close

एलन मस्कले सब्स्क्रिप्सन रद्द गर्न आह्वान गरेपछि नेटफ्लिक्सलाई २५ अर्ब घाटा

टेकपाना टेकपाना

असोज २०, २०८२ १२:२१

एलन मस्कले सब्स्क्रिप्सन रद्द गर्न आह्वान गरेपछि नेटफ्लिक्सलाई २५ अर्ब घाटा

काठमाडौँ । अर्बपति उद्यमी एलन मस्क ओटीटी प्लेटफर्म नेटफ्लिक्सको विरोधमा उत्रिएका छन् । प्लेटफर्ममा ‘वोक पूर्वाग्रह’ र ‘एलजीबीटीक्यू+’ पात्रको समावेशीकरण बढेको आरोप लगाउँदै मस्कले आफ्ना समर्थकलाई नेटफ्लिक्सको सब्स्क्रिप्सन रद्द गर्न आह्वान गरेका हुन् ।

एक्समा २२ करोड बढी फलोअर भएका मस्कले गत मङ्गलबारदेखि आफ्ना समर्थकलाई बारम्बार नेटफ्लिक्स छोड्न आग्रह गरेका छन् । पछिल्लो छ दिनमा मात्रै उनले यस्तो आह्वानसहितका पोस्टहरू कम्तीमा ३० पटकभन्दा बढी पोस्ट वा रिपोस्ट गरेका छन् ।

मस्कको यो अभियान मंगलबार सुरु भएको हो । उनले सबैभन्दा पहिले ‘लिब्स अफ टिकटक’ नामक अकाउन्टबाट पोस्ट गरिएको नेटफ्लिक्सको शो ‘डेड एन्ड: प्यारानर्मल पार्क’ को क्लिप कोट रिपोस्ट गर्दै ‘यो ठिक होइन’ लेखेका थिए । उक्त क्लिपमा शोको एक पात्र बार्नीले आफू पारलैङ्गिक (ट्रान्सजेन्डर) भएको बताउँछन् ।

‘लिब्स अफ टिकटक’ को पोस्टमा लेखिएको थियो, “नेटफ्लिक्सको यो शोले बालबालिकामाझ पारलैङ्गिकताको प्रचार गरिरहेको छ । यो शो सात वर्षका बालबालिकाका लागि भनेर प्रचार गरिएको छ ।” वास्तवमा नेटफ्लिक्सले यस शोलाई ‘टिभी-वाई सेभेन’ (TV-Y7) रेटिङ दिएको थियो । यसको अर्थ सात वर्ष वा सोभन्दा माथिका दर्शकका लागि उपयुक्त हो । यो शो सन् २०२२ मा २० एपिसोड चलेपछि अर्को वर्ष २०२३ मा नेटफ्लिक्सले रद्द गरिसकेको छ र हाल यसको कुनै प्रचारप्रसार पनि गरिरहेको छैन ।

बुधबार मस्कले एउटा मिम शेयर गर्दै लेखे, “आफ्ना बालबालिकाको स्वास्थ्यका लागि नेटफ्लिक्स रद्द गर्नुहोस् ।” उक्त मिममा नेटफ्लिक्सको ‘पारलैङ्गिक वोक एजेन्डा” लाई एउटा ‘ट्रोजन हर्स’ को रूपमा देखाइएको थियो, जसलाई ‘तपाईंका बालबालिका’ लेखिएको महलमा प्रवेश गराइँदै थियो ।

सीएनबीसीका अनुसार मस्कको पोस्टपछि ४९० अर्ब डलर मार्केट क्याप भएको नेटफ्लिक्सको शेयरमा एक हप्तामा पाँच प्रतिशतले गिरावट आएको छ । यो भनेको झन्डै २५ अर्ब डलर हो । अर्थात् मस्कको पोस्टपछि नेटफ्लिक्सको शेयर झन्डै २५ अर्ब डलरले घटेको छ ।

मस्कको यस अभियानका पछाडि मस्कको व्यक्तिगत जीवनको पाटो पनि जोडिएको छ । उनकी एक पारलैङ्गिक छोरी भिभियन विल्सनले सार्वजनिक रूपमै आफ्नो बुबाको पारलैङ्गिक-विरोधी अभियानको आलोचना गरेकी छिन् । सन् २०२२ मा आफ्नो नाम र लिङ्ग कानुनी रूपमा परिवर्तन गर्न निवेदन दिँदै विल्सनले लेखेकी थिइन्, “म अब मेरो जैविक बुबासँग कुनै पनि रूपमा बस्न वा सम्बन्ध राख्न चाहन्नँ ।”

त्यस लगत्तै मस्कले एक अन्तर्वार्तामा आफ्नो छोरा गुमाएको र छोरा विल्सनलाई ‘वोक माइन्ड भाइरस’ ले मारेको दाबी गरेका थिए ।

यता नेटफ्लिक्सले भने मस्कको यो अभियानमा कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन । रोचक कुरा के छ भने नेटफ्लिक्सले बारम्बार आफ्नो प्लेटफर्ममा भएका विवादास्पद सामग्रीको बचाउ गर्न ‘अभिव्यक्ति स्वतन्त्रता’ को तर्क दिने गरेको छ । सन् २०२१ मा कमेडियन डेभ च्यापेलको पारलैङ्गिक-विरोधी टिप्पणीलाई लिएर कर्मचारीले विरोध गर्दा पनि नेटफ्लिक्सले उनको पक्ष लिएको थियो ।

पछिल्लो अध्यावधिक: असोज २०, २०८२ १२:२१