केवाईसीको नक्कली भर्सन ‘नियोसिया’ इलेक्ट्रिक भ्यान बिक्री रोक्न अदालतको आदेश
कात्तिक ११, २०८२ २०:५५
काठमाडौँ । उच्च अदालत पाटनले ‘नियोसिया’ ब्रान्डका विद्युतीय प्यासेन्जर भ्यान आयात र बिक्री नगर्न आदेश दिएको छ । “नियोसिया ब्रान्डका सवारी साधन आयात नगर्नू र यदि पहिले नै आयात भइसकेका छन् भने बिक्री वितरण समेत नगर्नू,” अदालतले मंगलबार दिएको आदेशमा भनिएको छ ।
यसअघि गएको १५ साउनमा पाटन उच्च अदालतले सीजी मोटर्स बाहेक अन्य कुनै पनि कम्पनीलाई केवाईसी गाडी आयात नगर्न आदेश दिएको थियो । तर, उक्त आदेशलाई बेवास्ता गर्दै केवाईसी गाडीको नाम फेरेर ‘नियोसिया/स्टार भी ईभी’ ब्रान्डमा सोही गाडी पुनः आयात गरिएको थियो ।
यसअन्तर्गत ‘इलेक्ट्रिक ड्रिम्स मोबिलिटी प्रालि’ नामक कम्पनी र त्यसकै सञ्चालकहरूले नयाँ कम्पनी ‘एम्बर मोटर्स प्रालि’ खडा गरी गाडी आयात गरिरहेको तथ्य बाहिरिएको थियो ।
केवाईसी ब्रान्डका गाडी नेपालमा सीजी मोटर्सले आधिकारिक रूपमा आयात गर्दै आएको छ भने देशभर बिक्री, सेवा र चार्जिङ नेटवर्क विस्तार गरिरहेको छ ।
केवाईसीको उत्पादक कम्पनी चोंगकुइंग चाइनाले पनि सोही गाडीको नाम ‘नियोसिया’ राखेको पुष्टि भएको छ । मोडेल, बनावट र फिचरहरू उही भए पनि नाम परिवर्तनले बौद्धिक सम्पत्ति अधिकार र अन्तरदेशीय व्यापार नियमनबारे नयाँ कानुनी प्रश्न उठाएको छ ।
नेपाल उद्योग परिसंघका एक पदाधिकारीले भने, “अदालतको आदेशपछि उही व्यवसाय नयाँ नाममा दोहोर्याउने कार्य कानुनी शासनका लागि खतरनाक उदाहरण हो । यस्ता घटना दोहोरिए विदेशी लगानीकर्ता र स्थानीय उद्यमी दुवैको विश्वासमा नकारात्मक असर पार्छ ।”
अदालतको आदेशसँगै नियोसिया ब्रान्डका गाडी नेपालमा आयात वा बिक्री गर्ने प्रयास रोकिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक ११, २०८२ २०:५५
