प्रधानमन्त्री कार्कीबारे भ्रम फैलाएको आरोप लागेका अधिवक्ता नेपाल साइबर ब्युरोमा उपस्थित हुँदै
कात्तिक ९, २०८२ १४:३०
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबारे भ्रम फैलाएको आरोप लागेका अधिवक्ता स्वागत नेपाल साइबर ब्युरोमा उपस्थित हुने भएका छन् । आइतबार दिउसो एक पोस्ट राख्दै उनले आफू साइबर ब्युरो जान लागेको जानकारी दिएका हुन् ।
“साइबर ब्युरोबाट फेरि उपस्थित हुन फोन आएको छ,” नेपालले फेसबुकमा लेखेका छन्, “म सर्वोच्च अदालतबाट सिधै २ बजे उपस्थित हुन्छु भनेको छु ।”
कानुनी उपचारका लागि आफूसँगै वरिष्ठ अधिवक्ता, अधिवक्ता र मानव अधिकारकर्मी प्रतिरक्षाका लागि उपस्थित हुन लागेको नेपालले फेसबुकमा उल्लेख गरेका छन् ।
नेपालले केही समयअघि सामाजिक सञ्जाल लगायतमा प्रधान न्यायाधीश समेत भइसकेकी कार्कीको आलोचना गरेका थिए ।
उनको अभिव्यक्तिलाई लिएर उजुरी परेपछि ब्युरोले अनुसन्धान अघि बढाएको हो । यसअघि ब्युरोले नेपाललाई तिहारपछि उपस्थित हुन आग्रह गरेको थियो ।
पछिल्लो अध्यावधिक: कात्तिक ९, २०८२ १४:३०
