close

दशैँ बिदामा गितार बजाउन सिक्ने कि ? हेर्नुहोस् यी युट्युब च्यानल

टेकपाना टेकपाना

असोज १४, २०८२ १६:३

एआई सिर्जित तस्बिर एआई सिर्जित तस्बिर

काठमाडौं । दशैंको लामो बिदामा प्रायः धेरैजसो मानिसले पारिवारिक भेटघाटमा समय बिताउने गर्छन् । तर यसै अवसरलाई आफूलाई केही नयाँ सिक्न उपयोग गर्न सकिन्छ । तीमध्ये गितार बजाउन सिक्नु रमाइलो र उपयोगी विकल्प हुन सक्छ ।

गितार भए पनि बजाउन नजाने चिन्ता लिनु पर्दैन । युट्युबमा धेरै नेपाली गितारवादकहरूले सजिलो भाषामा सिकाउने भिडिओ अपलोड गरेका छन् । गुगल वा युट्युबमा सामान्य खोज गर्दा आधारभूतदेखि उन्नत स्तरसम्मका भिडिओ सहजै भेटिन्छन् ।

भिडिओको नियमितता, गुणस्तर, भ्युज, कमेन्ट र सब्सक्राइबरलाई आधार मानेर केही उत्कृष्ट नेपाली युट्युब च्यानलको सूची यसप्रकार छ :

गोपाल रसाइली (Gopal Rasaili)

नेपालका चर्चित गितारवादक हुन्, गोपाल रसाइली । उनले आफ्नो नामबाट खोलेको च्यानलमा गितार सम्बन्धी भिडिओ हाल्ने गरेका छन् । च्यानलमा उनले गितार लेसनबाहेक सङ्गीत सम्बन्धीकै अन्य भिडिओ राखिरहेका हुन्छन् । ती हेर्दा पनि गितार बजाउन खोजिरहेकालाई फाइदा नै हुन्छ ।

उनको च्यानलमा अहिलेसम्म १८५ ओटा भिडिओ छन् ।  गितारको आधारभूत ज्ञान लिन यो च्यानल उपयोगी हुन सक्छ ।

गितार शप (Guitar Shop)

संगीत सामग्री विक्रेताको रूपमा परिचित गितार शपले पनि आफ्ना च्यानलमार्फत नियमित रूपमा गितारसम्बन्धी भिडिओ अपलोड गर्छ । प्रायः हरि कुँवर प्रस्तुत हुने यी भिडिओमा गितार लेसनसँगै विभिन्न उपकरण र डिभाइसको जानकारी, समीक्षा तथा कलाकारहरूसँगको कुराकानीसमेत पाइन्छ ।

कुश प्लेज (Kush Plays)

भारतको सिलिगुडीमा बसिरहेका कुशल लामाले चलाइरहेको च्यानल हो, कुश प्लेज । घर भारतमा भए पनि उनले नेपाली भाषाका गीतहरू गितारमा बजाउन सिकाइरहेका हुन्छन् । च्यानल सुरु गर्दै गर्दा कभरहरू बजाए पनि उनले त्यही समयदेखि नै गितार लेसनको भिडिओ हाल्दै आएका छन् । अहिलेसम्म उनको च्यानलमा कर‍िब साढे सात हजार बढी भिडिओ अपलोड भइसकेका छन् ।

उनले गितार बजाउन मात्र नभएर गितारको सैद्धान्तिक पक्षहरू पनि सिकाएका छन् । त्यस्तै ‘कराओके’ (karaoke) पनि उपलब्ध छ । यसले गर्दा गितारसँगै तपाईंले गीत पनि गाउन सक्नुहुन्छ । उनले पनि नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका गीत बजाउन सिकाएका छन् ।

नेपाल गितार ट्युटोरियल (Nepal guitar Tutorial)

सुनिल शाक्यको नेतृत्वमा सञ्चालन भइरहेको यो च्यानल गितार सिक्न चाहनेका लागि अर्को राम्रो युट्युब च्यानल हो । यस च्यानललाई ‘एनजीटी’ नामले पनि चिनिन्छ । च्यानलमा सङ्गीतका सिद्धान्त, गितार ट्युटोरियल, रिभ्यु, कराओके , भ्लग, रियाक्सन भिडिओ अपलोड हुने गर्छ ।

सुरुमा यस्ता सबै कुरा एकै ठाउँमा भन्ने तपाईंलाई लाग्न सक्छ । तर यो च्यानल गितार बजाउन सिक्ने मात्र नभइ एउटा गितारवादकको जीन्दगी हेर्ने च्यानल पनि हो । च्यानलमा गितार बजाउन सिकाउने भिडिओको संख्या कम भए पनि शाक्यले सकभर सङ्गीत सिद्धान्त पनि सिकाउन खोजिरहेका हुन्छन् । यसकारण गितार बजाउने कलासँगै सैद्धान्तिक ज्ञान पनि बलियो बनाउन यो च्यानल राम्रो विकल्प हुन सक्छ ।

नेपाली ई-कर्ड्स (Nepali E-chords) 

सम्भवत: युट्युबमा गितार बजाउन सिकाउने पहिलो नेपाली च्यानल हो,  नेपाली ई-कर्ड्स । यस च्यानल अहिले सक्रिय छैन । तर च्यानलमा गितार बजाउन सिकाउने भिडिओ प्रशस्तै छन् । केही वर्षअघिसम्मका गीतहरू बजाउन सिक्न यो च्यानल राम्रो विकल्प बन्न सक्छ ।

विवेकएसी अफिसियल (bibekac OFFICIAL)

गितारवादक विवेक अछामीले यो च्यानलमा विगत सात वर्षदेखि नियमित रूपमा गितार बजाउन सिकाउँदै आएका छन् । अहिलेसम्म उनको च्यानलमा १५०० भन्दा बढी भिडिओ अपलोड भइसकेका छन् । उनले नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका गीतमा गितार बजाउन सिकाएका छन् । च्यानलमा विभिन्न गायक, भाषा, उत्सव आदिका आधारमा उनले प्लेलिस्ट समेत बनाएका छन् ।

त्यस्तै गितार सोलो, युकेलीली समेत उनले बजाउन सिकाएका छन् । यसका साथै उनले भिडिओ पनि नियमित रूपमा अपलोड गरिरहेका हुन्छन् । यसले गर्दा गितार बजाउन भर्खर सिक्दै गरेकादेखि गितार हल्का जान्नेसम्मका लागि यो च्यानल उपयुक्त हुन सक्छ ।

पछिल्लो अध्यावधिक: असोज १४, २०८२ १६:३