लक्ष्मी सनराइज बैँकले सार्वजनिक गर्यो स्मार्टफोन लोन लिएर किस्ता नतिर्ने ऋणीको नाम
असोज २६, २०८२ १२:५१
काठमाडौँ । लक्ष्मी सनराइज बैँकले ‘स्मार्टफोन लोन’ सुविधा लिएर समयमा कर्जा चुक्ता नगर्ने ३० जना ऋणीको नाम सार्वजनिक गरेको छ । बैँकले आइतबार एक सार्वजनिक सूचना जारी गर्दै उनीहरूलाई कर्जाको सम्पूर्ण बक्यौता रकम चुक्ता गर्न ३५ दिनको समयसीमा दिएको हो ।
बैँकका अनुसार सम्झौता बमोजिम समयमा किस्ता भुक्तानी गर्नुपर्नेमा पटक-पटक ताकेता गर्दा पनि ऋणीहरू सम्पर्कमा नआएपछि सार्वजनिक सूचना जारी गरिएको हो । “बैँकबाट बारम्बार ताकेता गर्दा समेत बक्यौता रकम नतिरी सम्पर्कमा समेत नआउनु भएकाले यो सूचना प्रकाशित गरिएको हो,” बैँकले जारी गरेको सूचनामा भनिएको छ ।
सूचनामा प्रकाशित भएको मितिले ३५ दिनभित्र सम्पूर्ण बक्यौता रकम चुक्ता नगरेमा बैँकले कर्जा असुली प्रक्रिया अगाडि बढाउने चेतावनी दिएको छ । यसअन्तर्गत नेपाल राष्ट्र बैँकको निर्देशनबमोजिम ऋणीहरूको नाम कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिने बैँकले उल्लेख गरेको छ । साथै कर्जा असुलीका लागि अन्य आवश्यक कानुनी प्रक्रिया अपनाएर बैँकले आफ्नो लोन रकम असुलउपर गर्ने सूचनामा स्पष्ट पारिएको छ ।
बैँकले सार्वजनिक गरेको सूचीमा ३० जनाको नाम, नागरिकता नम्बर र ठेगाना समावेश छ । ऋणीहरू पर्सा, रूपन्देही, मोरङ, मकवानपुर, ललितपुर, चितवन, झापा, कैलाली लगायत देशका विभिन्न जिल्लाका रहेका छन् ।
पछिल्लो समय बैँकहरूले सहज रूपमा मोबाइल एपबाटै ऋण उपलब्ध गराउने ‘फोन लोन’ सेवा दिँदै आएका छन् ।
पछिल्लो अध्यावधिक: असोज २६, २०८२ १२:५१
