फेसबुक मेसेन्जरको डेस्कटप एप बन्द गर्दै मेटा, प्रयोगकर्तालाई कस्तो प्रभाव पर्ला ?
असोज ३१, २०८२ १२:२१
काठमाडौँ । सामाजिक सञ्जालको दिग्गज कम्पनी मेटाले आफ्नो लोकप्रिय च्याट एप मेसेन्जरको डेस्कटप भर्सन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीले आउँदो १५ डिसेम्बरदेखि विन्डोज र म्याकका लागि बनाइएका छुट्टै डेस्कटप एप सधैँका लागि बन्द गर्ने घोषणा गरेको हो ।
टेकक्रन्चका अनुसार १५ डिसेम्बरपछि प्रयोगकर्ताले यी एपमा लग-इन गर्न सक्ने छैनन् । त्यसपछि एप खोल्नासाथ उनीहरूलाई स्वतः फेसबुकको वेबसाइटमा पठाइनेछ, जहाँबाट उनीहरूले मेसेन्जर प्रयोग गर्न सक्नेछन् ।
“यदि तपाईँ मेसेन्जरको डेस्कटप एप प्रयोग गरी रहनु भएको छ भने, यो बन्द हुने प्रक्रिया सुरु भएपछि तपाईँले एपभित्रै सूचना पाउनु हुनेछ,” मेसेन्जरको सपोर्ट पेजमा लेखिएको छ, “म्याक प्रयोगकर्ताले ६० दिनसम्म प्रयोग गर्न पाउनेछन्, त्यसपछि यो पूर्ण रूपमा बन्द हुनेछ । यो एप प्रयोग गर्न नमिल्ने भएपछि यसलाई डिलिट गर्न हामी आग्रह गर्दछौँ ।”
मेटाको यो योजनाबारे सबैभन्दा पहिले एप्पलइन्साइडरले जानकारी सार्वजनिक गरेको थियो । कम्पनीले अहिले प्रयोगकर्तालाई अन्य विकल्पसँग अभ्यस्त हुन समय दिनका लागि यो परिवर्तनबारे सूचना दिन थालेको हो ।
उदाहरणका लागि विन्डोज प्रयोगकर्ताले फेसबुकको डेस्कटप एप प्रयोग गर्न सक्छन् भने विन्डोज र म्याक दुवैका प्रयोगकर्ताले सिधै ब्राउजरबाट फेसबुकको वेबसाइटमा गएर मेसेन्जर चलाउन सक्नेछन् ।
मेटाले प्रयोगकर्तालाई वेब भर्सनमा जानुअघि आफ्नो च्याट हिस्ट्री सुरक्षित राख्न ‘सेक्योर स्टोरेज’ एक्टिभेट गर्न र पिन सेट गर्न आग्रह गरेको छ । यसो गर्दा प्रयोगकर्ताको च्याट हिस्ट्री सबै प्लेटफर्ममा उपलब्ध हुनेछ ।
‘सेक्योर स्टोरेज’ अन छ कि छैन भनेर जाँच्नका लागि आफ्नो प्रोफाइल फोटोमाथिको सेटिङ आइकनमा क्लिक गरी ‘प्राइभेसी एन्ड सेफ्टी’ (Privacy & safety) मा जानुहोस् । त्यसपछि ‘इन्ड टु इन्ड इन्क्रिप्टेड च्याट्स’ (End-to-end encrypted chats) को अप्सन छान्नुहोस् । यति गरेपछि त्यहाँ देखिएको ‘मेसेज स्टोरेज’ (Message storage) मा क्लिक गर्दा ‘टर्न अन सेक्योर स्टोरेज’ एक्टिभ छ कि छैन भन्ने देखिन्छ । छैन भने अन गर्न सक्नुहुन्छ ।
पछिल्लो अध्यावधिक: असोज ३१, २०८२ १२:२१
