close

थापाथलीको डेटा सेन्टरमा आगजनी हुँदा एनसीएचएलको सेवा पनि प्रभावित‍

टेकपाना टेकपाना

भदौ ३१, २०८२ १३:४५

थापाथलीको डेटा सेन्टरमा आगजनी हुँदा एनसीएचएलको सेवा पनि प्रभावित‍

काठमाडौँ । जेन-जी आन्दोलनका क्रममा क्लाउड हिमालयको डेटा सेन्टरमा क्षति पुग्दा नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)को सेवा पनि प्रभावित भएको छ । थापाथलीमा रहेको सेन्ट्रल बिजनेस पार्कमा आगजनी हुँदा त्यही भवनमा रहेको क्लाउड हिमालयको डेटा सेन्टरमा क्षति पुगेको थियो । 

सो डेटा सेन्टरमा एनसीएचएलको प्राइमरी सर्भर रहेकोले डिजास्टर रिकभरीका क्रममा अन्य डेटा सेन्टरमार्फत सेवा सुरु गर्न केही समय लागेको थियो । यसकारण एनसीएचएलको सेवा सोमबार अवरुद्ध भएको हो ।

एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नीलेशमान सिंह प्रधानका अनुसार सोमबार सेवामा समस्या देखिए पनि मंगलबार बिहानदेखि सहज रूपमा सञ्चालनमा आइसकेको छ ।

“सेन्ट्रल बिजनेस पार्कमा क्षति पुगेपछि हाम्रो सेवामा सोमबारसम्म समस्या देखिएको थियो । तर डिजास्टर रिकभरीको माध्यमबाट अन्यत्रबाट सर्भर सञ्चालन गरेपछि मंगलबार बिहानदेखि समस्या समाधान भएको छ,” प्रधानले टेकपानासँग भने ।

डेटा सेन्टरमा क्षति हुँदा एनसीएचएलका कर्पोरेट पे, फन्ड ट्रान्सफरलगायतका प्रमुख सेवामा असर परेको थियो । प्रयोगकर्ताले कनेक्ट आईपीएस, नेपालपे इन्स्ट्यान्टलगायत सेवामार्फत रकम पठाउँदा प्राप्तकर्ताको खातामा रकम नपुगेको गुनासो गरेका थिए ।

पठाइएको रकम केही समयपछि प्रयोगकर्ताको खातामा रिफन्ड भइरहेको पनि जानकारी दिइएको छ ।

पछिल्लो अध्यावधिक: भदौ ३१, २०८२ १४:८