स्टार्टअप वर्ल्ड कप २०२५ को विश्व प्रतिस्पर्धाका लागि नेपाली टोली सिलिकन भ्याली प्रस्थान
असोज २८, २०८२ १६:४४
काठमाडौँ । स्टार्टअप वर्ल्डकप २०२५ को विश्व प्रतिश्पर्धाका लागी नेपाली टोली अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेको छ । स्टार्टअप हब नेपाल र वर्ल्ड ट्रेड ग्रुपले नेपालमा आयोजना गरेको अन्तर्राष्ट्रिय स्टार्टअप प्रतिस्पर्धाको नेपाल बिजेता डी एल सर्फका तर्फबाट संस्थापक अर्जुन घिमिरे गएको बिहिवार अमेरिकाको सिलिकन भ्याली प्रस्थान गरेका हुन् ।
घिमिरेले सिलिकन भ्यालीमा मिलियन डलर (१४ करोड चालिस लाख बराबर) को विश्व प्रतिस्पर्धामा भाग लिने छन् ।
बिहीबार स्टार्टअप हब नेपालका अध्यक्ष डा शम्भु पोखरेलले नेपाल च्याम्पियन घिमिरेलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका छन् । हालसम्म पाँच जना स्टार्टअपलाई अमेरिकाको सिलिकन भ्यालीमा प्रतिस्पर्धामा सहभागी गराउन स्टार्टअप नेपाल सफल भएको आयोजकले जनाएको छ ।
१७-२२ अक्टुबरसम्म अमेरिकामा हुने ग्लोबल फिनालेमा नेपालको प्रतिनिधित्व गर्दे डीएल सर्फले विश्वका १०० देशका च्याम्पियन स्टार्टअपहरूसँग प्रतिस्पर्धा गर्नेछ ।
स्टार्टअप हब नेपालले नेपालका उत्कृष्ट स्टार्टअपहरूलाई विश्वभरका लगानीकर्ता, सल्लाहकार र उद्यमशील व्यक्तिहरूसँग जोडेर उनीहरूको नेटवर्क विस्तारमा सहयोग गर्दै आएको छ । जसले गर्दा नेपाली स्टार्टअपहरूको विश्व प्रतिस्पर्धी क्षमता अभिवृद्धि हुनुका साथै नेपालको स्टार्टअप इकोसिस्टमलाई सबल र गतिशील बनाउने आयोजकको विश्वास रहेको छ । वर्ल्ड ट्रेड ग्रुप नेपालले यसको सिस्टर कन्सर्न स्टार्टअप हब नेपालमार्फत नेपालमा यो प्रतियोगिता भित्र्याएको हो ।
यो प्रतियोगिताले नेपाली स्टार्टअपहरूलाई विश्वव्यापी सोच राख्न प्रेरित गर्ने स्टार्टअप वर्ल्डकपका साउथ एसिया प्रमुख तथा नेपालका अध्यक्ष डा शम्भु पोखरेलले जनाएका छन् । नेपालका बिजेता डी एल सर्फले अमेरिकाको (सिलिकन भ्याली) सान फ्रान्सिस्कोमा हुने ग्लोबल फिनालेमा ९९ अन्य देशका विजेता, ३०० भन्दा बढी मल्टी बिलियन डलरका भेन्चर क्यापिटल कम्पनी र हजारौँ स्टार्टअपहरूका अगाडि आफ्नो आइडिया प्रस्तुत गर्न पाउने डा पोखरेलले बताए ।
पछिल्लो अध्यावधिक: असोज २८, २०८२ १६:५५
