close

साओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन १५ टी प्रोमा एन्ड्रोइड २० सम्मको अपडेट दिने

टेकपाना टेकपाना

कात्तिक ९, २०८२ १२:१४

साओमीले आफ्नो फ्ल्यागशिप स्मार्टफोन १५ टी प्रोमा एन्ड्रोइड २० सम्मको अपडेट दिने

काठमाडौँ । चिनियाँ कम्पनी साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन साओमी १५ टी प्रो मार्फत एक महत्त्वपूर्ण कदम चालेको छ । कम्पनीले प्रतिस्पर्धीभन्दा कम मूल्यमा उपलब्ध आफ्नो यो नयाँ स्मार्टफोनमा एन्ड्रोइड २० सम्मको अपडेट दिने भएको हो ।

यसबाट साओमीले दीर्घकालीन सफ्टवेयर सपोर्टको परिभाषा बदल्ने प्रयास गरिरहेको देखिन्छ । नेपाली बजारमा समेत उपलब्ध यो उपकरणले सेप्टेम्बर २०३१ सम्म सिस्टम (प्रणाली) र सेक्युरिटी (सुरक्षा) अपडेटहरू प्राप्त गर्नेछ । यो कूल सात वर्षको सपोर्ट हो, जुन धेरैजसो एन्ड्रोइड फोनहरूले कल्पना मात्र गर्न सक्छन् ।

सात वर्षको सपोर्ट किन छ महत्वपूर्ण ?

अधिकांश फ्ल्यागशिप एन्ड्रोइड उपकरणहरूले तीन वा धेरैमा चार प्रमुख अपडेटहरू मात्र प्राप्त गर्छन् । साओमीले प्रदान गरेको यो सात वर्षको विस्तारित सपोर्टका कारण प्रयोगकर्ताको फोन करिब एक दशकसम्म अद्यावधिक, सुरक्षित र फास्ट बनिरहन सक्छ ।

यस कदमलाई अन्य ब्रान्डहरूसँग तुलना गर्दा यो एक चलाखीपूर्ण रणनीति मानिएको छ । यो केही हदसम्म एप्पलको आईओएस रणनीति जस्तै छ । तर यसलाई हाई-इन्ड एन्ड्रोइड फोनमा लागु गरिएको छ ।

फोनको लामो आयु र रिसेल भ्यालु (resale value) महत्वपूर्ण हुने युरोपेली र अन्य बजारहरूका लागि यो सुविधा वास्तवमै विक्रीको महत्त्वपूर्ण आधार बन्न सक्छ ।

यद्यपि स्ट्यान्डर्ड साओमी १५ टी मोडेलले भने एन्ड्रोइड १९ सम्म मात्र अपडेट प्राप्त गर्नेछ । सेक्युरिटी अपडेटहरू भने दुवै मोडेलहरूले सेप्टेम्बर २०३१ सम्मै पाइरहनेछन् ।

दुवै १५ टी मोडेलहरू साओमीको इकोसिस्टम सफ्टवेयर हाइपरओएस २.२ (HyperOS 2.2) मा चल्छन् । यसका लागि हाइपरओएस ३ (HyperOS 3) चाँडै आउँदैछ । जसले सुधारिएको ब्याट्री क्षमता, तीव्र मल्टिटास्किङ, र स्मार्ट एआई सुविधाहरू प्रदान गर्ने वाचा गरेको छ । यसको अर्थ फोन धेरै वर्षपछि पनि रेस्पोन्सिभ महसुस हुन सक्छ ।

सात वर्षसम्म सुरक्षित, तीव्र र सुविधायुक्त रहिरहने फोनहरूले मानिसहरूको फोन अपग्रेड गर्ने सोचमा परिवर्तन ल्याउन सक्छन् । जो प्रयोगकर्ताले 'फ्युचर-प्रुफ' (future-proof) डिभाइस खरिद गर्न खोजिरहेका हुन्छन् ।

विस्तारित सपोर्टको कारणले विद्युतीय फोहोर (electronic waste) कम गर्न मद्दत पुग्छ र उपकरणको जीवनकाल लम्ब्याउँछ । यसबाहेक बारम्बार नयाँ डिभाइस खरिद गर्न नपर्दा यो प्रयोगकर्ताको पर्स र पृथ्वी दुवैको लागि राम्रो हुन्छ । साओमीको यो कदमले १५ टी प्रो लाई दीर्घकालीन विश्वसनीयताको वाचा पुरा गर्ने एक प्रिमियम फोनको रूपमा स्थापित गरेको छ ।

 

पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १२:१४