सञ्चार मन्त्रालयको वेबसाइटको कर्सेलमा जताततै पूर्वमन्त्री गुरुङकै फोटो, छैन अपडेट
असोज ३, २०८२ १२:४६
काठमाडौँ । केपी शर्मा ओली नेतृत्वको सरकारले राजीनामा दिएर नयाँ सरकार गठन भइसक्दा समेत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट राम्रोसँग अपडेट गरिएको छैन । जेन-जी आन्दोलनका क्रममा २४ भदौमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै उक्त मन्त्रीपरिषद्का सम्पूर्ण मन्त्रीको पद समेत गइसकेको छ ।
तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइट खोल्दा भने जताततै पूर्वमन्त्री पृथ्वीसुब्बा गरुङकै भद्दा फोटो देखिने गरी राखिएको कर्सेल (इमेज स्लाइडर तथा स्लाइडशो ब्यानर) राखिएको छ । वेबसाइटको होम पेजको स्लाइडमा ६ वटा फोटोहरू समावेश छन् । जसमध्ये पाँच वटा मन्त्री गुरुङका छन् भने एउटा मन्त्रालय भवन देखिने फोटो छ ।
झट्ट मन्त्रालयको वेबसाइट खोल्दा लाग्छ, गुरुङ अझै सञ्चार मन्त्रालयकै नेतृत्वमा छन् । यद्यपि उनको नाम भने वेबसाइटबाट हटाइएको छ । जसमा प्रधानमन्त्री सुशीला कार्कीलाई प्रधानमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री भनेर उल्लेख गरिएको छ ।
गुरुङ तिनै मन्त्री हुन्, जसले सामाजिक सञ्जाल प्रतिबन्धका लागि प्रमुख भूमिका खेलेका थिए । सरकारको यही निर्णयले जेन-जी आन्दोलनको जन्म भयो र सरकार नै अपदस्त हुन पुग्यो ।
पछिल्लो अध्यावधिक: असोज ३, २०८२ १२:४६
