स्पोटिफाईका नि:शुल्क प्रयोगकर्ताहरूका लागि खुसीको खबर: अब चाहेको गीत सिधै बजाउन पाइने
भदौ ३१, २०८२ १०:२१
काठमाडौँ । अब म्युजिक स्ट्रिमिङ एप स्पोटिफाईका नि:शुल्क प्रयोगकर्ताले मोबाइलमा आफूले चाहेको गीत सिधै खोजेर बजाउन पाउने भएका छन् । कम्पनीले एक महत्त्वपूर्ण अपडेटमार्फत विश्वव्यापी रूपमा यो सुविधा घोषणा गरेको हो ।
यो नयाँ सुविधाले पहिलेको 'शफल-वन्ली' (shuffle-only) अर्थात् गीतहरू अनियमित रूपमा मात्र बजाउन मिल्ने बाध्यतालाई हटाएको छ । कम्पनीले यी नयाँ सुविधाहरूलाई 'पिक एन्ड प्ले', 'सर्च एन्ड प्ले', र 'शेयर एन्ड प्ले' नाम दिएको छ ।
यसअघि नि:शुल्क प्रयोगकर्ताहरूले मोबाइलमा कुनै निश्चित गीत वा एल्बम छनोट गर्दा पनि गीतहरू शफलमा नै बज्थे र प्रति घण्टा सीमित पटक मात्र गीत स्किप गर्न पाउँथे । अब भने प्रयोगकर्ताहरूले आफूले चाहेको कुनै पनि गीत खोजेर बजाउन सक्नेछन् ।
साथै सामाजिक सञ्जालमा साथी वा कलाकारले शेयर गरेका गीतको लिङ्कबाट सिधै त्यही गीत सुन्न सकिनेछ । यो सुविधाले इन्स्टाग्राम जस्ता प्लेटफर्ममा शेयर गरिएका गीतहरूबाट प्रयोगकर्तालाई सिधै स्पोटिफाई एपमा ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।
यद्यपि, यो सुविधामा केही सीमितता भने रहेका छन् । प्रिमियम (शुल्क तिर्ने) प्रयोगकर्ताहरूले जस्तो पूर्ण स्वतन्त्रता भने नि:शुल्क प्रयोगकर्ताहरूलाई हुनेछैन । स्पोटिफाईका अनुसार मोबाइलका नि:शुल्क प्रयोगकर्ताहरूका लागि 'अन-डिमान्ड समय'को दैनिक सीमा तोकिएको छ । जब प्रयोगकर्ताहरूले त्यो दैनिक सीमा पूरा गर्छन्, उनीहरू फेरि प्रति घण्टा सीमित सङ्ख्यामा मात्र गीत स्किप गर्न सक्ने पुरानै प्रणालीमा फर्किनु पर्ने हुन्छ । कम्पनीले यो समय सीमा कति लामो हुनेछ भन्नेबारे स्पष्ट पारेको छैन । साथै, नि:शुल्क प्रयोगकर्ताहरूका लागि विज्ञापनहरू पनि कायमै रहनेछन् ।
यो कदम स्पोटिफाईको विज्ञापन व्यवसायलाई बढावा दिने रणनीतिको एक हिस्सा मानिएको छ । पछिल्ला महिनाहरूमा कम्पनीको विज्ञापन व्यवसायले सङ्घर्ष गरिरहेको छ । स्पोटिफाई आफ्नो कूल आम्दानीको २०% विज्ञापनबाट आम्दानी गर्न चाहेको छ । तर हाल यो केवल ११% मात्र छ । नि:शुल्क प्रयोगकर्ताहरूका लागि नयाँ सुविधाहरू थपेर स्पोटिफाईले आफ्ना नि:शुल्क प्रयोगकर्ताहरूको संलग्नता बढाउने र उनीहरूलाई थप विज्ञापनहरू देखाउने लक्ष्य राखेको छ । यसले प्रयोगकर्ताहरूलाई कुनै निश्चित गीत सुन्नका लागि युट्युब जस्ता प्रतिस्पर्धी सेवाहरू प्रयोग गर्ने आवश्यकता पनि कम गर्नेछ ।
स्पोटिफाईका अधिकांश प्रयोगकर्ताहरू नि:शुल्क सेवा प्रयोग गर्छन् । पछिल्लो त्रैमासिकको तथ्याङ्क अनुसार कम्पनीका कूल ६९ करोड ६० लाख मासिक सक्रिय प्रयोगकर्ताहरू छन् । जस मध्ये, ४३ करोड ३० लाख विज्ञापनसहितका नि:शुल्क ग्राहकहरू थिए भने २७ करोड ६० लाख प्रिमियम ग्राहकहरू थिए । प्रिमियम ग्राहकहरूका लागि भने लसलेस अडियो, एआई प्लेलिस्ट र मिक्स जस्ता विशेष सुविधाहरू कायमै रहनेछन् ।
पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १०:२१
