चार्जिङ केसमै माइक र टक बटन भएको इयरबड ल्याउँदै नथिङ, गर्ला त वायरलेस माइकको जस्तै काम ?
भदौ ३०, २०८२ १४:१
काठमाडौँ । प्रविधि कम्पनी नथिङले आफ्नो नयाँ वायरलेस इयरबड्स 'इयर ३' को पूर्ण डिजाइन सार्वजनिक गरेको छ । यसको चार्जिङ केसमा पहिलो पटक 'सुपर माइक' नामक माइक्रोफोन र एउटा छुट्टै 'टक' बटन राखिएको छ, जसले यसलाई अन्य इयरबड्सभन्दा फरक बनाउने देखिएको छ ।
कम्पनीले यही १८ सेप्टेम्बरमा यो नयाँ इयरबडबारे पूर्ण विवरण सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ इयर ३ इयरबड्स र यसको चार्जिङ केसको डिजाइन सन् २०२३ मा सार्वजनिक भएको इयर २ सँग मिल्दोजुल्दो देखिन्छ ।
तर, यस पटक चार्जिङ केस आंशिक रूपमा १०० प्रतिशत रिसाइकल गरिएको एनोडाइज्ड आल्मुनियमबाट बनेको छ । कम्पनीले टिकाउपन र प्रिमियम फिनिशका लागि इयर ३ मा धातुका पार्ट पुर्जाहरू प्रयोग गरिएको बताएको छ । साथै, इयरबड्समा 'अल्ट्रा-स्लिम डिजाइन'का लागि धातुको एन्टेनालाई रि-इन्जिनियरिङ गरिएको छ।
चार्जिङ केसमा रहेको माइक्रोफोन र 'टक' बटनको प्रयोग केका लागि हुन्छ भन्नेबारे भने अहिलेसम्म कुनै स्पष्ट जानकारी दिइएको छैन । यो स्मार्ट असिस्टेन्टलाई बोलाउनका लागि मात्र हो वा डीजेआई र इन्स्टा ३६० (Insta360) का वायरलेस माइकजस्तै चार्जिङ केसलाई नै वायरलेस माइकको रूपमा प्रयोग गर्न सकिन्छ भन्ने कुराको राज १८ सेप्टेम्बर १८ मा मात्र खुल्नेछ ।
नथिङले यसअघि आफ्नो एक्स अकाउन्टमार्फत इयर ३ का केही टिजर तस्बिरहरू सार्वजनिक गरे पनि ती तस्बिरहरूमा डिजाइनका केही स-साना विवरणहरू मात्रै देखिएका थिए । चार्जिङ केसमा माइक्रोफोन र 'टक' बटन थपिनुले यो प्रोडक्टमा केही नयाँ र रोचक सुविधा आउने सङ्केत मिलेको छ ।
नेपालमा सीजीले नथिङका उत्पादनको विक्री वितरण गर्दै आइरहेको छ । यो इयरबड सम्भवतः नेपाली बजारमा समेत उपलब्ध हुने अपेक्षा गरिएको छ ।
पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ १४:१
