युट्युबर भाग्य न्यौपानेले हटाए संसद्मा ३२ युवाको मृत्युदेखि जेल फुटाउने भ्रामक-उत्तेजक भिडिओ
भदौ ३०, २०८२ १५:४४
काठमाडौँ । ‘जेन-जी’ प्रदर्शनका क्रममा भ्रामक तथा उत्तेजक सूचना फैलाएको भन्दै चर्को आलोचना हुन थालेपछि युट्युबर भाग्य न्यौपानेले ती सबै भिडिओ सामाजिक सञ्जालबाट हटाएका छन् । गत २३-२४ भदौमा राजधानीसहित देशका विभिन्न स्थानमा भएको प्रदर्शनका विषयमा उनले आफ्ना फेसबुक पेज र टिकटक ह्यान्डलमा थुप्रै भ्रामक भिडिओ पोस्ट गरेका थिए ।
न्यौपानेमाथि प्रदर्शनका क्रममा विभिन्न मिथ्या सूचना फैलाएर भिडलाई उत्तेजित बनाएको आरोप लागेको छ । उनका भिडिओमा संसद् भवनभित्र ३२ जनाको शव भेटिएको, जेल तोडेर रवि लामिछानेलाई निकाल्नुपर्ने जस्ता भ्रामक र उत्तेजना फैलाउने दाबी गरिएका थिए ।
यति मात्र नभई उनले झापामा ४० केजी, ८० केजी हुँदै दुई बोरा सुन र चाँदी भेटिएको जस्ता आधारहीन सूचना राख्दै भिडिओ बनाएका थिए । त्यसैगरी काठमाडौँको हिल्टन होटेल र दमकको भ्यु टावरमा आगलागी हुँदा खुसियाली मनाउँदै भिडिओ बनाएको भन्दै उनको आलोचना भएको थियो ।
सामाजिक सञ्जालमा चर्को आलोचना र विवाद बढेपछि न्यौपानेले आफ्ना भिडिओ हटाएका हुन् । उनले आफ्नो बचाउमा ‘स्थानीय सञ्चारमाध्यममा आएका समाचारका आधारमा बोलेको’ भनी स्पष्टीकरण दिएका छन् । तर, भिडिओमा उनले कुनै सञ्चारमाध्यमलाई स्रोतका रूपमा उल्लेख गरेका थिएनन्, बरु आफैँले देखेको जसरी घटनाको विवरण प्रस्तुत गरेका थिए ।
पछिल्लो अध्यावधिक: भदौ ३०, २०८२ १५:४४
