close

बैंक लुटपाट गरेको भिडिओ खिचेपछि ‘भाग चाहिन्छ ?’ भन्दै लुटेराले भुईँमा फ्याँके नोटका बन्डल

टेकपाना टेकपाना

भदौ २९, २०८२ १५:३५

बैंक लुटपाट गरेको भिडिओ खिचेपछि ‘भाग चाहिन्छ ?’ भन्दै लुटेराले भुईँमा फ्याँके नोटका बन्डल

काठमाडौँ । ललितपुरको बगलामुखी निवासी ३७ वर्षीय सुरेश देउलाले २४ भदौ राति नयाँ बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकमा एक लुटेरा प्रवेश गरेको देखे । उनले तत्काल गोजीबाट फोन निकालेर भिडिओ खिच्न थाले ।

त्यहीबेला लुटेराहरूले देउलाले भिडिओ खिचिरहेको देखे र उनको नजिक आए । त्यसपछि उनीहरूले देउलाको अनुहारमा ५०० रुपैयाँका १० ओटा सुकिला बन्डल फ्याँक्दै भने, “ल, तँलाई पनि यही भाग चाहिएको होइन ?”

त्यसपछि लुटेरा फरार भए । देउलाले ती नोट भुईँबाट उठाए । पाँच सय रुपैयाँका १० बन्डल र अरु साढे १० हजार रुपैयाँ खुद्रा उनले फेला पारे ।

“उहाँलाई (देउलालाई) यो रकम के गरूँ, कहाँ बुझाऊँ भन्ने अन्योल भएछ,” जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले टेकपानासँग भने, “पछि उहाँले हाम्रो कार्यालयमा आएर उक्त रकम हस्तान्तरण गर्नुभयो ।”

एसपी जोशीका अनुसार देउलाले उपलब्ध गराएको भिडिओ फुटेजका आधारमा अनुसन्धान भइरहेको छ ।

प्रहरी परिसरले आइतबार ५०० रुपैयाँका १० बन्डल अर्थात् पाँच लाख रुपैयाँ र थप १० हजार ५०० रुपैयाँ राष्ट्रिय वाणिज्य बैंक, ललितपुर शाखाका कर्मचारीलाई बुझाएको छ ।

पछिल्लो अध्यावधिक: भदौ २९, २०८२ १५:३८