close

क्वान्टम कम्प्युटिङको आधारशिला तयार पार्ने ३ वैज्ञानिकले पाए फिजिक्सतर्फको नोबेल पुरस्कार

टेकपाना टेकपाना

असोज २२, २०८२ १०:५०

तस्विरमा बायाँतर्फबाट क्रमशः जोन क्लार्क,  माइकल डेभोरेट र जोन मार्टिनिस तस्विरमा बायाँतर्फबाट क्रमशः जोन क्लार्क, माइकल डेभोरेट र जोन मार्टिनिस

काठमाडौँ । गुगल क्वान्टम एआईका प्रमुख वैज्ञानिक माइकल डेभोरेटसँगै कम्पनीका पूर्व क्वान्टम एआई हार्डवेयर प्रमुख जोन मार्टिनिस र क्यालिफोर्निया विश्वविद्यालय, बर्केलेका जोन क्लार्कलाई सन् २०२५ को फिजिक्सतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ ।

उनीहरूलाई विद्युतीय सर्किटमा म्याक्रोस्कोपिक क्वान्टम मेकानिकल टनेलिङ र ऊर्जाको क्वान्टाइजेसन पत्ता लगाएबापत यो पुरस्कार दिइएको हो । उनीहरूको यो कामलाई 'म्याक्रोस्कोपिक क्वान्टम प्रभावहरू' मा गरिएको अनुसन्धानको रूपमा पनि बुझिन्छ, जसले आधुनिक सुपरकन्डक्टिङ क्विबिटमा आधारित क्वान्टम कम्प्युटिङको आधार तयार गरेको थियो ।

रोयल स्वेडिश एकेडेमी अफ साइन्सेसले उनीहरूको प्रयोगले म्याक्रोस्कोपिक स्केलमा क्वान्टम मेकानिकल गुणहरू कसरी ठोस बनाउन सकिन्छ भन्ने प्रदर्शन गरेको बताएको छ । उनीहरूको कामले क्वान्टम क्रिप्टोग्राफी, क्वान्टम कम्प्युटर र क्वान्टम सेन्सरहरूसहित अर्को पुस्ताको क्वान्टम प्रविधिको विकासका लागि अवसरहरू प्रदान गरेको छ ।

उनीहरूले सन् १९८० को दशकमा गरेका प्रयोगहरूले क्वान्टम मेकानिक्सका अनौठा नियमहरू (जसलाई पहिले परमाणु र उप-परमाणु कणहरूमा मात्र सीमित मानिन्थ्यो) लाई चिपमा रहेको म्याक्रोस्कोपिक विद्युतीय सर्किटमा पनि नियन्त्रण गर्न सकिने कुरा प्रमाणित गरेका थिए । साथै जोसेफसन जङ्क्सन (Josephson Junction) नामक विशेष सुविधासहितको सुपरकन्डक्टिङ विद्युतीय सर्किट (जसमा कुनै विद्युतीय प्रतिरोध हुँदैन) पनि उनीहरूले बनाएका थिए, जसलाई यी क्वान्टम घटनाहरू सिर्जना गर्न र हेरफेर गर्न प्रयोग गर्न सकिन्छ ।

आजका सुपरकन्डक्टिङ क्वान्टम बिट्स (क्विबिट्स) को आधार जोसेफसन जङ्क्सन नै हुन् । यो कामले गुगलको विलो क्वान्टम चिप लगायत २०१९ मा क्लासिकल कम्प्युटरमा असम्भव मानिएको बेन्चमार्क गणना क्वान्टम कम्प्युटरले पूरा गर्न सक्ने प्रदर्शनसम्म पुर्‍यायो । नोबेल समितिका अध्यक्षका अनुसार क्वान्टम मेकानिक्स सबै डिजिटल प्रविधिको जग हो ।

माइकल डेभोरेट र जोन मार्टिनिससँगै नोबेल पुरस्कार विजेता गुगलरको सङ्ख्या पाँच पुगेको छ । यसमा सन् २०२४ का विजेता डेमिस हसाबिस, जोन जम्पर र जिओफ्री हिन्टन पनि समावेश छन् ।

फिजिक्सतर्फको यो पुरस्कार यस हप्ता घोषणा गरिएको दोस्रो नोबेल पुरस्कार थियो । यो पुरस्कार तीनै जनाले बराबरी बाँड्नेछन् र यसको राशि ११ मिलियन स्वेडिश क्रोनर (लगभग ११ लाख ७० हजार अमेरिकी डलर) रहेको छ ।

 

चिकित्सातर्फको नोबेल पुरस्कार

सोमबार मेरी ई ब्रुन्को, फ्रेड राम्सडेल (दुवै अमेरिकी) र शिमोन साकागुची (जापान) लाई फिजियोलोजी तथा मेडिसिनतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

उनीहरूलाई 'पेरिफेरल इम्युन टोलरेन्स' (peripheral immune tolerance) सम्बन्धी क्रान्तिकारी खोजका लागि सम्मानित गरिएको थियो । यो खोजले प्रतिरक्षा प्रणालीले शरीरलाई हानी गर्ने कार्यबाट रोक्छ ।

उनीहरूले रेगुलेटरी टी सेल पत्ता लगाएका थिए, जसलाई प्रतिरक्षा प्रणालीको सुरक्षा गार्ड भनिन्छ । यस खोजले क्यान्सर र अटोइम्युन रोगहरूका लागि नयाँ उपचारहरू विकास गर्ने आधारशिला खडा गरेको छ ।

नोबेल समितिका महासचिव थोमस पर्लम्यानलाई विजेता फ्रेड राम्सडेललाई सम्पर्क गर्न निकै कठिन भएको थियो । किनकि उनी नोबेल कमिटीले कल गर्दा मोन्टानाको ग्रिज्ली भालुको क्षेत्रमा तीन हप्ताको हाइकिङमा 'अफ-द-ग्रिड' थिए ।

नोबेल कमिटीले उनलाई सम्पर्क गर्न खोज्दा उनको फोन एयरप्लेन मोडमा थियो । २८ घण्टापछि मात्र उनी कमिटीसँग सम्पर्कमा आउन सकेका थिए ।

पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १०:५५