नेपाल लिपि नचिनेर बङ्गाली भाषामा लेखेको भन्दै उल्टै प्रधानमन्त्री सुशीला कार्कीमाथि नै ट्रोल
कात्तिक २५, २०८२ १६:३
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले सामाजिक सञ्जालमा गरेको एक पोस्टमा प्रयोग भएको लिपिलाई लिएर ट्रोल भइरहेको छ । १६ देखि २१ कात्तिकसम्म सरकारले गरेका कार्य प्रगति विवरण सार्वजनिक गर्ने क्रममा प्रयोग गरिएको नेपाल भाषाको मौलिक लिपि (नेपाल लिपि) लाई केही सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘बङ्गाली भाषा’ भन्दै खिल्ली उडाएका हुन् ।
प्रधानमन्त्रीको आधिकारिक फेसबुक पेजमा शनिबारदेखि सप्ताहव्यापी कार्य प्रगति विवरण क्रमशः अङ्ग्रेजी, नेपाली, मैथिली र नेपाल भाषामा पोस्ट गरिएको थियो । सचिवालयले नेपाल भाषाको पोस्ट दुई पटक राखेको थियो ।
एक पटक देवनागरी लिपि प्रयोग गरी नेपाल भाषामा र अर्को पटक ‘नेपाल लिपि’ (नेवा युनिकोड) मा रहेको थियो । यही मौलिक लिपिमा गरिएको पोस्टलाई आधार बनाएर सामाजिक सञ्जालमा गलत व्याख्या भएको हो ।
फन्ट डिजाइनर तथा नेवा भाषाका अध्येता आनन्द महर्जनले भाषाको ज्ञानको अभावले यो विवाद सिर्जना भएको बताए । टेकपानासँग कुराकानी गर्दै महर्जनले प्रधानमन्त्रीको फेसबुकमा प्रयोग भएको फन्ट नेपाल लिपिको युनिकोड भर्सन भएको पुष्टि गरे ।
महर्जनले भने, “यो लिपिको नाम नै नेपाल लिपि हो । जसरी हामी नेवारीलाई नेपाल भाषा भन्छौँ, त्यसरी नै यो लिपिलाई नेपाल लिपि भन्छौँ । यो हाम्रो नवौँ शताब्दीदेखिको लिपि हो ।”
उनका अनुसार प्रधानमन्त्रीको पोस्टमा प्रयोग भएको फन्ट गुगलको ‘नोटो सन्स नेवा’ (Noto Sans Newa) हो । जसलाई गुगलले सन् २०१८ मा उपलब्ध गराएको थियो । महर्जनले यो फन्ट निर्माण प्रक्रियामा आफ्नो पनि संलग्नता रहेको जानकारी दिए ।
धेरैले यस लिपिलाई सजिलै नचिनेका कारण भ्रम फैलिएको महर्जनको भनाइ छ । सामान्यतया गुगल ट्रान्सलेट जस्ता उपकरणले यो लिपिलाई डिटेक्ट वा ट्रान्सलेट गर्न नसक्ने भएकाले पनि प्रयोगकर्तामा अन्योल सिर्जना भएको हुन सक्ने उनले सुनाए । महर्जनले यसलाई ‘नेवा युनिकोड’ भनिएको र यो युनिकोडको नवौँ भर्सन सन् २०१६ मा स्वीकृत भएको जानकारी दिए ।
नेवा युनिकोडको प्रस्ताव सन् २०१२ मै पठाइएको थियो । सन् २०१८ मा गुगलले ‘नोटो सन्स नेवा’ फन्ट उपलब्ध गराएसँगै किम्यान र अन्य थर्ड पार्टी किबोर्डहरूमा पनि यो लिपि प्रयोग हुन थालेको हो । महर्जनले सन् २०१८ देखि नै मोबाइलमा नेपाल लिपिमै च्याट गर्ने गरिएको र गुगलको एन्ड्रोइड ‘पाई’ भर्सनदेखि यो इनपुट मोबाइलमा सुरु भएको बताए ।
यद्यपि समुदायमा प्रयोग भइरहे पनि प्रधानमन्त्रीको स्तरबाट नेपाल लिपि नै प्रयोग गरी कार्य प्रगति विवरण सार्वजनिक गर्नुलाई ऐतिहासिक कदमका रूपमा लिइएको छ । महर्जन भन्छन्, “नेपाल भाषाको लिपि नै राखेर प्रधानमन्त्रीले कार्य प्रगति विवरण पोस्ट गरेको यो पहिलो पटक हो । उहाँले भाषा र लिपि दुवैलाई महत्त्वपूर्ण स्थान दिनुभएको छ ।” यहाँ क्लिक गरेर उक्त भाषालाई देवनागरीमा परिणत गर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ १६:१३
