close

एलन मस्कको स्पेसएक्सले रच्यो इतिहास, १० हजारभन्दा बढी स्टारलिंक स्याटलाइट अन्तरिक्षमा

टेकपाना टेकपाना

कात्तिक ४, २०८२ १७:३१

एलन मस्कको स्पेसएक्सले रच्यो इतिहास, १० हजारभन्दा बढी स्टारलिंक स्याटलाइट अन्तरिक्षमा

काठमाडौँ । धनाढ्य उद्यमी एलन मस्कको कम्पनी स्पेसएक्सले थप ५६ ओटा स्टारलिंक उपग्रह (स्याटलाइट) सफलतापूर्वक प्रक्षेपण गरेको छ । यी उपग्रहहरू छुट्टाछुट्टै फाल्कन ९ रकेटमार्फत अन्तरिक्षमा पठाइएको कम्पनीले जनाएको छ । यससँगै लो-अर्थ अर्बिटमा पुगेका स्पेसएक्सका उपग्रहहरूको कुल संख्या १० हजार नाघेको छ ।

यो प्रक्षेपण सन् २०२५ को १३२औँ फाल्कन ९ मिसन अन्तर्गत सम्पन्न गरिएको हो । उपग्रह ट्रयाकर जोनाथन म्याकडोवेलका अनुसार ती १० हजारमध्ये हाल ८,६०८ उपग्रह सञ्चालनमा रहेका छन् ।

स्टारलिंक उपग्रहहरूको आयु औसत पाँच वर्षको हुने बताइएको छ । त्यसपछि तिनीहरूलाई नियोजित रूपमा कक्ष (अर्बिट) बाट हटाएर वायुमण्डलमा जलाइन्छ । पहिलो स्टारलिंक प्रोटोटाइप सन् २०१८ फेब्रुअरीमा प्रक्षेपण गरिएको थियो, जसको व्यावसायिक सेवा सन् २०२१ देखि सुरु भएको हो ।

हालसम्म स्पेसएक्सलाई १२ हजार उपग्रह प्रक्षेपणको अनुमति दिइएको छ । तर कम्पनीले आगामी वर्षहरूमा ३० हजारभन्दा बढी उपग्रह प्रक्षेपण गर्ने लक्ष्य लिएको छ । यसको उद्देश्य विश्वभर छिटो र लो लेटेन्सी भएको इन्टरनेट सेवा उपलब्ध गराउनु हो ।

यसैबिच, अमेजनको ‘प्रोजेक्ट कुइपर’, साथै युरोप र चीनका मेगा-कन्स्टेलेसन योजनाहरू पनि तीव्र गतिमा अघि बढिरहेका छन् । यस्ता हजारौँ उपग्रहहरूको भिडले अन्तरिक्षमा ट्राफिक र सम्भावित टक्करको खतरा बढाउने चिन्ता वैज्ञानिकहरूले व्यक्त गरेका छन् ।

पछिल्लो अध्यावधिक: कात्तिक ४, २०८२ १८:१३