फ्याक्टचेकः रवि लामिछानेले गृहमन्त्री ओम प्रकाश अर्याललाई थर्काएको भन्दै भ्रामक भिडिओ भाइरल
असोज २१, २०८२ १६:५८
काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जाल फेसबुक र टिकटकमा पूर्वगृहमन्त्री रवि लामिछाने र वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई जोडिएको भिडिओ भाइरल भइरहेको छ । त्यसमा लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा मेनपावर सञ्चालकको रूपमा विदेश पठाउने भन्दै ठगी गरेपछि ओमप्रकाश अर्याललाई थर्काएको दाबी गरिएको छ ।
तर, टेकपानाको फ्याक्टचेकले रवि लामिछानेसँग बहस गर्ने ती मेनपावर सञ्चालक वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल नभई ‘साम इन्टरनेसनल’ मेनपावरका सञ्चालक ओमप्रकाश विश्वकर्मा रहेको फेला पारेको छ ।
दाबी
फेसबुकमा ‘कमल पुजारा’ नामका एक प्रयोगकर्ताले ६ अक्टोबर २०२५ दिउँसो १:५५ बजे एउटा भिडिओ पोस्ट गरेका छन् । उक्त भिडिओको क्याप्सनमा ‘अहिले को गृहमत्री भण्डाफोर यसरी गरेका थिए रविले’ लेखिएको छ ।
भिडिओमा पूर्वगृहमन्त्री रवि लामिछानेले सञ्चारकर्मी रहँदा सञ्चालन गर्ने ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको १ मिनेट ५० सेकेन्ड लामो क्लिप राखिएको छ ।
त्यसमा रवि लामिछाने भन्छन्, “ओमप्रकाश जी, नमस्ते स्वागत छ तपाईंलाई ।”
अर्का व्यक्तिले जवाफ दिन्छन्, “हजर, नमस्कार हजुर ।”
लगतै भिडिओको स्क्रिनमा बायाँपट्टि रवि लामिछाने, बीचमा फोन कलको चिह्न र दायाँपट्टि वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई देखाइएको छ । त्यसमा अर्याल कानमा हेडफोन र अगाडि माइक राखेर पोडकास्टमा बोलिरहेको जस्तो देखिन्छन् ।
रवि लामिछाने सोध्छन्, “गुण्डा पाल्नुहुन्छ तपाईं, मेनपावरमा ?”
जवाफमा ओमप्रकाश अर्यालले भनेको जस्तो देखाइन्छ, “होइन सर, त्यस्तो काम गरिएको छैन हजुर ।”
रवि लामिछाने फेरि सोध्छन्, “तपाईंको मेनेजरले १५ जना गुण्डा पालेको छु भन्नु भएको छ, के हो यो ?”
त्यसपछि ओमप्रकाश अर्याल जवाफ दिए जस्तो देखाइन्छ, “त्यो गलत हो हजुर । कानुनभन्दा बाहिर गएर के के दिमाखमा आयो त्यो त्यो बोलिएको छ । म अहिले काठमाडौँभन्दा बाहिर छु । म काठमाडौँ फिर्ता भइसकेपछि मेरो वकिलसँग सल्लाह गरेर उहाँलाई त्यही अनुसारको कारबाही हुन्छ ।”
रवि लामिछाने फेरि सोध्छन्, “होस् त तपाईंको पनि ठेगानमा रहेनछ नि । दुई दिनपछि उडाउँछु भनेर मेरो प्रोड्युसर दीपक बोहोरासँग तपाईंले कुरा गर्नु भएको एक हप्ता भइसक्यो । भिसा सिद्धिएको दुई गते, चार गते श्रम स्वीकृति दिने ठाउँमा को मान्छे छ तपाईंको ? कसरी दियो तपाईंको, भिसा ३ गते सिद्धिने, ४ गते श्रम स्वीकृति कसरी पाउन सक्नुहुन्छ ? कोसँग साँठगाँठ छ ?”
यसको जवाफमा ओमप्रकाश अर्यालले, प्राविधिक कारणले भिसा सकिएपछि पनि श्रम स्वीकृति पाउन सकिने कानुनी व्यवस्था रहेको बताउँदै रविसँग गएका पीडितले किन समयमै श्रम स्वीकृति पाउन सकेनन् भन्नेबारे स्पष्टीकरण दिएको देखाइन्छ ।
फेरि रवि लामिछाने भन्छन्, “ओमप्रकाश जी, ओमप्रकाश जी, तपाईंले दुई दिनपछि उडाउँछु भनेको मान्छे अहिलेसम्म उडेको छैन । टेलिभिजनमा जाने हो भनेर तपाईंले थर्काइरहनु भएको छ । एउटा गरिब नेपाली जसलाई उडाएर तपाईंले आफ्नो व्यवसाय सञ्चालन गरिरहनु भएको छ, ठिक छ, भेरी गुड । गर्नुस्...व्यवसाय चलाउनुस्…एक त फ्रि…”
यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १६ हजार बढी रियाक्सन, ७८७ कमेन्ट, २३०० भन्दा बढी शेयर र झन्डै चार लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ लिङ्क र स्क्रिनरेकर्ड ।
अनुसन्धान
रवि लामिछानेले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालले सञ्चालन गरेको मेनपावरको पर्दाफास गरेको दाबी सहितका अन्य पोस्ट पनि भाइरल भइरहेका छन् । टिकटकमा पनि तिनै कमल पुर्जाले सोही १ मिनेट ५० सेकेन्डको क्लिप राखेका छन् । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा १५ हजार बढी लाइक, ६९७ कमेन्ट, ११ सय बढी सेभ र तीन लाख भ्युज गएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
टिकटकमा लोकेन तामाङ नाम भएका प्रयोगकर्ताले ३० सेकेन्डको क्लिप राखेका छन् । यसमा पनि ‘नमस्ते ओम प्रकाश जी…’बाट सुरु गरिएको छ । यसमा भने गृहमन्त्री ओमप्रकाश अर्याललको फरक भिडिओ राखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त भिडिओमा छ हजार बढी लाइक, १८२ कमेन्ट र डेढ लाख बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
टिकटकमा ‘म त आंन्टी लवर’ नामको प्रयोगकर्ताले त्यही आवाजमा फोटो राखेर भिडिओ बनाइ पोस्ट गरेका छन् । क्याप्सनमा ‘यसले रविलाई यसकारण जेलमा फसाएको रहेछ’ लेखिएको छ । यो सामग्री तयार पार्दासम्म उक्त पोस्टमा झन्डै १० हजार लाइक, ९२४ कमेन्ट र एक लाख ६५ हजार बढी भ्युज आएको छ । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ भिडिओ र स्क्रिनशट ।
फेसबुकमा ‘अहिले को गृहमत्री को भण्डाफोर यसरी गरेका थिए रविले,’ खोज्दा सुजन थापा नामका प्रयोगकर्ताले सोही भिडिओ राखेको फेला पर्यो । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ र स्क्रिनशट ।
त्यस्तै चक्र साउद नामका प्रयोगकर्ताले पनि त्यही भिडिओ राखेका छन् । हेर्नुहोस् ओरिजिनल भिडिओ, आर्काइभ र स्क्रिनशट ।
फेसबुक र टिकटकमा यस्ता सयौं भिडिओ राखिएका छन् जसले वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई मेनपावर सञ्चालकका रूपमा देखाएका छन् भने उनी ठग भएको दाबी गरिरहेका छन् ।
भिडिओको तथ्यजाँच गर्ने क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालको ओठको चाल मिलेको देखिंदैन । अर्यालको ब्याकग्राउन्डमा ‘मेरो अड्डा’को लोगो प्रष्ट देखिन्छ । मेरो अड्डा नामक लिगल टेक कम्पनीको युट्युब च्यानलमा ‘ओमप्रकाश अर्याल सर्च गर्दा’ २१ फेब्रुअरी २०२३ मा ‘Law कुरा गरौँ || Case #002 || Adv. Om Prakash Aryal || Law Kura Garau (Podcast)’ शीर्षकमा अपलोड भएको पोडकास्ट फेला पर्यो । भाइरल भिडिओमा प्रयोग भएको क्लिप यही कार्यक्रमबाट लिएर जोडिएको पुष्टि हुन्छ ।
अब रवि लामिछानेले ‘ओम प्रकाश जी’ भनेका व्यक्ति को हुन् भन्नेतर्फ लागौं । भिडिओमा स्पष्ट रूपमा ‘न्युज २४’को लोगो देखिन्छ । यति भएपछि यो रवि लामिछाने न्युज २४ टेलिभिजनमा कार्यरत हुँदा सञ्चालन गरेको कार्यक्रमबाट लिइएको क्लिप हो भन्ने स्पष्ट भयो । पृष्ठभूमिमा रहेको ‘सिधा कुरा जनतासँग’ लेखिएको भित्ताको रङ, रवि लामिछानेले लगाएको कोट, सर्ट र उनले समाएको पेनलाई आधार बनायौं । र, न्युज २४ नेपालमा अपलोड भएका रवि लामिछानेले सञ्चालन गरेका कार्यक्रमको भिडिओ हेर्यौं ।
उनले त्यही कोट र सर्ट लगाएका केही भिडिओ फिल्टर गर्यौं । र, अन्तिममा ‘दुवईबाट देश चलाउछु भन्नेलाई रविले लाईभ झपारे । बाटो छैन, गाउँपालिकाले माग्यो गाडी !’ शीर्षकमा १७ फेब्रुअरी २०१८ मा अपलोड भएको भिडिओ फेला पर्यो । उक्त भिडिओको ३६ मिनेट ३२ सेकेन्डमा लामिछानेले ओमप्रकाश विश्वकर्मासँग कुरा गरेका थिए ।
यसबाट के थाहा भयो भने उक्त डेढ मिनेटको क्लिप यही भिडिओको ३३ः३२ सेकेन्डपछिको हो । स्क्रिनमा ओमप्रकाश विश्वकर्मा, सञ्चालक साम इन्टरनेस्नल’ लेखिएको र त्यसभन्दा तल राखिएको उनको फोटो हटाएर वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको फोटो राखिएको स्पष्ट हुन्छ । यी विभिन्न तथ्यका आधारमा रवि लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रम सञ्चालन गर्ने क्रममै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्यालको मेनपावर व्यवसायको धन्दा पर्दाफास गरेको भन्ने दाबी भ्रामक भएको पुष्टि हुन्छ । नाम मिलेको भरमा अहिलेका गृहमन्त्रीलाई जोडेर भ्रम फैलाइएको हो ।
दाबी
पूर्व गृहमन्त्री रवि लामिछानेले ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा मेनपावर सञ्चालकको रूपमा ठगी गरेको भन्दै वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई थर्काएका थिए । त्यसैको बदलामा अहिले गृहमन्त्री अर्यालले लामिछानेलाई हिरासतमै राखेरै प्रतिशोध साँधेका हुन् ।
दाबीकर्ता
कमल पुजारा (फेसबुक र टिकटक), लोकेन तामाङ (टिकटक),‘म त आंन्टी लवर’ (टिकटक), सुजन थापान (फेसबुक), चक्र साउद (फेसबुक) लगायतका सामाजिक सञ्जाल प्रयोगकर्ता ।
तथ्य
रवि लामिछानेसँग बहस गर्ने व्यक्ति वर्तमान गृहमन्त्री ओमप्रकाश अर्याल होइनन् उनी ‘साम इन्टरनेसनल’ मेनपावरका सञ्चालक ओमप्रकाश विश्वकर्मा हुन् । यो घटना १७ फेब्रुअरी २०१८ मा प्रसारण भएको ‘सिधा कुरा जनतासँग’को १८६ औं श्रृङ्खलाको हो । त्यस्तै भाइरल भिडिओमा प्रयोग गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालको दृश्य २१ फेब्रुअरी २०२३ मा ‘मेरो अड्डा’ नामक युट्युब च्यानलमा अपलोड भएको पोडकास्टबाट लिइएको हो । नाम मिलेको आधारमा ओमप्रकाश विश्वकर्मासँगको कुराकानीको अडियोमा ओमप्रकाश अर्यालको भिडिओ जोडेर भ्रामक सामग्री बनाइएको हो ।
निष्कर्ष
रवि लामिछानेले गृहमन्त्री ओमप्रकाश अर्यालको मेनपावर व्यवसायको पर्दाफास गरेको भन्ने दाबी भ्रामक छ । नाम (ओमप्रकाश) मिलेको भरमा दुई फरक व्यक्तिलाई जोडेर भ्रम फैलाइएको हो ।

प्रतिक्रिया
तपाईँले हाम्रो वेबसाइट, सामाजिक सञ्जालका ह्यान्डल (फेसबुक, इन्स्टाग्राम, टिकटक, एक्स, युट्युब, लिङ्क्डइन) वा [email protected] मा तथ्य जाँच गर्नुपर्ने सामाजिक सञ्जालका पोस्ट पठाउन सक्नु हुनेछ । तथ्य जाँचलाई लिएर कुनै प्रतिक्रिया वा सुझाव भए हामीलाई ईमेल पठाउनु सक्नु हुनेछ ।
पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १७:३५
