जेनजी आन्दोलन: सिनेमा जस्तो लाग्ने यी विदेशीको भ्लग, पाउँदै छ विश्वभरबाट प्रशंसा
भदौ २८, २०८२ १५:२
काठमाडौँ । २३ र २४ भदौमा राजधानीसहित देशैभर भएको जेनजी आन्दोलन र त्यसले निम्याएका घटनाक्रमपछि अवस्था अहिले सामान्यतर्फ उन्मुख छ । नेपालले आफ्नो पहिलो महिला प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीलाई पाएको छ । योसँगै जेनजी आन्दोलनलाई लिएर विभिन्न कोणबाट समीक्षा भइरहेको छ । विशेषगरी सामाजिक सञ्जालमा यसबारे धेरैखाले प्रतिक्रिया आएका छन् ।
यसैबिच २४ भदौमा ‘वि हेट द कोल्ड’ (WeHateTheCold) नामक युट्युब च्यानलमा अपलोड भएको एक भिडिओ अहिले विश्वभर चर्चाको विषय बनेको छ । ‘The side of Nepal the media won't show you 🇳🇵’ शीर्षकको उक्त भिडिओ २३ मिनेट ९ सेकेन्ड लामो छ ।
ब्रिटिश ट्राभल भ्लगर ह्यारीले सामान्यतया मोटरसाइकलमा यात्रा गरेका भ्लगहरू बनाउँछन् । तर यो बेला उनी काठमाडौँको जेनजी आन्दोलनको मौकामा परे वा फसे । प्रदर्शनस्थलमै गएर भ्लग बनाउनु, त्यो पनि नेपालको इतिहासकै एक दस्तावेज हुने गरी भिडिओ तयार पार्नुलाई धेरैले ह्यारीको ठुलो अवसरका रूपमा वर्णन गरेका छन् ।
नेपाली जेनजी आन्दोलनको उग्र रूप र त्यसका अप्रत्याशित दृश्यहरूलाई एक विदेशी नागरिकको नजरबाट कसरी प्रस्तुत गरिएको छ भनेर पनि यो भ्लग हेर्न सकिन्छ । युट्युबमा १९ मिलियन बढी भ्युज बटुलिसकेको यस भिडिओका क्लिपहरू टिकटक, फेसबुक, इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालमा समेत भाइरल भइरहेका छन् ।
ह्यारी (भ्लगर) ले भिडिओको कमेन्ट सेक्सनमा आफूलाई पत्रकार नभई ‘क्यामेरा बोकेको एक मूर्ख (हुन सक्छ, केही हिम्मत भएको)’ भन्दै परिचय दिएका छन् । उनले थाइल्याण्डबाट बेलायतसम्म मोटरसाइकल यात्रा गर्ने क्रममा नेपालमा भएको कर्फ्युका कारण फसेको र आन्दोलनका दृश्यहरू आफ्नो लेन्सबाट कैद गरेको उल्लेख गरेका छन् ।

बानेश्वरको सडकमा उग्र आन्दोलनको आरम्भ
भिडिओको सुरुवात काठमाडौँको बानेश्वर क्षेत्रमा ११:१५ बजेतिरबाट हुन्छ । सुरुमा सडकमा मानिसहरूको सामान्य चहलपहल देखिन्छ । तर एकाएक तनाव बढ्दै जान्छ । अचानक मानिसहरू यताउता दौडन थाल्छन् । सडकमा टायर र अन्य सामग्री बालेर गरिएको आगजनीबाट निस्किएको कालो धुवाँ र आगोको लप्काले वातावरणलाई आतंकित बनाउँछ ।
भ्लगरले यसअघि कहिल्यै यस्तो दृश्य नदेखेको भन्दै आफ्नो त्रास र आश्चर्य व्यक्त गर्छन् । एक स्थानीय युवाले प्रहरी आउन लागेको र आन्दोलनकारीहरूलाई प्रहार गर्न सक्ने चेतावनी दिँदै भ्लगरलाई उक्त क्षेत्र छोड्न आग्रह गर्छन् ।
मानवीयता र क्रोधको मिश्रित भाव
भीडमा मिसिएर भ्लगर अगाडि बढ्दै जाँदा आन्दोलनको रफ्तार बढ्दै जान्छ । प्रहरीको बाक्लो उपस्थिति, अश्रुग्यासको प्रयोग र गोली चलेको आवाजले अवस्था भयावह बन्दै जान्छ । भ्लगर अश्रुग्यासको चपेटामा समेत पर्छन् । यसले गर्दा उनका आँखा पोल्न थाल्छन् । नाकमा तीव्र जलन महसुस गर्छन् ।
यस्तो कठिन परिस्थितिमा पनि नागरिकहरूको मानवीय पक्ष देखिन्छ । एक जनाले भ्लगरलाई पिउने पानी दिन्छन् । अर्कोले अश्रुग्यासबाट बच्न मद्दत गर्छन् । भीडमा कसैले उनको सामान चोरी गर्ने वा उनलाई नोक्सान पुर्याउने प्रयास गर्दैनन् । बरु उनको सुरक्षाको चिन्ता गर्छन् । यो दृश्यले भिडिओ हेर्ने उनका विदेशी दर्शकहरूलाई पनि निकै भावुक बनाएको छ ।
आन्दोलनकारी युवाहरूले भ्रष्टाचार र राजनीतिक बेथिति विरुद्ध चर्का नारा लगाउँछन् । उनीहरू ‘f*uck politician’ र ‘f*uck KP Oli' जस्ता आक्रोशपूर्ण नारा लगाउँदै अगाडि बढ्छन् । प्रहरी र आन्दोलनकारीबिचको झडपमा लाठीचार्ज, ढुंगामुढा र अश्रुग्यासको वर्षा हुन्छ । भ्लगरले आफूले देखेका दृश्यहरूलाई पागलपन र अविश्वसनीय भन्दै पटक-पटक वर्णन गर्छन् ।

संसद भवनमाथि धावा र व्यापक क्षति
भिडिओको सबैभन्दा नाटकीय क्षण तब आउँछ, जब आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ अगाडि बढ्छन् । उनीहरूले सडकमा राखिएका फलामका बारहरू उखेल्छन् र प्रहरीका गाडीहरू तोडफोड गर्छन् ।
भ्लगरले आफ्नो बाइकलाई सुरक्षित ठाउँमा राखेर पैदलै भीडसँगै अगाडि बढ्छन् । संसद भवनको मुख्य गेटमा पुग्दा ठुलो संख्यामा आन्दोलनकारीहरू भित्र प्रवेश गरिसकेका हुन्छन् । भवनका केही भागमा आगो लागिरहेको देखिन्छ । कालो धुवाँको ठुलो मुस्लो आकाशमा फैलन्छ । प्रहरीका दर्जनौं गाडीमा आगजनी गरिएको र केहीलाई पूर्ण रूपमा ध्वस्त पारिएको देखिन्छ ।
आन्दोलनकारीहरूले प्रहरीका हेल्मेट, ज्याकेट र लाठीहरू हातमा लिएर विजयको नारा लगाउँदै नाच्न थाल्छन् । एकजना युवाले त प्रहरीको राइफलसमेत बोकेर उभिएको देखिन्छ ।
यो क्षणमा भ्लगरले 'द होल बिल्डिङ इज बर्न थ्रु' भन्दै आफ्नो स्तब्धता व्यक्त गर्छन् । आन्दोलनकारीहरूले आफ्नो देशको झण्डा फहराउँदै, नाचगान गर्दै र एकअर्कालाई बधाई दिँदै भ्रष्टाचार विरुद्धको लडाइँमा विजय प्राप्त गरेको दाबी गर्छन् ।
एकजना युवक भ्लगरलाई भन्छन्, “नेपाल सरकार खराब छ । हामीले स्वेच्छाले यो गरेको होइन । हामीले यो गर्नुपरेको हो । किनभने उनीहरू यसका हकदार छन् । हामी नेपालको परिवर्तन चाहन्छौं ।”

ऐतिहासिक दस्तावेज र भ्लगको सराहना
भ्लगरले यसअघि कहिल्यै यस्तो प्रत्यक्ष दंगा वा विरोध प्रदर्शनको अनुभव नगरेको सुनाउँछन् । अनि, विश्वभरका दर्शकहरूले भ्लगरको साहस र जोखिम मोलेर सत्यलाई उजागर गर्ने उनको क्षमताको खुलेर प्रशंसा गरेका छन् । धेरैले उनलाई पत्रकार नभए पनि धेरै पेशेवर पत्रकारहरू भन्दा राम्रो रिपोर्टिङ गरेको बताएका छन् ।
भिडिओ हेरेर उनीहरूले नेपाली नागरिकको मानवीयता र एकताबद्ध भावनाको समेत सराहना गरेका छन् । अराजकताका बीचमा पनि एक विदेशीलाई सहयोग र सम्मान गरिएकोमा कमेन्ट बक्समा खुसी प्रकट गरिएको छ ।
उनको भिडिओ हेर्ने केहीले नेपालको इतिहासको पुस्तकमा भ्लगरको स्थान हुने र उनले पुरानो नेपालको अन्तिम पर्यटक र नयाँ नेपालको पहिलो पर्यटक बन्न पुगेको लेखेका छन् । भिडिओ एउटा भ्लग मात्र नभई नागरिकको आक्रोश, परिवर्तनको चाहना र एकताबद्ध भावनाको एक शक्तिशाली र अविस्मरणीय दस्तावेज बनेको भन्दै यतिबेला ह्यारीको सराहना भइरहेको छ ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ ९:४१
