यसै वर्ष सार्वजनिक एप्पलको नयाँ स्मार्टफोन आईफोन एयरको माग लगभग शून्य, उत्पादनमा भारी कटौती
कात्तिक ६, २०८२ १४:१४
काठमाडौँ । एप्पलले आईफोन एयरको उत्पादनमा भारी कटौती गरिरहेको छ । व्यापार प्रकाशन निकेईका अनुसार अपेक्षाभन्दा उपभोक्ताको चासो कमजोर हुँदा आईफोन एयरको उत्पादनमा ठुलो कटौती गरिएको हो, जुन लगभग 'उत्पादनको अन्त्य स्तर' नजिक पुगेको छ ।
चीनमा लन्च भएको केही घण्टामै आईफोन एयर विक्री भएको प्रारम्भिक रिपोर्टहरू आए तापनि समग्र प्रतिक्रिया भने उत्साहजनक नरहेको बताइएको छ । अन्य बजारहरूमा पनि कमजोर मागका कारण उल्लेखनीय रूपमा अपेक्षित विक्री घटेको छ ।
लगानीकर्ताहरूको लागि गरिएको नयाँ किब्यान्स क्यापिटल मार्केट्स सर्वेक्षणले आईफोन एयरको लागि लगभग कुनै माग नभएको र फोल्डेबल फोनका लागि पैसा खर्च गर्न तयार रहेको देखाएको छ । आईफोन १७ का अन्य मोडेलहरूको माग राम्रै भए पनि उपभोक्ताहरूको रोजाइ प्रो र प्रो म्याक्स मोडेलतिर सर्दै गएको बताइएको छ । यसबाहेक हालसम्म एआई फिचरले आईफोन खरिद गर्ने निर्णयलाई अर्थपूर्ण रूपमा प्रभावित गरिसकेका छैनन् ।
गत हप्ता जापानको मिजुहो सेक्युरिटीजले यस वर्ष आईफोन एयरको उत्पादन एप्पलले १० लाख युनिटले घटाउने बताएको थियो । यसैबिच एप्पलले आईफोन १७ मोडेलहरूको उत्पादन २० लाख एकाइले बढाउने योजना बनाएको छ । एक छुट्टै रिपोर्टमा सामसङले पनि आफ्नो आईफोन एयरको प्रतिस्पर्धी ग्यालेक्सी एस२५ एजको उत्तराधिकारी (successor) को योजना कम विक्रीकै कारण रद्द गरेको दाबी गरिएको छ ।
प्रयोगकर्ताहरूले आईफोन एयरमा एउटै मात्र स्पिकर रहेको, एक मात्र क्यामेरा तथा पातलोपनका कारण ब्याट्री लाइफ अत्यन्तै कमजोर रहेको जस्ता विषयहरूमा असन्तुष्टि जनाएका छन् ।
प्रो सिरिजमा भएको SD X80 मोडेमको तुलनामा यसमा निम्नस्तरको C1X 5G मोडेम छ । समात्नको लागि धेरै पातलो भए पनि यसको वाईफाई ७ मा समस्या रहेको र यसले ६ गिगाहर्जमा ३२० मेगाहर्ज च्यानल वाइड ह्यान्डल गर्न सक्दैन ।
प्रो मोडेलहरूमा उपलब्ध हुने एमएमवेभ पनि यसमा छैन । यसमा यूएसबी-सी मार्फत एक्सटर्नल मनिटर वा टिभीमा डिस्प्ले आउटपुट गर्ने सुविधा छैन ।
सन् २०२५ को प्रिमियम डिभाइस भए पनि यसको यूएसबी स्पिड यूएसबी २.० मात्र छ । एक प्रयोगकर्ताले यसको मुख्य समस्या मूल्य भएको बताएका छन्, जुन प्रो मोडेलको मूल्यसँग धेरै नजिक छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ६, २०८२ १४:१४
