close

डिस्कर्डमा हिंसात्मक अभिव्यक्ति बढेपछि ‘हामी नेपाल’ ले भन्यो- तत्काल प्रतिबन्ध लगाउँछौँ

टेकपाना टेकपाना

असोज २२, २०८२ १६:३६

डिस्कर्डमा हिंसात्मक अभिव्यक्ति बढेपछि ‘हामी नेपाल’ ले भन्यो- तत्काल प्रतिबन्ध लगाउँछौँ

काठमाडौँ । जेनजी प्रदर्शनयता चर्चामा रहेको गैरसरकारी संस्था (एनजीओ) ‘हामी नेपाल’ ले आफ्नो डिस्कर्ड सर्भरमा बम, विस्फोटक पदार्थ वा हिंसात्मक गतिविधिबारे छलफल गर्न खोज्ने व्यक्तिहरूको बढ्दो रिपोर्ट आएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

बुधबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै सुधन गुरुङ नेतृत्वको ‘हामी नेपाल’ ले शान्तिपूर्ण आन्दोलनका लागि बनाइएको उक्त सर्भरमा हिंसात्मक अभिव्यक्ति दिने काम भइरहेकाले त्यस्ता सामग्री पोस्ट गर्ने व्यक्तिलाई तत्काल प्रतिबन्ध लगाइने चेतावनी दिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “हामीले यो डिस्कर्ड सर्भरमा बम, विस्फोटक वा हिंसात्मक गतिविधिबारे छलफल गर्न खोज्ने व्यक्तिहरूको बढ्दो रिपोर्ट देखिरहेका छौँ ।”

“यो कुरा पूर्ण रूपमा स्पष्ट होस्: यो सर्भर केवल शान्तिपूर्ण आन्दोलन र नेपाली नागरिकहरूलाई हाम्रो देशबारे छलफल गर्न एक साझा समुदाय बनाउन मात्र विद्यमान छ ।”

संस्थाले हिंसा वा विस्फोटक पदार्थसँग सम्बन्धित कुनै पनि सामग्री आफ्नो आदर्श र आन्दोलनका सिद्धान्तहरूको पूर्ण विरोधमा जाने उल्लेख गरेको छ । “यस्ता सामग्री पोस्ट गर्ने व्यक्तिलाई तत्काल प्रतिबन्ध लगाइनेछ र तपाईंको खाता विवरणहरू तुरुन्तै सम्बन्धित अधिकारीहरूलाई पठाइनेछ,” विज्ञप्तिमा उल्लेख छ ।

यदि कसैले यस्तो सामग्री देखेमा प्रतिक्रिया नजनाउन र सरल रूपमा मोडरेसन टिमलाई रिपोर्ट गर्न ‘हामी नेपाल’ ले अनुरोध गरेको छ ।

 के हो डिस्कर्ड ? यो कसरी युवामाझ चर्चित बन्यो ?

डिस्कर्डको कथा सन् २०१५ मा सुरु हुन्छ । अमेरिकी नागरिक जेसन सिट्रोन र स्टानिस्लाभ भिश्नेभ्स्की नामक दुई गेमर एवम् डेभलपरले एउटा ठुलो समस्याको समाधान खोजिरहेका थिए । त्यो समयमा अनलाइन गेम खेल्दा साथीसँग कुराकानी गर्न भरपर्दो र सजिलो माध्यम थिएन । खेलाडीले स्काइप वा टिमस्पिक जस्ता छुट्टै एप प्रयोग गर्थे ।

तर ती एपले कम्प्युटरको धेरै स्रोत खपत गर्ने, ढिलो चल्ने र प्रयोग गर्न झन्झटिलो हुनाले गेमिङको अनुभव खल्लो बनाउँथे । यही समस्यालाई समाधान गर्न उनीहरूले एउटा यस्तो प्लेटफर्म बनाउने सङ्कल्प गरे जुन कम स्रोत खपत गरोस्, छिटो होस् र गेम खेल्दा सहजै प्रयोग गर्न सकियोस् । यसरी समस्याको गर्भबाट समाधानका रूपमा ‘डिस्कर्ड’ जन्मियो ।्


पछिल्लो अध्यावधिक: असोज २२, २०८२ १६:५४