नमस्ते पे वालेटबाट कमिसन बुझ्न डिलरहरूको अवरोध कायमै, रिटेलरहरू केवाईसी भर्नै गएनन्
असोज ३१, २०८२ ९:१
काठमाडौँ । नेपाल टेलिकमले नमस्ते पे वालेटबाट सिमकार्ड विक्रीको कमिसन लिने व्यवस्था गरे पनि डिलरहरूले थालेको अवरोध कायमै देखिएको छ । कम्पनीले डिलरहरूलाई आह्वान गरे पनि विरोधका कारण रिटेलरहरू नमस्ते पेको आधारभूत केवाईसी नै भर्न नगएको पाइएको हो ।
रिटेलर/पीओएसहरूको कमिसन नमस्ते पे वालेटमार्फत ग्राहक रुजु भएको एक हप्ता भित्र भुक्तानी गर्ने व्यवस्था छ । सोहीअनुसार टेलिकमले सिमकार्ड विक्री बापतको कमिसन प्रादेशिक निर्देशनालय काठमाडौँ, बागमती प्रदेशबाट भुक्तानीका लागि नमस्ते पेमा पठाएर केवाईसी अपडेट भइसकेका रिटेलर/पीओएसहरूको भुक्तानी भइसकेको जनाएको छ । टेलिकम र सिमकार्ड डिलरबिच भएको सम्झौता बमोजिम भदौसम्मको सेवा शुल्क टेलिकमले भुक्तानी गरिसकेको छ ।
अझै पनि डिलरहरूको सिन्डिकेटका कारण कमिसन लिन बाँकी रहेका रिटेलर/पीओएसहरूलाई यथाशीघ्रम केवाईसी अपडेट गरेर भुक्तानी लिन टेलिकमले आग्रह गरेको छ । नमस्ते पे सञ्चालन गर्ने नेपाल डिजिटल पेमेन्ट्स कम्पनी (एनडीपीसी)ले पनि भुक्तानी लिन बाँकी रिटेलर/पीओएसहरूलाई केवाईसी अपडेट गरेर भुक्तानी लिन आग्रह गरेको छ । जसका लागि एनडीपीसीले तीन जना छुट्टै कर्मचारीलाई सहजीकरणका लागि खटाएको छ ।
टेलिकमले रिचार्ज र सिमकार्ड विक्री तथा ग्राहक भुक्तानी प्रणाली सम्बन्धी कार्यविधि २०७८ अनुसार विक्री गरेअनुसार डिलरलाई भ्याटबाहेक प्रति सिम कार्ड ३५ रुपैयाँ सेवा शुल्क र रिटेलर/पीओएसलाई प्रति सिम कार्ड करसहित ८० रुपैयाँ कमिसन उपलब्ध गराउँदै आएको छ ।
उक्त कमिसनको भुक्तानी मोडालिटी सोही कार्यविधिको प्रावधानअनुसार टेलिकमले डिलरहरूलाई नमस्ते पे वालेट वा चेक वा अन्तरबैँक भुक्तानी प्रणाली (आईपीएस) मार्फत गर्दै आएको छ । टेलिकमले मासिक रूपमा भ्याट बिल प्राप्त भएपछि सात दिन भित्र सेवा शुल्क बापतको रकम भुक्तानी गर्ने गरेको छ । रिटेलर/पीओएसको कमिसनको हकमा भने नमस्ते पे वालेटमार्फत ग्राहक विवरण रुजु भएको एक हप्ता भित्र भुक्तानी गर्ने प्रावधान छ ।
तर, वालेटमार्फत कमिसन रकमको भुक्तानी व्यवस्था नहुन्जेलसम्मका लागि भने सम्बन्धित डिलरमार्फत रिटेलर/पीओएसको कमिसन भुक्तानी मिलाइँदै आइएको छ । यसैबिच नमस्ते पेले उक्त कमिसन भुक्तानी गर्न ‘बल्क पेमेन्ट सिस्टम’ तयार गरिसकेको छ । डिलरहरूसँगको सम्झौताअनुसार सो प्रणाली तयार भइसकेकाले टेलिकमको बागमती प्रादेशिक निर्देशनालयले रिटेलर/पीओएसको भुक्तानी नमस्ते पे मार्फत सोझै दिनुपर्ने दायित्व छ । टेलिकमले उक्त भुक्तानी सहजीकरण गर्न २७ साउनमा नै ३० दिनको समय दिएको थियो । डिलरहरूलाई आफ्ना रिटेलर/पीओएसहरूको लेनदेन मिलाउन टेलिकमले उक्त समय दिएको थियो ।
डिलरहरूले १६ भदौमा प्रादेशिक निर्देशनालयका निर्देशकलाई पत्र लेख्दै पुरानै तरिकाले भुक्तानी मिलाइदिन दबाब दिएका थिए । १६ वटा डिलरहरू टेलिकमको भुक्तानी प्रणालीलाई लिएर क्रुद्ध बनेका छन् ।
एस सेल, अनमोल जनसेवा सेन्टर, एएस सप्लायर्स, क्याश पे, चितवन टेलिफोन मर्मत केन्द्र, सीएमटीएस मल्टिबिजनेस, जीसी ब्रदर एण्ड अर्डर सप्लायर्स, ग्यालेक्सी इन्टरनल ट्रेड सेन्टर, जेआरजी मल्टिपर्पोज, ओम सर्भिसेस, अनलाइन जर्नी सर्भिसेस बागमती प्रदेशमा टेलिकमको सिम र रिचार्ज कार्ड विक्री गर्ने डिलर हुन् । यस्तै, पूर्वज ट्रेड कन्सर्न, रुद्रप्रिया इन्टरनेसनल, भी-सोलुसन, भी-कार्ड कन्सर्न, युयान ट्रेड इन्टरनेसनल पनि डिलर हुन् ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ ९:३
