना फ्याक्टचेक : जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङ भारतीय नागरिक भन्दै फैलिएको खबर झुटो
भदौ २७, २०८२ १३:३५
काठमाडौँ । जेन-जी आन्दोलनका अगुवा तथा ‘हामी नेपाल’ नामक संस्थाका सुधन गुरुङ भारतीय नागरिक भएको भन्दै सामाजिक सञ्जालमा विभिन्न पोस्टहरू फैलिएको छ । फेसबुकसहितका सञ्जालमा सुधन गुरुङ भन्ने व्यक्ति जन्मजात भारतीय रहेको भन्दै पोस्ट भाइरल गराइएको छ ।
भारतको सिक्किम/दार्जिलिङ क्षेत्रमा जन्मेर नेपाल आएर सुधनले अभियन्ताको काम गरिरहेको केहीले दाबी गरेका छन् । तर, नेपालमा भर्खरै भएको जेन-जी आन्दोलनका अगुवामध्येका एक तथा हामी नेपालका सुधन गुरुङ र भारतीय अभियन्ता सुधन गुरुङ फरक-फरक व्यक्ति रहेको टेकपाना फ्याक्टचेकबाट पुष्टि भएको छ । नाम र थर एउटै भए पनि यी दुई व्यक्ति फरक हुन् । दार्जिलिङका सुधन गुरुङ पनि सामाजिक कार्यमै क्रियाशील रहेकाले उनी र नेपालका सुधन गुरुङ एउटै व्यक्ति भएको मानेर मिथ्या सूचना फैलाइएको टेकपानाको फ्याक्टचेकको निष्कर्ष छ ।
दाबी
फेसबुक प्रयोगकर्ता अन्जन बस्नेतले ११ सेप्टेम्बर २०२५ को राति ९:५५ बजे एउटा पोस्ट राखेका छन् । जसमा भनिएको छ, “सुदन गुरुङ भन्ने उहाँ व्यक्ति जन्मजात भारतीय हुनुहुँदो रहेछ । भारतको सिक्किम/दार्जिलिङ क्षेत्रमा जन्मेर नेपालमा आएर activist को काम गरिरहनु भएको छ । उहाँले चलाउने INGO "हामि नेपाल" भन्ने संस्था रहेछ । यही संस्थाबाट Gen-Z आन्दोलनको सुरुवात भएको रहेछ । पूर्वीनेपाल भारतको North east part Maynmar लगाएत क्रिश्चयन बढी भएको क्षेत्र मिलाएर छुट्टै देश बनाउने अभियान गरिरहेका छन । कुरो बुझ्न ढिलो नगरौ ।” उनीसँगै अरू धेरै व्यक्तिहरूले उस्तै प्रकृतिका पोस्ट हालेका छन्, शेयर गरेका छन् ।
हेर्नुहोस् अन्जन बस्नेतको पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
अर्का फेसबुक प्रयोगकर्ता सुजन जङ्ग महतले पनि यस्तै सूचना फैलाएका छन् । हेर्नुहोस्, ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
त्यसैगरी, फेसबुक प्रयोगकर्ता पूर्ण आलेले राखेको पोस्ट खगेन्द्र सापकोटाले शेयर गर्दै धेरैमाझ फैलाएका छन् । हेर्नुहोस् उक्त पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
अनुसन्धान
यस्ता पोस्टहरू भाइरल भएको पाइएपछि टेकपाना फ्याक्टचेक डेस्कले अनुसन्धान थाल्यो ।
अरू कयौँ फेसबुक प्रयोगकर्ताहरूले पनि जानीनजानी विभिन्न क्याप्सन राख्दै पोस्ट गरेको भेटियो । अनुसन्धानका क्रममा हामीले भारतीय सुदन गुरुङले यही विषयमा खण्डन सहित राखेको फेसबुक पोस्ट नै फेला पार्यौँ ।
फेसबुकमा Sudhan Gurung Gorkha नाम गरेको अकाउन्टबाट भारतीय सुदन गुरुङले नेपालमा भइरहेको आन्दोलन र त्यहाँ लिइएको सुधन गुरुङ नाम गरेको व्यक्ति आफू नभएको स्पष्ट पारेका छन् । भारतीय सुदन गुरुङले नेपाली सुधन गुरुङसँग आफ्नो कुनै साइनो नभएको भन्दै भारतीय सञ्चारमाध्यमहरूले समेत सुधन गुरुङको ठाउँमा आफ्नो फोटो राखेको प्रति खण्डन गरेका छन् ।
हेर्नुहोस् उनको पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
त्यसैगरी, टेकपानाले जेन-जी आन्दोलनका अगुवामध्येका एक सुधन गुरुङको नेपाली नागरिकताको प्रमाणपत्रका साथै राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका विवरण प्राप्त गरेको छ । जिल्ला प्रशासन कार्यालय गोरखाबाट उनको नेपाली नागरिकताको प्रमाणपत्र जारी भएको छ ।
हेर्नुस् , उनको नेपाली नागरिकताको प्रमाणपत्र
२३ र २४ भदौमा भएको जेन-जी आन्दोलनले उठाएका मागका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानसेनापति अशोकराज सिग्देलले समन्वय गराइरहेको समयमा जेन-जी अगुवा सुधन गुरुङ भारतीय नागरिक भएको भन्दै विभिन्न पोस्ट देख्न सकिन्छ ।
जबकि भारतीय नागरिक तथा त्यहाँका अभियन्ता सुदन गुरुङ अर्कै व्यक्ति हुन् । दार्जिलिङका राजनीतिज्ञ तथा सांसद राजु विष्टले ८ मे २०२५ मा एउटा फेसबुक पोस्ट गरेका छन् । गोरखा युथ एक्टिभिस्ट एवम् भ्रष्टाचार विरोधी अभियन्ता सुदन गुरुङमाथि आक्रमण भएको भन्दै विरोध जनाएका छन् ।
हेर्नुहोस् पोस्टको ओरिजिनल लिङ्क, आर्काइभ लिङ्क र स्क्रिनशट ।
फ्याक्टचेकका क्रममा टेकपानाले भारतीय अभियन्ता सुदन गुरुङको ठाउँमा गैरनाफामूलक संस्था हामी नेपालका संस्थापक सुधन गुरुङलाई जोडेर अतिरञ्जित पार्दै भ्रामक सूचना फैलाएका प्रशस्त प्रमाण फेला पारेको छ । यसले धेरैलाई भ्रममा पारेको छ । नेपालका सुधन गुरुङले गोरखा जिल्लाबाट नागरिकता लिएका हुन् । भारतका सुदन गुरुङले आफ्नो नामका पछाडि गोरखा राखेका छन् । धेरैलाई गोरखा शब्दले पनि अन्योलमा पारेको टेकपानाको विश्लेषण छ ।
दाबी
जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङ भारतीय हुन् । उनले नै नेपालमा जेन-जी आन्दोलन गराएका थिए ।
दाबीकर्ता
अन्जन बस्नेत, सुजन जङ्ग महत, खगेन्द्र सापकोटा लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
यो फ्याक्टचेकको आधारमा आएका मुख्य तथ्य यस्ता छन् :
-
सुधन गुरुङ नेपाली नागरिक हुन् । गोरखा जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नेपाली नागरिकताको प्रमाणपत्र तथा अन्य विवरण टेकपानाले प्राप्त गरेको छ ।
-
सामाजिक सञ्जालमा फैलाइएको “सुधन गुरुङ भारतीय नागरिक हुन्” भन्ने दाबी पूर्ण रूपमा झुटो हो ।
-
भारतका सिक्किम/दार्जिलिङमा रहेका अर्का अभियन्ता सुदन गुरुङ र नेपालका सुधन गुरुङ दुई फरक व्यक्ति हुन् । दुवै सामाजिक अभियानमा सक्रिय भएकाले नाम र काम मिल्दा भ्रम सिर्जना गरेर गलत प्रचार गरियो ।
-
भारतीय सुदन गुरुङले आफैं पनि फेसबुकमार्फत स्पष्ट पारेका छन् कि उनी नेपालमा भएको आन्दोलनसँग प्रत्यक्ष संलग्न छैनन् ।
-
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले नबुझेर वा राजनीतिक उद्देश्यले जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङलाई भारतीय भन्दै गलत सूचना फैलाएका छन् ।
निष्कर्ष
जेन-जी आन्दोलनका अगुवा सुधन गुरुङ बिल्कुलै नेपाली नागरिक हुन् । नेपालमा जेन-जी पुस्ताले गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनमा उनले ‘हामी नेपाल’ नामक संस्थामार्फत सहजीकरण गरिरहेका छन् । तर भारतीय सुदन गुरुङ नितान्त फरक व्यक्ति हुन् । नेपालमा भर्खरै भएको जेन-जी आन्दोलनसँग उनको कुनै पनि प्रत्यक्ष साइनो छैन । यद्यपि नेपाली मूलका भएकाले भारतीय सुधन गुरुङले नेपालको जेन-जी आन्दोलनको पक्षमा फेसबुक पोस्ट भने गरेका छन् । हालको राजनीतिक परिस्थितिलाई बिगार्न वा आफ्नो स्वार्थ पूर्ति गर्न वा अज्ञानतावश सामाजिक सञ्जालमार्फत जेन-जी अगुवा नेपाली सुधन गुरुङलाई भारतीय नागरिक भन्दै फैलाइएका पोस्ट पूर्णतः मिथ्या हुन् ।

प्रतिक्रिया
तपाईंले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु होला ।
पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १४:९
