यसरी निःशुल्क हेर्नुहोस्, आजदेखि सुरु हुने नेपाल सहभागी टी-२० विश्वकप क्वालिफायरका खेलको लाइभ
असोज २२, २०८२ १४:२४
काठमाडौँ । आज बुधबारदेखि ओमानमा आईसीसी पुरुष टी-२० विश्वकप २०२६ क्वालिफायरका खेलहरू हुँदैछन् । नेपाल समेत सहभागी यो प्रतियोगिताका सबै खेलहरू आईसीसी डट टिभी (ICC.tv) प्लेटफर्ममा लाइभ हुनेछन्, जुन निःशुल्क रूपमा हेर्न सकिन्छ ।
यो क्वालिफायरका खेल हेर्ने प्रमुख माध्यम आईसीसी डट टिभी नै भए पनि एसियाका केही भागहरूमा भने फ्यानकोड (FanCode) मा पनि उपलब्ध हुनेछ । आईसीसी डट टिभीमा विश्वकप क्वालिफायर खेलहरू हेर्नका निःशुल्क रूपमा रजिस्टर गर्न सकिन्छ ।
यसका लागि सबैभन्दा पहिला ICC.tv मा वा यहाँ क्लिक गरेर आईसीसीको वेबसाइटमा जानुहोस् । अथवा तपाईँ आईओएस एप स्टोर वा गुगल प्ले स्टोरमा गएर ICC.tv एप डाउनलोड गर्न पनि सक्नु हुनेछ ।
यदि तपाईँ नयाँ प्रयोगकर्ता हुनुहुन्छ भने ICC.tv वेबसाइट वा एपमा गएर Live and Upcoming भिडिओमा क्लिक वा ट्याप गर्नु भयो भने रजिस्ट्रेसन गर्ने स्थान देखिन्छ । त्यहाँबाट आफ्नो अकाउन्ट निःशुल्क खोल्न सक्नु हुनेछ । तर तपाईँ पहिले नै ICC.tv मा रजिस्टर हुनुहुन्छ भने आफ्नो ईमेल तथा पासवर्ड राखेर सिधै साइन इन गर्न सक्नुहुन्छ ।
आईसीसीको होम स्क्रिनमा नयाँ र समसामयिक कन्टेन्टहरू अपडेट भइरहने हुनाले त्यहाँ लाइभ खेलको स्ट्रिम पाउन सकिन्छ । ICC.tv मा निश्चित अर्थात् छानिएका आईसीसी प्रतियोगिताहरूको खेलको लाइभ स्ट्रिमिङ उपलब्ध हुन्छ ।
नेपाल समूह चरणको आफ्नो पहिलो खेलमा आज बुधबार राति ८:४५ बजे कुवेतसँग भिड्दैछ । अर्को खेल आउँदो शुक्रबार दिउँसो ४ः१५ बजे जापानसँग हुनेछ । सहभागी कूल ९ टोलीलाई तीन समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहबाट दुईदुई टिम सुपर सिक्समा छानिने छन् । आइतबारदेखि सुरु हुने सुपर सिक्सका खेलहरूबाट शीर्ष ३ देशले आगामी फेब्रुअरी-मार्चमा भारत र श्रीलङ्कामा आयोजना हुने विश्वकपमा स्थान बनाउने छन् ।
पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १५:३४
