close

सिंहदरबार जल्न दिएको आरोप खण्डन गर्दै मेयर बालेनले भनेः अफवाह फैलाउनेहरूसँग सावधान रहनू

टेकपाना टेकपाना

असोज २१, २०८२ १८:४१

सिंहदरबार जल्न दिएको आरोप खण्डन गर्दै मेयर बालेनले भनेः अफवाह फैलाउनेहरूसँग सावधान रहनू

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले सिंहदरबार जल्नुमा आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन् । मङ्गलबार साँझ फेसबुकमा दुई मिनेट १६ सेकेन्ड लामो एक भिडिओ सहितको पोस्ट राख्दै उक्त आरोप निराधार रहेको बताएका हुन् । 

'यत्रो सिंहदरबार जल्दा काठमाडौँ महानगरको दमकल कहाँ गयो ?', 'तीन दिनसम्म जलेको हेरेर बस्यो ?', 'सिंहदरबार जलाउने नै बालेन शाह हो !' जस्ता प्रश्न र आरोपलाई लिएर बालेनले तथ्य सहित आफ्नो भनाई सार्वजनिक गरेका छन् । हुँदै नभएको गलत आरोप फैलाउनेहरूलाई एकमुस्ट रूपमा सम्बोधन गर्दै उनले करिब १००० शब्द खर्चेका छन् ।

२४ भदौको दिन राति ८ बजेसम्म देश नै अस्तव्यस्त रहेको र राज्य नै ठप्प जस्तो रहेको थियो । देशमा सरकार नभए पनि स्थानीय सरकारको रूपमा काठमाडौँ महानगर आफ्नो दायित्वबाट पछाडि नहटेको बालेनले बताएका छन् ।

"सिंहदरबारदेखि व्यापारिक प्रतिष्ठान, व्यक्तिगत घरदेखि सार्वजनिक सम्पत्तिसम्म सबैतिर आगो थियो । न सरकार थियो, न सुरक्षा संयन्त्र, न प्रहरीले आफ्नो चौकी जोगाउन सके । यस्तो पूर्ण अराजक स्थितिमा सम्पूर्ण संरचना नै ढलेका थिए । सवारीसाधन आवतजावतको त कुरै छाडौँ मान्छे समेत हिँडडुल गर्न सक्ने अवस्था थिएन, तरपनि हाम्रो टिम दिन रात नभनी आगो निभाउन, घाइतेहरूको उपचार, कुरुवा र बिरामीको लागि खाना, लजिस्टिक व्यवस्थापन, स्वास्थ्यकर्मी व्यवस्थापन,रगत व्यवस्थापन, औषधि व्यवस्थापन, लास व्यवस्थापन, जलेका संरचनाहरूको तथ्याङ्क सङ्कलन, जलेका गाडीहरूको व्यवस्थापन, फोहोर व्यवस्थापन र विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा व्यस्त थियो ।"

उनका अनुसार सिंहदरबार जले लगत्तै दमकल जाने प्रयास गरेतापनि आन्दोलनकारीको अवरोधले गर्दा दमकल जान सकेको थिएन । हुलले दमकललाई काम गर्न नदिएकैले नेपाली सेनाको दमकल सिंहदरबार भित्रै हुँदा पनि निभाउने प्रयास गर्न सकेको थिएन । भिड अलिक शान्त हुने बित्तिकै २४ गते साँझ ८:१५ भित्रै काठमाडौँ महानगरको दमकल त्यहाँ पुगेको थियो ।

काठमाडौँ महानगर अन्तर्गत न्युरोडमा २ वटा, बालाजुमा २ वटा र रामहिटीमा १ वटा गरि जम्मा ५ वटा दमकल सञ्चालनमा रहेका छन् । २३ गते केही स्थानमा र २४ गते सिंहदरसँगै काठमाडौँ लगायत सिङ्गो देश नै जल्दै थियो ।महानगर भित्र जुनसुकै संरचना जले पनि जोगाउने प्रमुख दायित्वबोध आफूहरूले गर्नुपर्छ भन्ने मान्यता रहेको बालेनले स्पष्ट पारेका छन् । मेयर बालेनले २३, २४, २५, २६, २७ र २८ भदौमा काठमाडौँ महानगरका दमकलहरू कुन समयमा कहाँ कहाँ आगो निभाइरहेका थिए भन्ने कुराको फेहरिस्त नै प्रस्तुत गरेका छन् ।  सो अवधिमा आगलागी भइरहेका स्थानमा ५५ भन्दा बढी पटक ती दमकलहरू पुगेको बालेनको भनाई छ । 

“प्रिय आमा बुबा, दाजुभाइ, दिदीबहिनी, तपाईँहरूको मनमा भय, भ्रम र प्रश्न उठ्नु स्वाभाविक हो । तर बिना तथ्य, डेटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूसँग सावधान रहनु होला । यस्तो कार्यले जनतालाई डर र भ्रममा राख्छ, र दिन रात नभनी खट्ने हाम्रो टिमको मनोबल गिराउँछ । मिडियाका मित्रहरूमा विशेष अनुरोध; कृपया सत्य तथ्य खोजेर मात्र समाचार लेख्नुहोस् । अफवाह नफैलाउनुहोस् । जनताले सही जानकारी पाउने अधिकार राख्छन्,” बालेनले अगाडि भनेका छन् । 

महानगरको टिम दिनरात, जिउज्यानको जोखिम मोल्दै खटिएको र आफूलाई यसको कुनै जस पनि नचाहिएको उनले बताएका छन् । उनले भने, “कमसे कम आगो निभाउन, घाइतेको उपचार गर्न, बिरामीलाई खाना र औषधि उपलब्ध गराउन, लास व्यवस्थापन गर्न, उद्धार कार्यमा सहयोग गर्न खटिनेलाइ त सम्मानजनक दृष्टिले हेर्नुहोस् । जनतासँगको भरोसा, हाम्रो जिम्मेवारी र आपत्कालीन व्यवस्थापनका लागि हामी सधैँ खटिरहनेछौँ । सत्य बुझौँ, अफवाह फैलाउने काम नगरी सबै मिलेर सुरक्षित, सचेत र मानवता प्रधान समाज बनाऔँ । देशलाई एकता र साँचो कुराको खाँचो छ, हल्ला र झुटको हैन ।”

पछिल्लो अध्यावधिक: असोज २१, २०८२ १८:४१