सञ्चार मन्त्रीले सुरु गरे ‘सुझाव बैंक’, ईमेल र ह्वाट्सएपबाट सिधै नागरिकका सल्लाह संकलन हुने
असोज १२, २०८२ १७:५
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले ‘सुझाव बैंक’ सुरु गरेका छन् । मन्त्रालयमा जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक रहेको महसुस गरेपछि यो व्यवस्था सुरु गरेको मन्त्री खरेलले जनाए ।
“मैले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेपछि बुझें- मन्त्रालयले जनताको आवाज सुन्ने र त्यसलाई प्राथमिकतामा राख्ने संस्कार विकास गर्न आवश्यक छ । त्यसैले मैले तपाईंहरूका समस्या, सुझाव र सल्लाह संकलन गर्न ‘सुझाव बैंक’ स्थापना गरेको छु,” उनले फेसबुकमा लेखेका छन् ।
मन्त्री खरेलले नागरिकलाई आफ्ना समस्या र सल्लाहहरू ईमेल र ह्वाट्सएपमार्फत पठाउन आग्रह गरेका छन् । सुझावहरू पठाउनका लागि [email protected] ईमेल ठेगाना र ९८५१४१०१०१ ह्वाट्सएप नम्बर तोकिएको छ ।
फेसबुक पोस्टमा उनले निर्वाचन गराउने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सरकारका प्रमुख प्राथमिकता भएकोले समय अभावका कारण सबै नागरिकसँग भेटघाट गर्न असम्भव हुनसक्ने उल्लेख गरेका छन् ।
“म सकेसम्म धेरै जनासँग भेटघाट गर्ने र समस्या सुन्ने एवं ग्रहण गर्ने योजनामा छु । तर निर्वाचन गराउने, सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सरकारका प्रमुख प्राथमिकता भएकोले कतिपय अवस्थामा समय अभावका कारण भेटघाट असम्भव हुनसक्छ,” उनले लेखेका छन् ।
पछिल्लो अध्यावधिक: असोज १२, २०८२ १७:११
