प्रधानमन्त्रीले राजीनामा दिएको उपलक्ष्यमा १० हजार नगद दिने भन्दै बैंक अकाउन्ट ह्याक गर्ने ह्याकरको दाउ
भदौ २८, २०८२ १५:३६
काठमाडौँ । देशको विषम परिस्थिति र सुरक्षा निकायको व्यस्तताको फाइदा उठाउँदै अनलाइन ठगीमा संलग्न गिरोह सक्रिय भएको पाइएको छ । उक्त गिरोहले “प्रधानमन्त्रीले आन्दोलनका कारण राजीनामा दिएको र सोही विजयको उपलक्ष्यमा सबैलाई १० हजार रुपैयाँ नगद उपहार दिने” भ्रामक सन्देश फैलाएर बैंक खाता ह्याक गर्ने प्रयास गरिरहेको छ ।
सामाजिक सञ्जाल, विशेषगरी ह्वाट्सएपमा ‘edugote.org’ डोमेन प्रयोग गरिएको एक फिसिङ लिङ्क तीव्र रूपमा फैलिरहेको छ । उक्त लिङ्कको प्रचार गर्न जेनजी आन्दोलनमा सहभागी एक युवतीको तस्बिर प्रयोग गरिएको छ, जसको मुनि ‘जनरल जेड विजय समारोह, सबैलाई NPR १०,००० नगद उपहार’ भनेर लेखिएको छ ।
उक्त लिङ्क खोल्नासाथ प्रयोगकर्तालाई ‘के तपाईं नेपालको नागरिक हुनुहुन्छ ?’ जस्ता सामान्य प्रश्न सोधिन्छ र विभिन्न विकल्पमा क्लिक गर्न लगाइन्छ । साइबर सुरक्षा विज्ञका अनुसार यस्ता विकल्पमा क्लिक गर्दा प्रयोगकर्ताको डिभाइसमा मालवेयर वा भाइरस प्रवेश गराएर व्यक्तिगत तथा बैंकिङ विवरण चोरी हुन सक्ने उच्च जोखिम रहन्छ ।
सम्पूर्ण प्रक्रिया पूरा गरेपछि अन्त्यमा “तपाईंले १० हजार रुपैयाँ जित्नुभयो” भन्ने मेसेज देखाइन्छ र उक्त रकम प्राप्त गर्न लिङ्कलाई ह्वाट्सएपमार्फत १५ जना साथी वा समूहमा शेयर गर्नुपर्ने सर्त राखिन्छ । यही माध्यमबाट यो स्क्याम भाइरल भइरहेको छ ।
साइबर सुरक्षा विज्ञले यसलाई ‘सोसल इन्जिनियरिङ’ मा आधारित एक क्लासिक फिसिङ आक्रमणको संज्ञा दिएका छन् । उनीहरूले यस्ता अपत्यारिला र आकर्षक प्रस्तावहरूबाट बच्न, अपरिचित लिङ्कमा क्लिक नगर्न र कुनै पनि आधिकारिक घोषणाका लागि सम्बन्धित निकायको आधिकारिक वेबसाइट वा सञ्चारमाध्यममा भर पर्न सर्वसाधारणलाई आग्रह गरेका छन् ।
पछिल्लो अध्यावधिक: भदौ २८, २०८२ १५:३६
