close

महँगा फोनले बजार लिँदा ३३ करोडले घट्यो लाभा र बेन्को भित्र्याउने अम्बे मोबाइलको व्यापार

टेकपाना टेकपाना

कात्तिक २५, २०८२ २०:२९

महँगा फोनले बजार लिँदा ३३ करोडले घट्यो लाभा र बेन्को भित्र्याउने अम्बे मोबाइलको व्यापार

काठमाडौँ । पर्याप्त मात्रामा स्मार्टफोन आपूर्ति नहुँदा र फिचरफोन सेग्मेन्टको बिक्री घट्दा अम्बे मोबाइल्सको व्यापार २७ प्रतिशतले घटेको छ । लाभा ब्रान्डको मोबाइल फोनको आधिकारिक वितरक अम्बे मोबाइल्सले बेन्को ब्रान्डको फोन पनि बिक्री गर्दै आएको छ । यो व्यापारिक घराना अम्बे समूहअन्तर्गतको कम्पनी हो । 

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार सन् २०२४/२५ मा कम्पनीले ८६ करोड ४० लाख रुपैयाँको कारोबार (अपरिष्कृत) गरेको छ । अघिल्लो वर्ष २०२३/२४ मा अम्बे मोबाइल्सले एक अर्ब १९ करोड रुपैयाँको व्यापार गरेको थियो । यो ३२ करोड ६० लाख रुपैयाँको  गिरावट हो । 

कारोबार घट्नुमा बेन्कोको स्मार्टफोनको आपूर्ति सीमित भएको उल्लेख गरिएको छ । जसका कारण कम्पनीको स्मार्टफोन सेग्मेन्टको बिक्री ५१ प्रतिशत खुम्चिएको रेटिङ विवरणमा भनिएको छ । आयमा ६१ प्रतिशत योगदान पुर्‍याएको फिचरफोन सेग्मेन्टको बिक्री पनि ६ प्रतिशतले घटेको छ । 

प्रतिस्पर्धी स्मार्टफोन बजारले कम्पनीमाथि चुनौती थपिएको विश्लेषण गरिएको छ । ठुला स्मार्टफोन ब्रान्डहरूले १० हजार रुपैयाँभन्दा माथिका मिड र हाई-प्राइस सेग्मेन्टलाई लक्षित गर्दै बजारमा प्रतिस्पर्धा गरिरहेको अवस्थामा आठ हजार हाराहारी पर्ने फोन र फिचर फोन बिक्रीमा पनि विभिन्न ब्रान्डबिच प्रतिस्पर्धा भइरहेको रेटिङ विवरणमा उल्लेख छ । 

उपभोक्ताहरू हाई-इन्ड स्मार्टफोन तर्फ शिफ्ट भएकाले कम्पनीमाथि चुनौती थपिन थालेको हो । नेपालमा प्रति ह्यान्डसेट औसत आयात मूल्य सन् २०१८/१९ मा साढे चार हजार रुपैयाँ रहेकामा सन् २०२४/२५ मा १६ हजार दुई सय रुपैयाँ पुगिसकेको रेटिङ विवरणमा उल्लेख छ । यसले पनि नेपालमा महँगो फोन बोक्ने ट्रेन्ड बढ्दै गएको देखाउँछ । 

 

पछिल्लो अध्यावधिक: कात्तिक २५, २०८२ २०:३१