close

आगजनीले ध्वस्त भयो सीजी नेटको डेटा सेन्टर, सेवा क्रमिक रूपमा सञ्चालनमा आउँदै

टेकपाना टेकपाना

भदौ २९, २०८२ २३:३३

आगजनीले ध्वस्त भयो सीजी नेटको डेटा सेन्टर, सेवा क्रमिक रूपमा सञ्चालनमा आउँदै

काठमाडौँ । सतुङ्गलमा रहेको डेटा सेन्टरमा आगजनी हुँदा बन्द भएको चौधरी समूहको सीजी नेट क्रमश: चल्न थालेको छ ।

२४ भदौमा जेन-जी पुस्ताको आन्दोलनका क्रममा सतुङ्गलमा रहेको सीजी पार्कमा आन्दोलनकारीले तोडफोड र आगजनी गरेका थिए । सीजी नेटको डेटा सेन्टरसँगै इन्टरनेट सेवाका लागि आवश्यक पर्ने अधिकांश उपकरण त्यहीँ थियो । 

आगजनी र तोडफोडका कारण सीजी नेटको डेटा सेन्टर जलेर ध्वस्त भएको छ । साथै, फाइबर तार, राउटरसहितका उपकरण पनि जलेर काम नलाग्ने भएका छन् । बिहानदेखि इन्टरनेट सेवा सुचारु भएपनि शतप्रतिशत क्षमता र स्पिडमा चलेको भने छैन । आज र भोलिमा कम्पनीले इन्टरनेट पूर्वाधारलाई पुरानै अवस्थामा फर्काउने गरी काम गरिरहेको छ । सीजी नेटले इन्टरनेट सेवा सहज बनाउन देशैभर थुप्रै टोली बनाएर फिल्डमा प्राविधिकलाई खटाइसकेको छ ।

कम्पनीका मार्केटिङ  म्यानेजर प्रफुल्ल रिजालले आज बिहानदेखि सीजी नेट चल्न सुरु भएको जानकारी दिए । 

“डेटा सेन्टरमा एकदमै ठुलो क्षति पुग्यो । जसका कारण तत्कालै इन्टरनेट सुरु गर्न सक्ने अवस्था बनेन । हाम्रा प्राविधिकहरुले आफैंले पानीको ट्यांकर बोलाएर आगो नियन्त्रण गर्‍यौं । त्यसपछि मात्रै सेटअप गर्न थाल्यौं,” रिजालले भने । 

कम्पनीले सेवा अवरुद्ध भएको समय बराबरको क्षतिपूर्ति ग्राहकलाई उपलब्ध गराउने तयारीसमेत गरेको छ । 

आगलागीका कारण क्षति पुगेको सीजी नेटको कल सेन्टर सेवा भने सुचारु भइसकेको छ । सीजी नेटले कल सेन्टर अवरुद्ध हुँँदा च्याट सपोर्टबाट ग्राहकहरुको गुनासो सुनेर सम्बोधन गरेको थियो ।  सीजी नेटले बिलिङ प्रणालीलाई पनि सुचारु गरिसकेको छ । 

सतुङ्गलमा सीजी नेटको वेयर हाउस पनि थियो । जसमा थुप्रै राउटर, तारसहितका उपकरण भण्डारण गरेर राखिएको थियो । आगजनीले ती सबै सामग्री जलेर नष्ट भएको छ ।

उपकरण सबै नष्ट भएपछि त्यसको व्यवस्थापन गर्दै कम्पनीले मंगलबारदेखि नयाँ ग्राहक विस्तारको काम अघि बढाउँदैछ । 

सतुङ्गलको डेटा सेन्टर ध्वस्त भएपछि कम्पनीले नवलपुरमा रहेको अर्को डेटा सेन्टरमार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याउन थालेको थियो । तर, नवलपुर मात्रैको डेटा सेन्टरले चाप धान्न नसकेपछि सतुङ्गलको डेटा सेन्टर रिकभर गर्दै काठमाडौँको इन्टरनेट सेवालाई पुरानै स्थितिमा ल्याउने कोशिस भइरहेको छ । 

“हामीले इन्टरनेट सेवालाई पुनर्स्थापित गर्न एकदमै मेहेनत गरिरहेका छौँ । अहिलेसम्म कुनै पनि ग्राहकले इन्टरनेट सेवा छोडेर जानु भएको छैन । हाम्रो टिम सेवा पुरानै अवस्थामा फर्काउन क्रियाशील भएर लागिरहेको छ,” रिजालले भने ।

सीजी नेटमा गरिएको आगजनीले के कति क्षति पुग्यो भनेर मूल्यांकन भइनसकेको कम्पनीले जनाएको छ । आफूहरुको प्राथमिकता छिटोभन्दा छिटो इन्टरनेट सेवालाई पुरानै अवस्थामा फर्काउनु रहेको रिजालले बताए ।

पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ १०:२४