काठमाडौँ । देशको समग्र क्रिकेट विकास गर्न पर्याप्त बजेट नभएकाले स्रोत जोहो गर्न नेपाल क्रिकेट सङ्घ (क्यान)ले युट्युबमा सित्तैमा नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजन प्रसारण नगरेको प्रष्ट पारेको छ ।
सञ्चारकर्मीसँग कुरा गर्दै क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको जग बसाउन पर्याप्त आम्दानी आवश्यक पर्ने भएकाले केही शुल्क लिएरै सब्स्क्रिप्सन मोडलमार्फत एनपीएल ओटीटीबाट भारतबाहेक विश्वभर प्रसारण गर्न खोजिएको बताएका हुन् ।
"पर्याप्त रेभिन्यू विना जिल्ला र प्रदेश क्रिकेटलाई बलियो बनाउन सक्दैनौँ । नेपाल सरकारले दिने रकम, ओडीआई राष्ट्र भएकाले आउने रकम एकदमै कम छ । त्यसैबाट राष्ट्रिय टिमको तयारीदेखि अनेकौं व्यवस्थापन गर्न नपुग्ने भएकाले सब्स्क्रिप्सन मोडल प्रयोग गरेर आम्दानीको स्रोत सृजना गर्न खोजेका हौँ," खड्काले भने ।
नेपाली टेलिभिजनमा अतिरिक्त शुल्क बिना नै हेर्न सकिन्छ । ओटीटीबाट भने डिसहोम गो एपमार्फत भारतबाहेक संसारभर एनपीएलको प्रत्यक्ष प्रसारण हेर्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: कात्तिक २८, २०८२ १७:४२
