काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजनमा प्रत्यक्ष बेटिङ ब्रान्डका विज्ञापन नहुने, तर सरोगेट विज्ञापन भने देखिने संकेत दिएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा सरोगेट विज्ञापनसम्बन्धी स्पष्ट कानुनी परिभाषा र नियमन प्रणालीको अभावका कारण यस्तो अवस्था आएको बताए ।
विगतका प्रतियोगिताहरूमा ‘वन एक्स ब्याट’, ‘डाफा न्युज’, ‘उल्फ७७७’ जस्ता सरोगेट ब्रान्डका कारण क्यानको आलोचना हुँदै आएको छ । यसै सन्दर्भमा एनपीएलमा विज्ञापनको विषयलाई लिएर उठेको चासोमाथि जवाफ दिँदै सचिव खड्काले भने, “जति पनि ब्रान्ड प्रयोग भएका छन्, ती बेटिङ ब्रान्ड होइनन्, सरोगेट हुन् । क्यानले अहिले मात्र होइन, विगत ८-१० वर्षदेखि नै अन्तर्राष्ट्रिय खेलमा समेत बेटिङलाई प्रवर्द्धन गरेको छैन ।”
उनले नेपालमा ‘सरोगेसी’ को वास्तविक परिभाषा, यससम्बन्धी नियम र अनुगमन गर्ने प्रणालीको अभाव रहेको समस्या औँल्याए । “सरोगेसीको एक्ज्याक्ट डेफिनिसन आइसकेको छैन, यसको नियम के हो र अनुगमन गर्ने प्रणाली के हो भन्ने स्पष्ट छैन,” खड्काले भने, “त्यसैले अहिले प्रयोग भइरहेका ब्रान्डहरू बेटिङ ब्रान्ड होइनन् ।”
खड्काले मैदानभित्र हुने सबै गतिविधिमा क्यानले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नियम र भ्रष्टाचारविरोधी एकाइ (एन्टी करप्सन युनिट) को निर्देशिका पूर्ण रूपमा पालना गरिरहेकोमा जोड दिए । उनले भने, “हामीले ग्राउन्ड बाहिरको गतिविधि नियन्त्रण गर्न सक्दैनौँ, तर ग्राउन्डभित्रको गतिविधिमा हामी आईसीसीको नियम अनुसार नै अगाडि बढिरहेका छौँ ।” यसका लागि आईसीसीका प्रतिनिधि र नेपाल प्रहरीलगायतका निकायसँग निरन्तर समन्वय भइरहेको पनि उनले जानकारी दिए ।
पछिल्लो अध्यावधिक: कात्तिक ३०, २०८२ १३:१२
