जेन-जी आन्दोलनमा सहभागी कलाकारको चरित्र हत्याप्रति चलचित्र प्रतिष्ठानको आपत्ति, कारबाहीको माग
कात्तिक ९, २०८२ ११:३२
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले ‘जेन-जी’ आन्दोलनमा सहभागी कलाकारमाथि नियोजित रूपमा चरित्र हत्या भइरहेको भन्दै गम्भीर आपत्ति जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले सामाजिक सञ्जाल र केही राजनीतिक मञ्चबाट भइरहेको यस्तो कार्य तत्काल रोक्न र दोषीलाई कारबाही गर्न माग गरेको हो ।
प्रतिष्ठानले सामाजिक सञ्जालमा कलाकारलाई सामाजिक बहिष्कारको धम्की दिने, झुटा आरोप लगाउने र अभद्र भाषा प्रयोग गरी बदनाम गर्ने कार्य लोकतान्त्रिक मूल्य र सांस्कृतिक स्वतन्त्रतामाथिको प्रहार भएको ठहर गरेको छ । सामाजिक रूपान्तरणका आन्दोलनमा कलाकारको ऐतिहासिक भूमिका रहेको स्मरण गराउँदै प्रतिष्ठानले सामाजिक सरोकारका विषयमा बोल्नुलाई ‘सचेत नागरिकको दायित्व’ भनेको छ ।
“सामाजिक सरोकारका विषयमा बोल्नु अपराध होइन, सचेत नागरिकताको दायित्व हो,” विज्ञप्तिमा उल्लेख छ, “कलाकारहरू राष्ट्रको संवेदना र सामूहिक स्वर हुन् ।”
प्रदर्शनका क्रममा भएको क्षतिको छानबिन गर्न आयोग गठन भइसकेको अवस्थामा प्रतिवेदन नआउँदै कलाकारलाई दोषारोपण गर्नु कानुनी प्रक्रियाको अपमान भएको प्रतिष्ठानको ठहर छ । “न्यायिक निष्कर्ष नआई कुनै व्यक्तिलाई अपराधी ठहर्याउनु लोकतान्त्रिक न्यायसंस्कारको गम्भीर उल्लङ्घन हो,” विज्ञप्तिमा भनिएको छ ।
प्रतिष्ठानले कलाकारमाथिको प्रहार तत्काल बन्द गर्न र साइबर कानुनको प्रभावकारी कार्यान्वयनमार्फत यस्ता दुष्प्रचार रोक्न सरोकारवाला निकायसँग माग पनि गरेको छ । साथै उसले सम्पूर्ण चलचित्र सम्बद्ध सङ्घसंस्थालाई पेसागत ऐक्यबद्धता जनाउन र कानुनी उपचार खोज्न आह्वान गरेको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ ११:३६
