close

सभामुख र राष्ट्रिय सभा अध्यक्षको वक्तव्य- संवैधानिक प्रक्रियामार्फतै निकास खोज्नू

टेकपाना टेकपाना

भदौ २७, २०८२ १५:१०

सभामुख र राष्ट्रिय सभा अध्यक्षको वक्तव्य- संवैधानिक प्रक्रियामार्फतै निकास खोज्नू

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभाका सभामुखले संयुक्त वक्तव्य जारी गर्दै विधिको शासन र संविधानवादबाट बाहिर नगई वर्तमान समस्याको समाधान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसँग आग्रह गरेका छन् । 

शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेन-जी पुस्ताले २३ र २४ भदौमा गरेको आन्दोलनका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन सबैलाई अपिल गरेका हुन् ।

आन्दोलनका क्रममा जनधनको क्षतिले स्तब्ध बनाएको भन्दै अध्यक्ष र सभामुखले सङ्घीय संसद भवन, सिंहदरबारस्थित संघीय संसद सचिवालय लगायत विभिन्न सरकारी कार्यालय, सरकारी तथा निजी आवास, सञ्चार गृह, व्यापारिक प्रतिष्ठान एवम् सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक दस्तावेजहरू नष्ट हुने गरी भएको आगजनी र तोडफोडले मर्माहत बनाएको बताएका छन् । 

“देशमा विद्यमान विषम परिस्थितिमा जनतामा निहित सार्वभौमसत्ता, नागरिक स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता र स्वाधीनतालाई शिरोपर गर्दै संवैधानिक प्रक्रियाबाटै निकास दिन सम्माननीय राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानुहुँदैन भन्नेमा हामी दृढ छौँ,” संयुक्त वक्तव्यमा लेखिएको छ । आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौं ।

पछिल्लो अध्यावधिक: भदौ २७, २०८२ १५:१०