काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्र स्थापना भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सोमबार मन्त्रालय भित्रै केन्द्रको उद्घाटन गरेका हुन् ।
मन्त्रालय भवनको सानो कोठाबाट एआई केन्द्रको सुरुआत गरिएको मन्त्री खरेलले जानकारी दिए । "यो सुरुआत हो । यसलाई निरन्तर रूपमा अघि बढाउँदै लैजाने छौं । यहीबिच एआई नीति बनिसकेको छ । हामीले एआई काउन्सिल गठन गरिसकेका छौं । सानोस्तरमा भएपनि हामीले आज एआई सेन्टरको स्थापना गरेका छौं । आजैबाट एआई सेन्टरले आफ्नो काम सुरु गर्नेछ," मन्त्री खरेलले भने ।
नेपाललाई अब एआईसहितको डिजिटल नेपालको युगमा अघि बढाउने दाबी गर्दै मन्त्री खरेलले त्यसका लागि यो पहिलो पाहिला भएको बताएका छन् ।
जेन-जी आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सृजना, नवप्रवर्तनलाई डिजिटल रूपान्तरणले मात्रै समेट्ने भएकाले त्यसका लागि महत्त्वपूर्ण एआईमा काम गर्न केन्द्र स्थापना गरेको उनले बताए ।
राष्ट्रिय एआई नीतिमा एआई केन्द्र गठनसम्बन्धी व्यवस्था छ । एआईको अध्ययन, अनुसन्धान, विकास र प्रयोगलाई प्रवर्धन, प्रोत्साहन, सहजीकरण र नियमन गर्नका लागि सञ्चार मन्त्रालयअन्तर्गत केन्द्र स्थापना गर्ने नीतिमा उल्लेख छ । गत साउनमा मन्त्रिपरिषद् बैठकले राष्ट्रिय एआई नीति स्वीकृत गरेको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक २४, २०८२ १६:१२
