एसोसियट क्रिकेट नै बेटिङका सरोगेट विज्ञापनले धानेको छ, स्पष्ट कानुन नभई हटाउनौँ: अध्यक्ष चन्द
मंसिर ४, २०८२ १२:२१
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले कानुनले वर्जित गरेको अवैध बेटिङको विज्ञापन हटाउन नसकिने बताएका छन् । हाम्रो खेलकुदसँगको भिडिओ कुराकानीमा उनले सरोगेट ब्रान्डलाई प्रयोग नगर्ने स्पष्ट मान्यता दिने कानुनी व्यवस्था नरहेको भन्दै त्यस किसिमका विज्ञापनलाई निरन्तरता दिने स्पष्ट पारेका हुन् ।
सरोगेट ब्रान्ड प्रयोग गर्न नपाउने स्पष्ट कानुनी व्यवस्था भएमा मात्र सरोगेट ब्रान्डको प्रयोगमा रोक लगाइने उनले बताए । एसोसियट क्रिकेट सरोगेट ब्रान्डको प्रचारले नै धानेको भन्दै कानुनी व्यवस्था भएमा मात्र प्रचारबाट हटाइने उनको भनाई छ ।
चन्दले भने, “कि त नेपालको कानुनमा नै व्यवस्था गरेर सरोगेट ब्रान्डलाई पूर्ण रूपमा प्रतिबन्ध गर्नु पर्यो । त्यो पनि गरेको अवस्था छैन । जब सरकारले कानुन ल्याएर यो झिक भन्छ, त्यो बेला झिक्छौँ । कानुनको बर्खिलाप जाने अधिकार क्रिकेट सङ्घलाई छैन ।”
सो विषय विज्ञापन बोर्ड सहित सम्बन्धित कार्यालयले समेत बुझ्न आवश्यक रहेको जिकीर उनले गरे । कानुनमा सरोगेट ब्रान्डको प्रचार नगर्ने हो भने किन नगर्ने भन्ने बारे पनि स्पष्ट जानकारी उल्लेख गर्नुपर्ने उनको भनाइ छ ।
संसारभर ११० देशमा क्रिकेटले आधिकारिक मान्यता पाएको र ती मध्ये सबैजसो देशमा सरोगेट ब्रान्डको प्रचार भइरहेको दाबी उनले गरे । चन्दले भने, “बेटिङलाई स्वीकृति दिएको ठाउँमा बेटिङ ब्रान्ड नै प्रयोग भएको छ । नभएका देशमा सरोगेज ब्रान्डको प्रयोग भएको छ । नाम नै त जुधेको हो ।”
जारी नेपाल प्रिमियर लिगमा क्यानसहित फ्रेन्चाइज टिमहरूले सरोगेट ब्रान्डको नामबाट बेटिङको प्रचार गरिरहेका छन् । नेपालमा सट्टेबाजी तथा बेटिङ प्रतिबन्धित हुँदा सरोगेट ब्रान्डको स्वरूपमा ती अवैध गतिविधिको प्रचार भइरहेको हो ।
के हो सरोगेट विज्ञापन ?
सरोगेट विज्ञापन भनेको कुनै त्यस्तो सामानको विज्ञापन गर्नु हो, जसको सिधै प्रचार गर्न कानुनले रोक लगाएको हुन्छ (जस्तै: रक्सी, चुरोट, जुवा वा बेटिङ)।
यस्तोमा कम्पनीले चलाखीपूर्वक त्यही ब्रान्ड, नाम र लोगो प्रयोग गरेर अर्को कुनै सामान्य उत्पादन (जस्तै पानी, सोडा, म्युजिक सीडी वा कुनै कार्यक्रम) को विज्ञापन गर्छन् । जब तपाईंले त्यो ‘पानी’ वा ‘सोडा’को विज्ञापन देख्नुहुन्छ, तपाईंको दिमागमा वास्तवमा त्यही ब्रान्डको ‘रक्सी’ वा ‘चुरोट’को झल्को आउँछ । यसरी घुमाउरो तरिकाले कानुनी छिद्रको प्रयोग गर्दै प्रतिबन्धित वस्तुको प्रचार भइरहेको हुन्छ ।
यसअघि नेपालमा वनएक्स बेट नामक बेटिङ प्लेटफर्मले ‘वनएक्स ब्याट’, स्काई एक्सचेन्जले ‘स्काई न्युज’, दाफा बेटले ‘दाफा न्युज’ नामक प्लेटफर्म ल्याएर सञ्चालन गरेका थिए । क्रिकेटसम्बन्धी कुनै घरेलु वा अन्तर्राष्ट्रिय प्रतियोगिता हुँदा त्यस्ता प्लेटफर्म ठ्याक्कै आइपुग्छन् । अहिले मेलबेटले त्यही रणनीति अपनाएको छ । यस्तो किसिमको विज्ञापनलाई छद्म विज्ञापन पनि भन्न सकिन्छ ।
पछिल्लो अध्यावधिक: मंसिर ४, २०८२ १४:३४
