close

डिजिटल वालेट ‘खल्ती’को नाम दुरुपयोग गरी बेटिङ साइट सञ्चालन, युट्युबर/टिकटकरले गरे प्रचार

टेकपाना टेकपाना

कात्तिक १२, २०८२ १६:१६

डिजिटल वालेट ‘खल्ती’को नाम दुरुपयोग गरी बेटिङ साइट सञ्चालन, युट्युबर/टिकटकरले गरे प्रचार

काठमाडौँ । डिजिटल वालेट खल्तीको नाम दुरुपयोग गरी नेपालमा अवैध रूपमा बेटिङ साइट सञ्चालनमा आएको पाइएको छ । घरमै बसी लाखौं कमाउने प्रलोभन देखाएर प्रतिबन्धित सट्टेबाजी (बेटिङ) धन्दा मौलाएको हो ।

यस विषयमा टेकपानासँग कुरा गर्दै खल्तीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्काले कम्पनीको नामको दुरुपयोग भएको पुष्टि गरे । खड्काले भने, “यो सरासर हाम्रो नाम प्रयोग गरेर चलाइएको ठगी धन्दा हो । हामी यसबारे विस्तृतमा बुझेर कानुनी प्रक्रिया अगाडि बढाउँछौं ।”

यो प्लेटफर्मलाई एमआरबी भ्लग (MRB Vlog) नामले परिचित युट्युबर विविधजङ्ग थापा लगायतले प्रचार गरेका छन् । उनले आफ्नो सामग्रीमार्फत यसको प्रचार गरेपछि ती क्लिपहरूलाई सम्बन्धित प्लेटफर्मले सामाजिक सञ्जालमा बुस्ट गरेर नेपाली प्रयोगकर्तालाई लक्षित गरी बेटिङ फैलाएको देखिन्छ । 

उनले भिडिओमा घरमै बसेर लाइभ गेम खेल्न सकिने, जति पनि रकम निकाल्न सकिने र ग्राहक प्रतिनिधि समेत भएकाले विश्वास गर्न सकिने भन्दै प्रयोगकर्तालाई आकर्षित गरेका छन् । उनले आफ्नै फोनमा उक्त प्लेटफर्मको प्रयोग गरी डेमो समेत देखाएका थिए । यद्यपि थापाका हालैका भिडिओमा यो विज्ञापन नदेखिए पनि केही समयअघिका भिडिओमा भने उनले खुलेर प्रचार गरेका थिए । अहिले उनकै ती क्लिपलाई प्लेटफर्मले व्यापक रूपमा बुस्ट गरिरहेका छन्, जसमा लाखाैँ भ्युज आइसकेका छन् ।

एमआरबी भ्लग मात्र नभई अन्य टिकटक प्रयोगकर्ता (टिकटकर) ले पनि यसको प्रचार गरेको देखिन्छ । टिकटक मोडल तथा मोडेल अनु परियार पनि यही प्लेटफर्मको प्रचारमा खुलेर लागेको पाइएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेका भिडिओमा उनले ‘Khalti88’ को लोगो अङ्कित टी-सर्ट लगाएकी छिन् । एक भिडिओमा उनले यसलाई नेपालको नम्बर १ प्लेटफर्म दाबी गर्दै आफ्ना समर्थकलाई सहभागी हुन आह्वान गरेकी छिन् ।

हिन्दी भाषामा कन्टेन्ट बनाउने नेपाली युट्युबर सिजल तामाङ ऊर्ज जेरोएक्स एफएफ (Zerox FF) ले पनि खल्ती ८८ को व्यापक प्रचार गरेका छन् । उनले पनि अन्य युट्युबर तथा टिकटकर जस्तै घरमै बसेर लाखौं रकम कमाउन सकिने आश्वासन दिएका छन् । 

प्लेटफर्मको फुटरमा यो नेपाली गेमिङ समुदायकै लागि निर्माण गरिएको क्यासिनो प्लेटफर्मका रूपमा चर्चा गरिएको छ । उनीहरूले नेपालमा कम्पनीले इजाजतपत्र पाएको समेत दाबी गरेका छन् । जबकि अनलाइन क्यासिनो वा बेटिङ प्लेटफर्म नेपालमा गैरकानुनी हुन् र यस्ता प्लेटफर्मलाई इजाजतपत्र दिने व्यवस्था नै छैन ।

त्यस्तै यसमा खल्ती, इसेवा र बैंक ट्रान्सफर मार्फत रकम पठाउन सकिने उल्लेख छ । रकम पठाउने क्रममा विभिन्न नेपाली व्यक्तिका बैंक खाता देखा पर्ने गरेका छन् । यो समूहले आईएमई ८८ (IME88) नामको अर्को बेटिङ प्लेटफर्म पनि सञ्चालन गरेको देखिन्छ, जसमा आईएमई समूहकै नाम जोडिएको छ । त्यसबाहेक यो प्लेटफर्म जय बाजी जस्तो अर्को जुवाको प्लेटफर्मसँग पनि लिङ्क भएको देखिन्छ । यी र यस्ता प्लेटफर्मलाई अन्य युट्युबरले प्रचार गरेको देखिन्छ ।

यसअघि टेकपानाले ‘नेपालमा प्रतिबन्धित जुवा र सट्टेबाजीको खुला प्रचारमा युट्युबर र भ्लगरहरू फेरि सक्रिय’ शीर्षकको समाचार प्रकाशन गरेको थियो । उक्त सामग्रीमा अवैध सट्टेबाजी प्लेटफर्ममा भ्लगर र युट्युबर राजकुमार थापा, सन्देश तामाङ (टुबी गेमर) ले प्रचार गरेका छन् भन्ने खुलासा गरेको थियो ।

नेपालको कानुनले जुवा तथा सट्टेबाजीलाई पूर्णतः बन्देज लगाएको छ । मुलुकी अपराध संहिता, २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने स्पष्ट व्यवस्था छ ।

सोही धाराको उपदफा २ (क) अनुसार पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । उपदफा (२) ख का अनुसार दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना तथा त्यसपछिका कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने कानुनी प्रावधान रहेको छ ।

यस विषयमा टेकपानासँग कुरा गर्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख एआईजी डा. मनोज केसीले आवश्यक अनुसन्धान भइरहेको बताए । एआईजी केसीले भने, “हामीले सूचना सङ्कलन गरेर लिङ्केज गरिरहेका छौं । यो व्यापक रूपमै मौलाएको देखिएको छ । त्यसलाई नियन्त्रण गर्न आन्तरिक अनुसन्धानको काम भइरहेको छ ।”

पछिल्लो अध्यावधिक: कात्तिक १२, २०८२ १६:१६