आजदेखि एनपीएल: १० बजेदेखि खुल्दैछ टिकट काउन्टर, टीयूका विद्यार्थीले आईडी कार्ड देखाउनुपर्ने
मंसिर १, २०८२ ९:९
काठमाडौँ । आजदेखि सुरु हुने दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को बक्स अफिस (टिकट काउन्टर) बिहान १० बजेदेखि खुल्ने भएको छ । मोबाइल वालेट खल्तीबाट पहिलो दिनको खेलको टिकट काटेकाहरूले बक्स अफिसमा क्यूआरसहितको उक्त टिकट देखाएर भौतिक टिकट लिएपछि मात्रै मैदान प्रवेश गर्न पाउनेछन् ।
त्यसैका लागि खल्तीले बिहान १० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बक्स अफिस खोल्न लागेको हो ।
त्यसैगरी नेपाल क्रिकेट सङ्घ (क्यान) ले त्रिभुवन विश्वविद्यालयका विद्यार्थीका लागि टिकट मूल्यमा ५० प्रतिशत छुट दिएको छ । त्यसका लागि विद्यार्थीहरूले मैदान परिसरमा रहेको खल्तीको बक्स अफिसमा आफ्नो योग्य विद्यार्थी परिचयपत्र अनिवार्य देखाउनुपर्नेछ ।
खल्तीका अनुसार उक्त टिकट सीमित सङ्ख्यामा रहेकाले पहिला आएर टिकट काट्ने विद्यार्थीलाई (First-Come, First Served basis) प्राथमिकता दिएर टिकट बिक्री गरिनेछ ।
आज दिउँसो ४ बजेदेखि एनपीएलको उद्घाटन खेल साविक बिजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाजबिच हुँदैछ । उक्त खेलको सबै टिकट यसअघि नै सोल्ड-आउट भइसकेको छ ।
क्यानले टिकट भएकाहरूलाई मात्रै मैदानमा आएर खेल हेर्न अनुरोध गर्दै टिकट नभएकाहरूले घरमै बसेर टेलिभिजन (स्टार स्पोर्ट्स वा कान्तिपुर म्याक्स एचडी) वा ओटीटी प्लेटफर्म डिसहोम गो एपमार्फत हेर्न अनुरोध गरेको छ ।
पछिल्लो अध्यावधिक: मंसिर १, २०८२ १०:२०
