close

मैले राजीनामा दिन लागेको हल्ला गलत हो, जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छु: कुलमान

टेकपाना टेकपाना

कात्तिक १७, २०८२ १७:५१

मैले राजीनामा दिन लागेको हल्ला गलत हो, जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छु: कुलमान

काठमाडौँ । अन्तरिम मन्त्रिपरिषद्‌मा सहरी विकास, ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफूले राजीनामा दिन लागेको भन्ने हल्ला गलत भएको स्पष्ट पारेका छन् ।

सोमबार एक वक्तव्य जारी गर्दै मन्त्री घिसिङले विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आफूले राजीनामा दिएको भन्दै प्रसारित भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । 

उनले भनेका छन्, “पदबाट राजीनामा दिनका लागेको भन्ने समाचारमा सत्यता नरहेको प्रष्ट पार्न चाहन्छु ।”

उनले जेनेजी पुस्ताको ऐतिहासिक आन्दोलनपछि बनेको विशेष परिस्थितिमा सरकारप्रति जनताको आशा र विश्वास पूरा गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गरेका छन् । “तीन ओटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै, म निरन्तर रूपमा आन्दोलनले दिएको जनादेश र विश्वास पूरा गर्न क्रियाशील छु,” उनले भने ।

मन्त्री पदबाट राजीनामा दिएर घिसिङले बालेन शाह, जेनजी समूह लगायतको साथमा नयाँ राजनीतिक दल दर्ता गर्ने तयारी गरिरहेको भन्दै सामाजिक सञ्जाल र केही अनलाइन मिडियामा सामग्री प्रसारित भएको थियो ।

पछिल्लो अध्यावधिक: कात्तिक १७, २०८२ १७:५१