जिल्ला अदालतको नक्कली पेज बनाएर ठगी गर्ने आमा-छोरी पक्राउ, पीडितलाई सम्पर्कमा आउन अपिल
कात्तिक १७, २०८२ १७:१६
सांकेतिक तस्बिर
काठमाडौँ । जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर विभिन्न पदमा भर्ना खुल्यो भन्दै दर्ता शुल्क उठाई ठगी गर्ने आमा-छोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङकी पुनम देवी साह र उनकी छोरी कोमल कुमारी साह रहेका छन् ।
उनीहरूले जिल्ला अदालत मोरङको नाममा नक्कली पेज बनाई विभिन्न पदका लागि आवेदन खुल्यो भन्दै इसेवा मार्फत रकम संकलन गरी ठगी गरेको पाइएको मोरङ प्रहरीले जनाएको छ ।
ती आमा छोरीले किनमेल गर्ने बहानामा पनि ठगी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । किनमेल गरेपछि आधा रकम मात्रै दिने र बाँकी पुनम देवी साहको नामको सटही नहुने चेक दिएर ठगी गर्ने गरेको प्रहरीको भनाइ छ ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबिच पुनम देवी साहको ९८२३८९८२९३ नम्बरको इसेवामार्फत रकम बुझाई ठगीमा परेका अन्य पीडितहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा निवेदनसहित सम्पर्क गर्न आग्रह गरिएको छ ।
पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ १७:१८
