close

उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को पहिलो पोस्टर सार्वजनिक

टेकपाना टेकपाना

कात्तिक २, २०८२ १५:५७

उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’को पहिलो पोस्टर सार्वजनिक

काठमाडौँ । उज्ज्वल थापा फाउन्डेसनले उज्ज्वल थापाको जीवनीमा आधारित वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ को पहिलो पोस्टर सार्वजनिक गरेको छ । वृत्तचित्रको पोस्टर आइतबार सार्वजनिक भएको हो । 

वृत्तचित्रलाई आगामी पुसमा चलचित्र हलमा हेर्न पाइने फाउन्डेसनले जनाएको छ । वृत्तचित्रमा थापाले राष्ट्र निर्माणका लागि राजनीतिक, सामाजिक, आर्थिक पक्षमा गरेका योगदान, परिकल्पना, अभियान र युवा नेतृत्वको भूमिकालाई समावेश गरिएको छ । 

यस वृत्तचित्र निर्माणको लागत उज्ज्वल थापाका शुभेच्छुकहरूबाट सङ्कलन गरेर जुटाइएको फाउन्डेसनले जनाएको छ । हालसम्म लागतको ८० प्रतिशत रकम जम्मा भइसकेको छ । फाउन्डेसनको वेबसाइटमा गएर सहयोग गर्न सकिने छ । वृत्तचित्र ड्रिम विजार्ड्स पिक्चर्स प्रालिले निर्माण गरेको हो । 

आईटी उद्यमी, सामाजिक अभियन्ता हुँदै विवेकशील नेपाली दलको नामबाट उनले राजनीति थालेका थिए । सूचना प्रविधि क्षेत्रमा उनलाई धेरै युवाले पथप्रदर्शकका रूपमा सम्मान गर्छन् । उनी आन्टरप्रेनर्स फर नेपाल एवं वर्डप्रेस नेपाल कम्युनिटीका संस्थापक समेत हुन् ।

उनले स्थापना गरेको डिजिटल म्याक्स सोलुसन्स नामक आईटी कम्पनीले वृद्धि गर्न नसकेपछि त्यसबाट हात झिकेका थिए । उक्त कम्पनी उनले त्यहाँ काम गर्ने कर्मचारीहरूलाई नै जिम्मा लगाएका थिए । स्याङ्जा घर भएका उनले सन् २००८ तिर एक्सोटिक बुद्ध नामक ट्राभल पोर्टल समेत बजारमा ल्याए ।

तर त्यसले पनि अपेक्षित सफलता हासिल गर्न नसकेपछि सन् २०१४ मा आएर बन्द भयो । आफ्नो बचत र समय नेपाली ट्राभल पोर्टलमा लगाएका उनले त्यसबाट आम्दानी गर्न नसकेपछि बन्द गरेका थिए ।

यति मात्र होइन, सन् २००६ सालमै उनले रोजगारी खोज्न सकिने साइट डीएमएस लिस्ट सञ्चालनमा ल्याए । तर त्यो पनि सन् २०१२ सम्म आइपुग्दा बन्द गर्नु पर्‍यो । उनी त्यसलाई विश्वभर नेपालीहरूले बनाएका रोजगार सूचीकरण साइटको छाता बनाउन चाहन्थे । त्यसले आम्दानी गर्न नसकेपनि त्यस्तै अन्य साइटहरू बन्न उत्प्रेरित गर्न सकेकोमा उनी सन्तुष्टि महसुस गर्थे ।

उनले अनलाइन न्युज पोर्टल समेत ल्याए । न्युजफिड डटकम डट एनपी नामक उक्त साइटको आयु पनि सन् २०१० देखि २०१२ को मात्रै रह्यो । उनी त्यसलाई नेपालसम्बन्धी सबै समाचार एकै स्थानमा पढ्न सकिने साइटको रूपमा विकास गर्न चाहन्थे । त्यस प्रतिको रुचि पैदा गर्न नसकेपछि बन्द गरेर अगाडि बढ्नुपरेको उनी बताउने गर्थे ।

स्याङ्जाको सामान्य परिवारमा जन्मिएका उनी छात्रवृत्तिमा बुढानीलकण्ठ स्कुलमा ४ कक्षामा भर्ना भए । सानैदेखि फरक काम गर्न रुचाउने उनले बेलायतबाट लिइएको ए लेभलको अङ्ग्रेजी साहित्यको परीक्षामा अक्षरमा उत्तर नलेखी कार्टुन बनाएर उत्तर दिएका थिए ।

शिक्षक एवं साथीहरूले उनको कामलाई पागलपन भनेर जिस्क्याए पनि उनलाई बेलायती परीक्षा बोर्डले धेरै जिस्क्याउने साथीहरूको भन्दा उच्च अङ्कमा पास गरेर पठायो । केही समयपछि अमेरिका पुगेका उज्ज्वल मल्टी-मिडियामा स्नातक गरेर चर्चित सर्च इन्जिन याहु डटकमसम्म पुगेका थिए ।

अमेरिकामा राम्रो दाम कमाउने सम्भावना हुँदाहुँदै पनि उनी नेपाल फर्किएपछि धेरैले सन्काहा भनेका थिए । किनभने नेपाली समाजमा जो पैसा कमाउने बाटोमा लाग्छ, उसलाई असल भन्ने चलन छ । उनले आफ्नो मनको कुरा सुने । अमेरिका उनलाई आफ्नो ठाउँ जस्तो लागेन र नेपाल फर्किए

यद्यपि उनी जागिर नै नखाई नेपाल फर्किए । कहिले बन्द विरोधी आन्दोलन त कहिले युवा उद्यमीलाई एकजुट पार्ने अभियान चलाइरहेका उज्ज्वलले ‘विवेकशील नेपाली’ नाममा युवाहरूलाई सङ्गठित गरेका थिए ।

आईटी उद्यमशीलता समेत सुरु गरेका उनले विवेकशील नेपालीको राजनीति सुरु गरेपछि त्यसबाट बि लिएका थिए । यद्यपि त्यस पछिका दिनमा समेत पूर्णकालीन रूपमा रोजगारीमा नलागेका उनी फ्रिल्यान्सिङको काम गर्दै आएका थिए । कोरोना र निमोनियाले च्यापेपछि २०७८ जेठमा थापाको निधन भएको थियो ।

 

पछिल्लो अध्यावधिक: कात्तिक २, २०८२ १६:५